Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजुलाइ ३० मा अष्ट्रेलियाबाट नेपाल चाटर्ड उडान हुने । भाडा झनै सस्तो

जुलाइ ३० मा अष्ट्रेलियाबाट नेपाल चाटर्ड उडान हुने । भाडा झनै सस्तो


ब्रिजवेन
कोराना भाइरसका कारण अष्ट्रेलियामै रोकिएका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि आगामी जुलाई ३० तारिखमा उडान हुने तय भएको छ ।
नेपाली दूतावास क्यानवेरा, गैरआवासिय नेपाली संघ र पत्रकारहरुको पहलमा सिड्नीबाट मालिन्दो एयरलाइन्सको उडानबाट नेपालीलाई स्वदेश फर्काउन लागिएको हो । यसपाली विमान चार्टड गर्ने जिम्मा नेपालको मेघ ट्राभल्सले पाएको छ । यसपाली नेपाल फर्कनका लागि इकोनोमीतर्फ ११ सय २० अमेरिकी डलर र विजनेस क्लासका लागि १६ सय अमेरिकी डलर भाडा तोकिएको छ । यो भाडादर यसअघिको सबै उडानको तुलनामा सबैभन्दा सस्तो हो । यसअघि नेपाल एयर लाइन्सको चाटर्ड उडानको भाडा १६ सय ५० र सिंगापुर एयरबाट भएको सेमी चाटर्ड उडानको भाडा ११५१ अमेरिकी डलर थियो ।

मालिन्दो एयरमा यसपाली इकोनोमीतर्फ १४८ जना र विजनेसतर्फ १२ वटा सिट छ । तर, नेपाल फर्कनका लागि ३५० जनाले यसअघि नै टिकट काटेर उडान कुरिरहेका छन् । तर, विमानको क्षमताभन्दा बढी टिकट बिक्री भइसकेकाले बाकी १९० जनालाई अर्को उडानमा स्वदेश फर्काउन प्रयास गरिने एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङले जानकारी दिनुभयो । फष्ट कम फष्ट सर्भिस र जरुरीका आधारमा यात्रु छनोट गरिने एनआरएनए अष्ट्रेलियाले जनाएको छ । अर्को उडान संभव नभए टिकट काटिसकेकाहरुलाई पैसा फिर्ता गरिने गुरुङको भनाई छ । यसअघि नेपाल जानका लागि १३ सय नेपालीले स्वदेश फर्कनका लागि दूतावासमा नामावली बुझाएका थिए । ती मध्ये पटक पटक गरेर ६ सय २० जना नेपाली स्वदेश फर्किसकेका छन् । सिड्नीबाट उडेको विमान मलेसियाको क्वाललम्पुरमा तेल हाल्न रोकिने बताइएको छ । जहा यात्रुहरु ओर्लिन पाउनेछन् । त्यसपछि विमान सिधै काठमाडौमा अवतरण गर्नेछ । सिड्नीबाट मात्र उडान हुने भएका अन्य राज्यमा भएका यात्रुहरुले आफ्नै खर्चमा सिड्नी जानुपर्ने प्रवक्ता गुरुङले बताउनुभयो । जुलाइ ३० तारिख बिहान ७ बजे हुने उडानका लागि ४ घण्टा अघि नै विमानस्थल पुग्नुपर्नेछ ।

नेपाल फर्कनेहरुले सात दिन म्याद भित्र नेपाल पुग्नेगरि कोराना नलागेको पिसिआर रिपोर्ट साथै लानुपर्नेछ । अष्ट्रेलियामा पिसिआर परिक्षणका लागि नेपाली चिकित्सक र डेन्टीसहरुको संस्था एन्डाले सहकार्य गरिरहेको छ । पिसिआर परिक्षणका लागि यात्रुले एम्डालाई सम्पर्क गर्नसक्नेछन् । नेपाल पुगेपछि अनिवार्य रुपमा ५ दिन हाल्डिङ सेन्टरमा बस्नुपर्ने नियम लागू भएको छ ।

स्वदेश फर्कने उडान सिलसिला

जुन २३ -नेपाल एयरलाइन्सको चाटर्ड विमानले सिड्नीबाट काठमाडौका लागि उडान भरेको थियो । जसमा कोरोनाका कारण अष्ट्रेलियामा रोकिएका २५७ जना नेपाली स्वदेश फर्किएका थिए । यो उडानको भाडा १६ सय ५० अमेरिकी डलर थियो । यो विमान उडानको व्यवस्थापन नेपाल सरकार, दूतावास र नेपाल एयरले मिलाएको थियो ।

जुन २७- नेपाल एयरलाइन्सकै अर्को चाटर्ड विमानले मेलवर्नबाट काठमाडौका लागि उद्दार उडान भरेको थियो । यो अष्ट्रेलियाबाट भएको दोस्रो उद्दार उडान हो । यसमा २०९ जना नेपाली स्वदेश फर्किएका थिए । यो उडानको प्रतिव्यक्ति भाडादर पनि १६५० अमेरिकी डलर नै थियो । यो विमान उडानको व्यवस्थापन नेपाल सरकार, दूतावास र नेपाल एयरले मिलाएको थियो ।

जुलाई १४ – सिंगापुर एयरमार्फत सेमि चाटर्ड विमानबाट १ सय ४९ जना नेपाली अष्ट्रेलियाबाट स्वदेश फर्किएका हुन् । दूतावासको संयोजनमा गैरआवासिय नेपाली संघ अष्ट्रेलियाले खुल्ला प्रतिष्प्रधामार्फत ट्राभल एजेन्सीहरु छनोट गरि सस्तो दरमा उडानको व्यवस्था गरेको हो । अष्ट्रेलियाको सिड्नी, मेलवर्न र ब्रिजवेनबाट नियमित उडान मार्फत सिंगापुर पुगेका नेपालीलाई त्यहाबाट विमान चाटर्ड गरेर स्वदेश फर्काइएको हो । ६ वटा ट्राभल एजेन्सीलाई संयुक्त रुपमा व्यवस्थापन गर्ने जिम्मा दिएपनि टिकट काट्ने काम भने सिड्नीको एभरेष्ट ट्राभल्सलाई दिइएको थियो । विमानको व्यवस्थापन गरेबापत २५ डलर सेवाशुल्क सबै ट्राभल एजेन्सीलाई बराबर बाड्ने सहमति भएको थियो ।

यसअघि सिंगापुर एयरकाे भाडा अन्यथा भएकाले क्षमासहित सच्चाईएकाे छ ।

photo-Malindo Air


ट्याग : #flight to nepal, #nepal airlines, #Nepali in Australia
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ