Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालमा विपद्ध : बाढी पहिरोका कारण ४४ दिनमा १५८ को मृत्यु

नेपालमा विपद्ध : बाढी पहिरोका कारण ४४ दिनमा १५८ को मृत्यु


काठमाडौ । मनसुन सुरु भएको ४४ दिनमा देशभरी पहिरो, बाढी र डुवानका ५ सय ३३ वटा घटना भएका छन् । बुधबारसम्म बाढी र पहिरोमा परेर १ सय ५८ जनाको मृत्यु भएको छ । ५७ जना बेपत्ता हुँदा १ सय ४१ जना घाइते भएका छन् ।

बुधबारमात्रै पनि कर्णाली प्रदेशको कालिकोटमा पहिरोका कारण ९ जनाको मृत्यु हुँदा सुदुरपश्चिम प्रदेशको कैलाली लगायतका जिल्लाहरु जलमग्न भएका छन् । कैलालीमा मात्रै ४ जना बेपत्ता भएका छन् । बाजुरामा पहिरोका कारण एक जनाको मृत्यु भएको छ । वर्षासँगै पहाडी र हिमाली जिल्लामा पहिरो जाने क्रम अहिले पनि जारी छ भने देशको तराई मधेशमा बाढी र डुवान कायमै छ ।

जल तथा मौसम विज्ञान विभागको अहिलेसम्मको तथ्यांकले मुलुकका केही भागमा सरदरभन्दा बढी वर्षा भएको देखाएको छ । करिब दुई महिनाको अवधिमा सबै स्टेसनमा ७ सय २९ मिलिमिटर (मिमि) सरदर वर्षा हुनुपर्नेमा ८ सय ५२.९ मिमि वर्षा भएको छ । दक्षिण एसियाली मुलुकका मौसमविद्हरूले गत चैतमा यो वर्ष नेपालसहित दक्षिण एसियाली मुलुकहरूमा सरदर वर्षा (नर्मल) हुने आकलन गरेपनि नेपालका केही स्थानमा सरदरभन्दा बढी वर्षा भएको पाइएको छ ।

यो वर्ष सरदरभन्दा २ दिन ढिलो जेठ ३० मा मनसुन भित्रिएपनि साँढे २ महिनामै ठूलो जनधनको क्षती भएको छ । मनसुनको अवधि अझै ५० दिनभन्दा बढी बाँकी रहेकाले विपद्का घटना पनि बढ्ने आँकलन विज्ञहरुको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ