Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअमेरिकामा कोरोना भाइरसको संक्रमण डरलाग्दो, एकैदिन ७७ हजार बढी संक्रमित

अमेरिकामा कोरोना भाइरसको संक्रमण डरलाग्दो, एकैदिन ७७ हजार बढी संक्रमित


गणेश थापा, क्यालिफोर्निया- संयुक्त राज्य अमेरिकामा नोवल कोरोना भाइरसको संक्रमण आश्चर्यजनक रूपमा वृद्धि भएको छ । अघिल्लो महिना कम देखिएको भाइरसको संक्रमण जुलाईको सुरूबाटै तीब्रगतिमा बढ्दैगएपछि परिस्थिति थप भयावह अवस्थामा पुगेको सरोकारवाला निकायहरूको ठम्याई छ आज एकैदिन ७७ हजार भन्दा बढी मानिसमा संक्रमण देखिएको छ । यो संख्या अमेरिकामा कोरोना महामारी सुरू भएयताको हालसम्मकै उच्च हो ।

कोरोना भाइरसबाट संक्रमित हुने नयॉ विरामीको संख्या केही दिनयता अमेरिकामा ह्वात्तै बढेको छ । यद्यपी मृत्यु हुनेको संख्या भने स्थिर प्राय:छ । पछिल्लो समय क्यालिफोर्निया, फोलोरिडा, टेक्सास् लगायतका राज्यमा भाइरसको संक्रमण अत्याधिक मात्रामा फैलिन थालेपछि मानिसहरू त्रसित भएका छन् । कोरोना भाइरसको संक्रमण सुरू भएयता हालसम्म अमेरिकामा मात्रै मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ । तीब्रगतिमा बढिरहेको भाइरसको संक्रमणबाट अहिलेसम्म अमेरिकामा ३६ लाख ६० हजार बढी व्यक्ति संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमण सम्बन्धी अफिसियल डाटा अपडेट गर्दै आइरहेको न्युजब्रेकका अनुसार कोभिड-१९ को संक्रमणका कारण विश्वको सवैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा आज करीव ९ सय ५० जनाको मृत्यु भएको छ । अघिल्लो दिन २४ घण्टाको अवधिमा झण्डै तेही हाराहारीमा ज्यान गएको थियो । यसैगरी केही दिनयता संक्रमितको संख्यामा असामान्य ढंगले वृद्धि भइरहेको अमेरिकामा आज २४ घण्टाको अवधिमा ७७ हजार २ सय ५० बढी व्यक्तिहरूमा कोरोना भाइरसको संक्रमण भेटिएको छ भने अघिल्लो दिनको संक्रमित संख्या करीव ७० हजारको वरपर रहेको थियो ।

उल्लेखित तथ्यांकहरूका अनुसार कोरोना भाइरसको संक्रमण फैलिएको अमेरिकाका ५० वटै राज्यहरू मध्ये पछिल्लो समय २६ वटा राज्यमा बढीमात्रामा नयॉ विरामीहरू फेलापरिरहेका छन् । यद्यपी सवैभन्दा बढी मानवीय क्षति खेप्नुपरिरहेको न्युयोर्कमा मात्रै अमेरिकाकै धेरै करीव ३२ हजार २ सय ५० जनाको मृत्यु भएको छ भने झण्डै ४ लाख १० हजार मानिस संक्रमित भएका छन् । न्यूयोर्कमा नेपालीहरूको समेत बाक्लो बसोबास रहेको छ । कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म १६ जना नेपालीहरूको ज्यान गइसकेको छ भने सयौंको संख्यामा नेपालीहरू संक्रमित रहेको यहॉका विभिन्न सामाजिक संघसंस्थाहरूले उल्लेख गरेका छन् ।

यता क्यालिफोर्नियामा समेत कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७ हजार ५ सय नाघेको छ भने झण्डै ३ लाख ६५ हजार मानिसमा संक्रमण देखिएको छ । अघिल्ला साता दिनहुँ ५० हजारको हाराहारीमा कोरोना संक्रमित फेला पर्दैआएकोमा केही दिनयता ७० हजार माथिको संख्यामा नयॉ विरामीहरू देखापरिरहेका छन् । बढ्दो कोरोना संक्रमणसँगै यहॉका सर्वसाधारण नागरिकहरू निकै त्रसित र भयवित देखिन्छन् । कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म संसारभर झण्डै ६ लाख मानिसको मृत्यु भएको छ भने संक्रमितको संख्या समेत एक करोड ४० लाख नाघेको छ ।

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभागका अनुसार यहॉ दैनिक करीव ८ लाख व्यक्तिमा कोरोना भाइरस सम्बन्धी स्वास्थ्य परीक्षण गरिदै आएको कुरा उल्लेख गरिएको छ । अमेरिकामा अहिलेसम्म करीव सॉढे ४ करोड मानिसको स्वास्थ्य जॉच गरिएको बताइएको छ । यसैगरी १० लाख ४० हजार बढी संक्रमित ठिक भइसकेका छन् ।

आगामी दिनमा कोरोना भाइरसको महामारीबाट अमेरिका अझै बढी प्रभावित हुनुकासाथै संक्रमितहरूको संख्या समेत दैनिक एक लाख बढी पुग्न सक्ने यहॉका स्वास्थ्य क्षेत्रका विज्ञहरूले चेतावनी दिएका छन् ।

अमेरिकामा अघिल्ला केही साताहरूमा कोरोना भाइरसको संक्रमण कमीहुदै जादा विभिन्न राज्यका सरकारहरूले खुलाउदै लगेका व्यापार व्यावसाय तथ कार्यालयहरू पुन: भाइरसको संक्रमण अत्याधिक गतिमा बढ्नथालेपछि अत्यावश्यक क्षेत्रवाहेक अन्यलाई आफ्ना कामकारवाही सीमित गर्न निर्देशित गरिरहेका छन् । कोरोना संक्रमणबाट अमेरिकाका ख्यातिप्राप्त डाक्टर, वकिल, गायक, पुलिस अफिसर लगायत कयौं महत्वपूर्ण व्यक्तिहरूको ज्यान गइसकेको छ ।

यसैबीच कोरोना भइरसबाट उत्पन्न संकट मोचनका लागि गत अप्रिलमा अमेरिकाको इतिहासमै सर्वाधिक राशीको झण्डै २ ट्रिलियन डलर बढीको आर्थिक सहायता प्याकेज ल्याइसकेको सरकारले पुन: सोही हाराहारीमा राहत पयाकेज ल्याउने तयारी गरेको छ । यसअघि वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी हुने प्रत्येक वयस्क मानिसलाई १२ सय डलर आपतकालिन राहत स्वरूप दिइएकोमा अब आउने राहत प्याकेजले प्रतिव्यक्ति २ हजार डलरसम्म वितरण गर्ने कार्योजनालाई समेट्न सक्ने सम्बन्धित अधिकारीहरूले उल्लेख गरेका छन् । हाल अमेरिकामा ३३ करोड बढी जनसंख्या रहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ