Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsविदेशमा अलपत्र नागरिकलाई सरकारकै खर्चमा उद्दार, कोरोनादेखि शिक्षक आन्दोलनसम्मका खबर

विदेशमा अलपत्र नागरिकलाई सरकारकै खर्चमा उद्दार, कोरोनादेखि शिक्षक आन्दोलनसम्मका खबर


काठमाडौं– सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारकै खर्चमा स्वदेश फर्काउने भएको छ । सरकारले नेपालमै उत्पादन गर्न सक्ने औषधि विदेशबाट खरिद गरिरहेको बेला नेपालमै उत्पादन गर्न सकिने औषधि विदेशबाट खरिद गर्न रोक लगाउन माग गरिएको छ । कोभिडकै निहुँमा तलब रोक्का मात्र होइन निजि विद्यालयहरूले कार्यरत तीन सय शिक्षकहरू बेरोजगार बनेका छन् । बिहिबार थप १ सय ६७ जना संक्रमितलगायत खबरहरुले आज प्राथमिकता पाएका छन् ।

विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा नेपाल ल्याइने
सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई सरकारकै खर्चमा स्वदेश फर्काउने भएको छ । कोभिड—१९ का कारण विदेशमा अलपत्र परेका नागरिकहरु अब सरकारी खर्चबाट स्वदेश फर्किन पाउने निर्णय विहिबार गरेको हो । अलपत्र नागरिकलाई फिर्ता ल्याउने बनेको कार्यविधि २०७७ पारित भएको छ । योसँगै सरकारी खर्चमा अलपत्र नागरिक फर्किन पाउने छन् । कोरोनाका कारण
अलपत्र नागरिकलाई वैदेशिक रोजगारी प्रवर्दधन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय भएको सरकारका प्रवक्ता डा. युवराज खतिडाले जानकारी दिए । उनका अनुसार अलपत्र परेकालाई ल्याउने कार्य आइतबारदेखि सुरु हुनेछ ।

नेपालमै उत्पादन गर्न सकिने औषधि विदेशबाट नल्याउन माग
सरकारले नेपालमै उत्पादन गर्न सक्ने औषधि विदेशबाट खरिद गरिरहेको बेला नेपालमै उत्पादन गर्न सकिने औषधि विदेशबाट खरिद गर्न रोक लगाउन माग गरिएको छ । नेपाल औषधि उत्पादन संघ आन्दोलनमै उत्रिएर सरकार समक्ष यस्तो माग राखेको हो । संघले नेपालमा उत्पादन हुने औषधिहरु विदेशबाट ल्याउन बन्द गर्न माग गर्दै निरन्तर आन्दोलन गर्ने जनाएको छ । असार २२ गते सेनिटाइजर दर्ताको म्याद तीन महिना थप्ने निर्णय गरेसँगै औषधि उत्पादक संघ आन्दोलनमा उत्रेको थियो । देशलाई अर्थतन्त्रमा आत्मनिर्भर बनाउने नीति लिएको सरकारले त्यसलाई कार्यान्वयनमा पनि लैजानुपर्ने संघका महासचिव विप्लव अधिकारीले बताए ।

तलब नदिए आत्मदाह गर्छौं–निजी विद्यालयका शिक्षक
सरकारले कोभिड–१९ संक्रमणका कारण देखाएर निजी विद्यालय संचालकहरूले त्यहाँ कार्यरत शिक्षकहरूको तलब विगत ६ महिनादेखि निकासा बन्द गरेपछि निजी विद्यालयका शिक्षक आन्दोलित बनेका छन् । कोभिडकै निहुँमा तलब रोक्का मात्र होइन निजि विद्यालयहरूले कार्यरत तीन सय शिक्षकहरू बेरोजगार बनेका छन् । आफूहरु बेराजगार बनेपनि बुधबार र बिहिबार उनीहरुले काठमाडौंको माएतीघरमा प्रदर्शन गरेका छन् । ती शिक्षकहरूलाई समेत विद्यालयबाट निस्कासन गरेका छन् । निजी विद्यालय संचालकहरूले अब पनि तलब निकासा नदिए शिक्षा मन्त्रालय परिसरमै गएर आत्मदाह गर्ने चेतावनी संस्थागत विद्यालयका पिडित शिक्षकहरूले दिएका छन् ।

थप १ सय ६७ जना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९८१ जनामा पिसीआर परीक्षणमा १६७ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे बिहीबारको नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ३४४ जना पुगेको छ । आज काठमाडौंका १ जनामा संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार बिहीबार देशभर २३ हजार ५०० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ६ हजार ५६ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज २१३ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ जना पुगेको छ । नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आजसम्म ३९ जनाको मृत्यू भएको छ ।

यातायात कार्यालयमा घुस माग्ने पक्राउ
चन्द्रागिरी नगरपालिका–१० गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालय परिसरमा सेवाग्राहीलाई हैरानी दिएको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ओखलढुंगा चम्पादेबी गाउँपालिका९४ घर भएका ३० वर्षीय पुष्कर कटुवाल, धनुषा हरीहरपुर गाउँपालिका–७ घर भएका ३० वर्षीय बिमल लामा, धादिङ बेनीघाट रोराङ गाउँपालिका–६ घर भएका २६ वर्षीय बिनोद पुलामी र लमजुङ मर्स्याङदी गाउँपालिका–२ घर भएका २६ वर्षीय उज्जवल गुरुङ रहेका छन ।
उक्त कार्यालय क्षेत्रमा यातायात कार्यालय जाने सेवाग्राहीलाई छिटो काम सम्पन्न गरिदिन्छु भनी सार्वजनिक सडकमै सर्वसाधारण सेवाग्राहीलाई हैरानी दिइरहेको अवस्थामा महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ