Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsमाक्समाथी निगरानी, प्रधानन्यायाधिशको बिवादित फैशलादेखी सौराहाको पर्यटनसम्म

माक्समाथी निगरानी, प्रधानन्यायाधिशको बिवादित फैशलादेखी सौराहाको पर्यटनसम्म


काठमाडौं । कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या २०८ पुग्दा सार्वजनिक यातायातले दोब्बर भाडासँगै जोखिम बढाइरहेका छन् । प्रधानन्यायाधिशको फैशलाकै पुनरावलोकन भएको खबरदेखी, माक्स नलगाउने बिरुद्धको कारबाही र सौराहाको पर्यटन बारेका खबरले नेपाली सञ्चार क्षेत्रमा बिशेष महत्व पाएका छन् । पछिल्ला प्रमुख ५ खबर यस्ता छन् ।

१.कोरोना संक्रमणबाट २०८ नेपालीको मृत्यु
कोरोना संक्रमणबाट विदेशमा हालसम्म १ सय ६१ नेपालीको मृत्यु भएको छ । यो साता बेलायतमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै मृतकको संख्या १ सय ६१ पुगेका गैरआवाीय नेपाली संघ एनआरएनएले जानकारी दिएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका विदेशमा १ सय ६१ नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

३६ देशमा रहेका ३१ हजार १ सय ५० कूल सङ्क्रमितमध्ये २९ हजार २ सय ४३ अर्थात् ९३ प्रतिशत भन्दा बढी नेपाली कोरोना सङ्क्रमणमुक्त भएका छन् । युएई, कतार, कुवेत र साउदी अरबमा रहेका नेपालीमा यो हप्ता संक्रमण बढेको पाइएको छ । कोरोनाका कारण नेपालमा ज्यान गुमाएका ४७ सहित विश्वभर ज्यान गुमाउने नेपालीको सङ्ख्या २ सय ८ पुगेको छ । नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १३ पुग्दा १३ हजार १ सय २८ जना कोरोनामुक्त भएका छन् ।

२.जोखिम मोलेर दोब्बर भाडामा यात्रा गर्नुपर्ने बाध्यता
यातायात व्यवसायीले जोखिम मोलेर यात्रुलाई सुविधा दिएको दाबी गरिदैगर्दा यात्रुहरुको गुनासो बढ्न थालेको छ । कोरोना भाइरसबाट बच्न सार्वजनिक यातायातमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । बन्दाबन्दी खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक यातायातमा भीड बढ्दै छ ।

मयुर, सुन्दर, महानगर, साझा, बागमती लगायतका केही सिमित यातायात बाहेकले सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको उल्लंघन गर्दै आएका छन् । माइक्रो र ट्याम्पोको यात्रा त भौतिक दूरी कायम नहुँदा जोखिमयुक्त बनिरहेको छ । सार्वजनिक यातायातले नियम पालना नगरेको र जोखिम बढाएको बारे नियामक निकाय ट्राफिक प्रहरीले पनि ध्यान नदिएको गुनासो यात्रुहरुको छ । अहिले चढ्नासाथ २५ रुपैया भाडा तिर्नुपर्ने यात्रुहरु सरकारले ५० प्रतिशत भाडा थप गरेपनि दोब्बर भाडा तिर्नुपरेको बताइरहेका छन् ।

३.माक्स नलगाए अब कडा कारबाही
भीडभाडमा भौतिक दूरी कायम नहुदा बढ्ने जोखिमलाई ख्याल गर्दै गृह मन्त्रालयले मास्कको प्रयोग नगर्ने विरुद्ध कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएको छ । आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै गृहले मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन आग्रह गरेको हो ।

मन्त्रालयले मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनेको छ । पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै परिपत्र जारी गरिएको गृहले जनाएको छ । अब कारबाहीको विवरण समेत दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने भएको छ । मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ ।

४.प्रधानन्यायाधिशको फैशला नै पुनरावलोकनमा
पत्नीहत्याको आरोपमा जन्मकैदको सजाय पाएका सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला पुनरावलोकन हुने भएको छ । न्यायाधीशहरु बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीले गत असार १५ गते गरेको फैसला पुनरावलोकनका लागि अनुमति दिएको हो ।

फैशला पुनरावलोकनको निवेदनमा सुनुवाई गर्दै आइतबार तीन न्यायाधीशको पूर्ण इजलासले प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलामाथि प्रश्न उठाएको छ । आइतबारको आदेशमा सर्वोच्चले कोइरालाले गरेको पत्नी हत्यालाई सामान्य अवस्थाको र भवितव्य मान्न नसकिने ठहर समेत गरेको छ । जबरा र केसीको इजलासले कोइरालाको जन्मकैदको सजाय घटाएर साढे ८ वर्षमा झारेपछि चौतर्फी आलोचना भएको थियो । फैसला पुनरावलोकन गरी उनलाई हदैसम्मको सजाय दिनुपर्ने माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले साउन ८ गते सर्वोच्चमा निवेदन दिएको थियो ।

५. साउन १५ बाट पर्यटकिय नगरि सौराहाका होटल खुल्ने
चैतदेखि लगाइएको लकडाउन अन्त्यको घोषणा गरिएसँग सार्वजनिक सवारी साधनदेखि उद्योग, कलकारखाना, बजार पूर्णरूपमा खुला भएपनि होटल र पर्यटन क्षेत्र अझै ठप्प जस्तै छ । चार महिना लामो लकडाउनले सिथिल बनेको पर्यटन क्षेत्र यही साउन १५ गतेदेखि सञ्चालनको तयारीमा छ । सरकारले होटल सञ्चालन गर्न दिने भएपछि अहिले सौराहाका व्यवसायी तयारीमा जुटेका छन् ।

आन्तरिक पर्यटक भित्र्याउनका लागि युवा व्यवसायीको टोली शनिबार साइकलयात्रामा निस्किएको थियो । क्षेत्रीय होटल सङ्घका अध्यक्ष दीपक भट्टराईले कोरोना भाइरसका कारण शिथिल बनेको पर्यटन क्षेत्रलाई उकास्न आन्तरिक पर्यटक प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो । स्वास्थ्य सावधानीका उपाय सहित सौराहा खुला गर्नेगरी सरसफाई लगायतको तयारी अन्तिम चरणमा पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ