Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा आज : कोरोना, एसिड आक्रमणदेखी सर्बोच्च अदालत बिरुद्धको आन्दोलनसम्म

नेपालमा आज : कोरोना, एसिड आक्रमणदेखी सर्बोच्च अदालत बिरुद्धको आन्दोलनसम्म


काठमाडौं । नेपालमा कोरोना कहर जारी नै रहँदा लकडाउन खोलिएको भन्दै बिरोध हुन थालेको छ भने परिक्षणको दायरा बढाउनुपर्ने माग पनि उठिरहेको छ । एसिड आक्रमणको घटना, श्रीमती हत्यामा जेल परेकाको कैद मिनाहा, बैदेशिक रोजगारीका नाममा हुन थालेका ठगीका घटनाले पनि नेपालको सञ्चार क्षेत्रमा चर्चा र महत्व पाएका छन् । नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

१ कोरोना अपडेट
पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३७४ पुगेको छ । देशभर भरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । सबैभन्दा धेरै पर्सामा ३१ जना, झापाका २५, काठमाडौंका १०, दैलेख र कैलालीका ८/८ जना, सप्तरीका ७, सुनसरी र कास्कीका ५/५ जना तथा दाङ, नवलपुर र रुपन्देहीका ४/४ जनामा, लमजुङका ३, मोरङ, सर्लाही, चितवन, बाँके, बर्दिया, कैलालीका २/२ जना तथा धनकुटा, बारा, धनुषा, उदयपुर, बाग्लुङ, तनहुँ र जोजरकोटका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डक कोभिड अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका ११ कि ८५ वर्षीया वृद्धा र बीरगञ्को गण्डक कोरोना विशेष अस्पतालमा मृत्यु भएकी १७ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

२.कोरोना परिक्षणको दायरा बढाउन माग
जनस्वास्थ्य विज्ञहरुले कोरोना परीक्षणको दायरा बढाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सुझाव दिएका छन् । मन्त्री भानुभक्त ढकालकै उपस्थितिमा मन्त्रालयले भएको छलफलमा डा. समीरमणि दीक्षित, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्यविद डा. सुजन मरहठ्ठा लगायतले समुदाय स्तरमा संक्रमण गएको संकेतहरु धेरै देखिएको भन्दै परीक्षणको दायरा बढाउनुपर्ने बताएका हुन् । उनीहरुले परिक्षणको दायरा बढाएर कोरोना संक्रमणको अवस्था एकिन गर्न ढिला गर्न नहुने बताए ।

कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा उनीहरुको जोड थियो । छलफलमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपाल प्रतिनिधि डा. जोस भ्यान्डेलरले खास ठाउँमा देखिएको संक्रमणलाई समूदायको भन्न नमिल्ने भएपनि समुदायमा व्यापक संक्रमण हुन नदिन सतर्कता अपनाउनुपर्नेमा जोड दिए ।

३. सर्बोच्चको फैशला बिरुद्ध प्रदर्शन
श्रीमतीको हत्या गरेर जेल बसेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रन्जन कोइरालाको सजाय घटाउने फैसलाविरुद्ध चर्को बिरोध सुरु भएको छ । शुक्रबार स्वतन्त्र राष्ट्रिय अभियान नेपालको पहलमा माइतीघर मण्डलामा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘अदालतको चोला फेर्न चोलेन्द्रलाई महाअभियोग’, ‘भागबण्डाको गोटीले, उन्मुक्ति पाए भेटीले’ जस्ता नारा लेखिएको प्ले कार्ड प्रदर्शन गरे ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले तत्कालिन पुनरावेदन अदालतले जन्मकैदको सजाय सुनाएको कोइरालालाई साढे ८ वर्षमात्र कैद हुने फैसला गरेको थियो । सर्वोच्चको फैसलाअनुसार कोइराला बिहीबार छुटेका छन् । योसँगै प्रधानन्यायाधिस र अदालतको फैशलालाई लिएर चर्को बिरोध भइरहेको छ भने महान्यायाधिवक्ता कार्यालयले त्रुटीपूर्ण फैशला भन्दै पुनरावलोकनको रिट दर्ता गराएको छ ।

४. बढ्दै एसिड आक्रमणका घटना
नेपालमा एकपछि अर्को गर्दै एसिड आक्रमणका घटनाहरुले निरन्तरता पाइरहेका छन् । बिहिबार मात्रै ओखलढुंगा घर भई काठमाडौं सितापाईला बस्ने पवित्रा कार्कीमाथी एसिड प्रहार भयो । सीसीटीभी फुटेज, प्रत्यक्षदर्शी र पीडितको प्ररम्भिक बयानका आधारमा बिहिबार राती नै मोहम्मद आलम र भारतीय नागरिक मुन्ना महमदलाई पक्राउ गरेर प्रहरीले आवश्यक कारबाही अघि बढाएको छ । एकछोरा र एक छोरीका पीता आलमको प्रेम प्रस्ताव कार्कीले अस्विकार गर्दा एसिड आक्रमण भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

बिहीबारको घटना काठमाडौंमा पछिल्लो ७ वर्षमा घटेको तेस्रो घटना थियो । प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ यताका ७ वर्षमा मुलुकभर एसिड प्रहारका २१ घटना भएका छन् । १९ युवती र ४ पुरुषमाथि एसिड आक्रमण भएको छ । घटनामा संलग्न २७ पुरुष र २ महिला पक्राउ गरेको प्रहरीले २ जनामाथि कर्तव्य ज्यान, १३ जनामाथि ज्यान मार्ने उद्योग, एक जनालाई केही सार्वजनिक अपराध र ४ जनामाथि कुटपिट र अंगभंगमा कारबाही गरेको तथ्यांक छ ।

५. प्रलोभन र ठगीमा नपर्न ध्यानाकर्षण
सरकारले जापान रोजगारीमा पठाइदिने भन्दै भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले गरेको प्रचार प्रसार र पैशा असुलीमा ध्यानाकर्षण भएको भन्दै प्रलोभन र ठगीमा नपर्न आग्रह गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै केही जापानी भाषा प्रशिक्षण केन्द्र, शैक्षिक परामर्श केन्द्र तथा सीप प्रशिक्षण केन्द्रहरुले विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जाल मार्फत भ्रमपूर्ण प्रचार गरिरहेको भन्दै भ्रममा नपर्न सबैमाझ आग्रह गरेको हो ।

कामदार पठाउँदा वैदेशिक रोजगार विभागको जापान ईकाई मार्फत कामदार छनौट हुने व्यवस्था रहेकोले कामदार छनौटको परीक्षण पद्धतिमा निजी क्षेत्रका कुनै पनि संस्थाहरुको भूमिका नहुने मन्त्रालयको दाबी छ । वैदेशिक रोजगार विभागबाट यथार्थ र आधिकारिक सूचना लिएर मात्र भाषा परीक्षा तथा सीप परीक्षणको तयारी गर्न मन्त्रालयले सबैलाई अनुरोध गरेको छ । नेपाली नागरिकहरुलाई एसएसडब्ल्यू प्रणाली अन्तर्गत जापान रोजगारीमा पठाउने गरी सन् २०१९ मार्चमा नेपाल सरकार र जापान सरकारबीच समझदारी भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ