Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaअष्ट्रेलियाद्वारा विदेशी विद्यार्थी भिषाका लागि ५ नयाँ सुबिधा घोषणा । नेपालीलाई हुन्छ यस्तो फाइदा

अष्ट्रेलियाद्वारा विदेशी विद्यार्थी भिषाका लागि ५ नयाँ सुबिधा घोषणा । नेपालीलाई हुन्छ यस्तो फाइदा


ब्रिजवेन,अष्ट्रेलियाले कोरोनाबाट प्रभावित भएका अन्तराष्ट्रिय (विदेशी) विद्यार्थीको सुविधाका लागि आफ्नो भिषा नीतिमा ५ नयाँ सुविधाहरु थप गरेको छ । यी सुविधाले कोरोनाका कारण अष्ट्रेलियामा पढ्न आउन चाहाने, भिषा लागेर पनि अष्ट्रेलिया आउन नपाएका, आफ्नै देशमा बसेर अनलाईनको माध्यमबाट पढिरहेका, बिदा मनाउन स्वदेश फर्किएका, पढाईपछि टिआर हाल्न कुरिरहेका र अंग्रेजी भाषामा कम नम्बर आएका विद्यार्थीहरुलाई फाइदा पुग्ने देखिन्छ ।
यी भिषा सुविधाले अष्ट्रेलिया विदेशी विद्यार्थीको हकमा लचिलो छ भन्ने पनि हो भन्नुहुन्छ अष्ट्रेलियाका नेपाली शैक्षिक परामर्शदाताहरुको संस्था एक्काका अध्यक्ष पिआर अधिकारी । ठ्याक्कै एकिन तथ्याकं नभएपनि, भिषा लागेर अष्ट्रेलिया आउन रोकिएका र स्वदेश फर्किएका झण्डै १ हजारदेखि १२ नेपाली विद्यार्थी नेपालमै अड्किएका छन् । यो भिषा नियम परिवर्तनपछि उनीहरुलाई धेरै राहत पुगेको छ ।

अन्तराष्ट्रिय विद्यार्थीका लागि नयाँ भिषा आवेदन पनि खुल्ला

सरकारले हालै सार्वजनिक गरेको ५ नयाँ नियम अनुसार कोरोनाका कारण रोकिएको विद्यार्थी भिषा आवेदन खुल्ला पनि एक हो । कोरोनाका कारण गत मार्चमा सिमा बन्द गर्ने निर्णयसंगै अष्ट्रेलियाले विदेशी विद्यार्थीको भिषा आवेदन बन्द गरेको थियो । कोरोना संक्रमणमा सुधार आएसंगै अष्ट्रेलियाले विदेशी विद्यार्थीका लागि भिषा आवेदन खोल्ने निर्णय गरेको हो । भिषा लागेपछि पनि विद्यार्थीहरु तत्कालै अष्ट्रेलिया भने आउन पाउने छैनन् । त्यसका लागि अष्ट्रेलियाको सिमा खुल्ला हुने समयसम्म कुर्नपर्नेछ । हाल अष्ट्रेलियाले आफ्ना नागरिक र पिआरवालालाई मात्रै प्रवेशको अनुमति दिएको छ । तर, यो सुविधाले अष्ट्रेलियामा पढ्न आउन चाहाने विद्यार्थीलाई भने भिषा लगाएर उत्तैबाट अनलाईनमा अध्ययन गर्न भने बाटो खोलीदिएको छ ।

भिषा लागिसकेका विदेशी विद्यार्थीका हकमा दिइएको ४ सुविधाहरु यस्ता छन् ।

भिषा थप निशुल्क

कोभिडका कारणले समयमा पढाई नसकिए त्यस्ता विद्यार्थीको भिषा निशुल्क थपिदिने सरकारले घोषणा गरेको हो । खासगरी पढाई सकिने अवधीभरका लागि सुरुमा विद्यार्थी भिषा जारी भएको हुन्छ । तर, कोभिडका कारण पढाई प्रभावित भएको अवस्थामा विद्यार्थीले भिषा अवधीभित्र पढाई सक्ने अवस्था पनि आएको छ । त्यस्ता विद्यार्थीका हकमा पढाई नसकिएरै भिषा सकिएमा थप भिषा निशुल्क थप्न मिल्ने नियम आएको हो ।

अनलाईनबाट पढेपनि टिआर पाईने

अष्ट्रेलियाले दुइ वर्षे अध्ययन पुरा गरेका विदेशी विद्यार्थीलाई दुइ वर्ष नै काम गर्न मिल्ने सुविधा सहितको पोष्ट स्टडी भिषा (टिआर) दिने गर्छ । यो भिषाका लागि विद्यार्थीले अष्ट्रेलियामै बसेर दुइ वर्ष पढेको हुनपर्ने नियम छ । तर, कोभिडका कारणले थुप्रै विदेशी विद्यार्थीले स्वदेशमै बसेर अनलाइनबाट अध्ययन गरिरहेको अवस्था छ । अब अनलाईनमा अध्ययन गरेको समय पनि टिआरका लागि गणना हुने भएको हो । अनलाइनमा पढेको समयसमेत जोडेर त्यस्ता विद्यार्थीले टिआर आवेदन दिन सक्नेछन् ।

विदेशबाटै टिआर हाल्न पाइने

दुइ वर्षे पढाई सकेर छुट्टी मनाउन स्वदेश फर्किएका र कोरोनाका कारण उत्तै अड्किएका विद्यार्थीले पनि अब उत्तैबाट टिआरको लागि आवेदन दिन सक्नेछन् ।

अंग्रेजी भाषाका लागि थप समय

कोरोनाका कारण अंग्रेजी भाषा परिक्षाहरु स्थगित भएका छन् । खासगरी आइएलटिएस र पिटिइका परिक्षाहरु बन्द भएका छन् । भाषाको परिक्षामा आवश्यकता अनुसारको नतिजा नआएर भिषा प्रकृया रोकिएका विद्यँथीले अब थप समय पाउने भएका छन् । अंग्रेजी भाषाको नतिजा बुझाउने समयसिमा बढाइएको हो ।

अष्ट्रेलियामा हाल झण्डै ५ लाख अन्तराष्ट्रिय विद्यँर्थी अध्ययनरत छन् । जसमा ५० हजार नेपाली छन् । विदेशी विद्यार्थीले मात्रै अष्ट्रेलियामा वार्षिक ४० मिलियन डलरको योगदान गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ