Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसीमा क्षेत्र डुवानदेखि दरबन्दीबिहिन विद्यालयलसम्मका खबर

सीमा क्षेत्र डुवानदेखि दरबन्दीबिहिन विद्यालयलसम्मका खबर


काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६८८ जनामा पिसीआर परीक्षणमा १०१ जना संक्रमित थपिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अख्तियारमा वर्षभरी ४४१ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । देशभर ३५ हजार ५ सय २० विद्यालयमध्ये ६३ प्रतिशत विद्यालयमा पूर्ण दरबन्दीका शिक्षक छैनन् । भारतीय सीमा क्षेत्रमा भएको डुवानबारे सरकारले भारतीय पक्षसँग छलफल गर्नेलगायत आजका मुख्य खबरः

नेपालमा थप १०१ जनामा कोरोना

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६८८ जनामा पिसीआर परीक्षणमा १०१ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे शुक्रबार को नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४४५ जना पुगेको छ । आज काठमाडौंका १ र भक्तपुरका १ जना गरी काठमाडौं उपत्यकामा २मा संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार बिहीबार देशभर २२ हजार ७५६ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ५ हजार ८७१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज २८५ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ११ हजार ५३४ जना पुगेको छ । त्यस्तै, वीपी प्रतिष्ठान धरानमा उपचार गराइरहेका एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

देशभर ६३ प्रतिशत सामुदायिक विद्यालय दरबन्दीविहीन

देशभर ३५ हजार ५ सय २० विद्यालयमध्ये ६३ प्रतिशत विद्यालयमा पूर्ण दरबन्दीका शिक्षक छैनन् । ३७ प्रतिशत विद्यालयमा मात्रै पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेका छन् । बाँकी आधारभूत प्राथमिक तहमा ५ हजार ३ सय ८, आधारभूत ९निमावि० तहमा ५ हजार ३ सय ५७ र मावि तहमा २ हजार ८ सय ४७ गरी १३ हजार ५ सय १२ विद्यालयमा मात्र पूर्ण दरबन्दीका शिक्षक कार्यरत रहेको देखिएको छ । महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदन २०७७ मा उल्लेख भएअनुसार झन्डै ४ हजार विद्यालयमा एक जना पनि शिक्षकको दरबन्दी छैन । ती विद्यालयमा अस्थायी, राहत र स्थानीय स्रोतको भरमा चलेका छन् । एक जना पनि शिक्षक दरबन्दी नभएको विद्यालयमा शिक्षक पदपूर्ति कहिले हुन्छ भन्ने विषय अन्योल छ ।

मौद्रिक नीति सार्वजनिक

नेपाल राष्ट्र बैंकले आज चालू आर्थिक वर्ष २०७७र७८ को मौद्रिक नीति सार्वजनिक गरेको छ । बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए । सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । सोही लक्ष्यलाई पूरा गर्न नीतिमा केही विषय समावेश गरिएको छ । कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभाव न्यून गर्ने लक्ष्यका साथ कृषि, ऊर्जा तथा साना तथा मझौला उद्योगमा लगानी गर्ने गरी नीतिमा विशेष जोड दिइएको छ ।
कृषि विकास बैंकलाई कृषि क्षेत्रको विकासका लागि अगुवा बैंकका रुपमा अगाडि बढाउने नीतिले लक्ष्य राखेको छ ।

सीमा डुवानबारे सरकारले भारतसँग छलफल गर्ने

भारतीय सीमा क्षेत्रमा भएको डुवानबारे सरकारले भारतीय पक्षसँग छलफल गर्ने भएको छ । सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमिमा परेपनि त्यसबारे विषयमा द्विपक्षीय वार्ता भएको छै । सरकारले यसमा केही दिनमै भारतसँग वार्ता गर्ने भएको छ। नदी तथा खोलाको प्राकृतिक बहाव नै रोकिने गरी सीमावर्ती क्षेत्रमा सडक तथा अन्य संरचना खडा गरेका कारण नेपालतर्फको भुभाग डुवानमा पर्दै आइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार मानव निर्मित संरचनाका कारण सीमावर्ती क्षेत्रमा परेको समस्या समाधानका लागि पहल सुरु भएको बताएको छ । ऊर्जामन्त्री वर्षमान पुनले यसबारेमा मन्त्रालयका उच्च अधिकारीलाई समस्या समाधानका लागि तत्काल पहल थाल्न निर्देशन दिइसकिएको जानकारी दिए ।

अख्तियारमा वर्षभरी ४४१ वटा भ्रष्टाचारका मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अख्तियारमा वर्षभरी ४४१ वटा भ्रष्टाचारका मुद्दा दर्ता भएका छन् । आयोगले आर्थिक वर्ष २०७६र०७७ मा विशेष अदालतमा ४४१ वटा भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरेको जनाएको हो । अघिल्लो आर्थिक वर्षमा आयोगले ३५१ मुद्दा दायर गरेको थियो । यो वर्ष भ्रष्टाचारसम्बन्धि बुद्दा बढेको अख्तियारको तथ्यांकले देखाएको छ ।
आयोगको वार्षिक प्रतिवेदनअनुसार आब २०७६÷०७७ मा २४ हजार ८९० उजुरी दर्ता भएको थियो । १६ हजार ५८६ वटा उजुरी फर्च्छ्यौट भएको र एक हजार ११४ को विस्तृत अनुसन्धान गरिएको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला विगत तीन दशकमा यसपटक सबैभन्दा बढी मुद्दा दायर भएको जानकारी दिए ।उनले घुस तथा रिसवत २०६, नक्कली प्रमाणपत्र ८५, सार्वजनिक सम्पत्तिको नोक्सानी ७४, गैरकानूनी सम्पत्ति आर्जन १८, गैरकानूनी लाभ हानी ३६, राजस्व हिनामिना १२ र १० वटा विविध विषयका मुद्दा दर्ता भएको बताए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ