Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहरेक बिहान बढ्दैपर्ने, नेपालका खबर

हरेक बिहान बढ्दैपर्ने, नेपालका खबर


काठमाडौं । कोरोनाको कहर बढ्दै गरेको नेपालमा सत्तारुढ नेकपा भित्रको अन्तरद्धन्द्धले अझै निकास पाएको छैन । निर्मला बलात्कारपछि हत्या प्रकरणले निकास नपाउँदा सुन जस्तो देखिने पँहेलो धातु बरामद प्रकरणको अनुसन्धानमा समेत लापरबाही भेटिएको छ । नेपालका पछिल्लो २४ घण्टाका प्रमुख पाँच खबर यस्ता छन् ।

१.काठमाडौंमा उपत्यकामा बढ्दै कोरोना त्रास
बिहिबार काठमाडौं उपत्यका ४५ सहित देशभर २ सय ७४ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लाका ४१, भक्तपुर र ललितपुरका २ २ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीमा समेत कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर २ सय २७ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ । निको भएकासहित हालसम्म कूल संक्रमितको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । बिहीबार पीसीआर विधिबाट ६ हजार ३ सय ४ वटा नमुना परीक्षण भएका छन् । हालसम्म पीसीआर विधिबाट ३ लाख ६३ हजार ६ सय ४८ जनाको कोरोना परीक्षण भएको छ । अहिले देशभरीका क्वारेन्टिनमा १३ हजार २ सय १ जना रहेका छन् ।

२ नीजि अस्पतालमा समेत कोरोना परिक्षण र उपचार
सरकारले कोरोना भाइरस संक्रमितको उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँसम्म शुल्क लिन पाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जटिल अवस्थाका बिरामीको उपचार गर्दा निजी अस्पतालले १५ हजार रुपैयाँसम्म, सामान्य अवस्थाको भए प्रतिदिन ३ हजार ५ सय रुपैयाँ, मध्यम जटिल खालको भए ७ हजारसम्म शुल्क लिन पाउनेछन् । कोरोना संक्रमितको उपचारका लागि सरकारले लेबल १, २ र ३ गरी तीन थरी अस्पतालको मापदण्ड तोकेको छ ।

यी बाहेक अन्य निजी अस्पतालमा बिरामीले कोरोना संक्रमणको उपचार गराउन चाहेमा उक्त अस्पतालको समेत सहमति लिई उपचार गर्न पाउने गरि सरकारले कार्यविधि ल्याएको छ । सरकारले कोरोना परीक्षण गर्ने निजी अस्पताललाई तोकिएको शुल्क ५५ सयमा बिरामीबाट थप १० प्रतिशतसम्म सेवा शुल्क लिन पाउने व्यवस्था गरेको छ । यो भिटिएम र पीपीईको खर्च अर्थात १० प्रतिशत जोड्दा नीजि अस्पतालले ५५० थपेर ६ हजार ५० रुपैयाँ नबढ्ने गरी शुल्क लिन पाउनेछन् । निजी अस्पतालले संकलन गरेको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट स्वीकृति पाएको प्रयोगशालामा नै परीक्षण गराउनुपर्ने व्यवस्था भने यथावत रहँदा अनुमति पाएकाहरुले भने आफैले संकलन र परिक्षण गर्न पाउने भएका छन् ।

३. काठमाडौं उपत्यका प्रवेशमा कडाई
गृह मन्त्रालयले संक्रमित क्षेत्रबाट काठमाडौं उपत्यकामा कोरोना संक्रमित भित्रिरहेको भन्दै साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ । गृहले अत्यावश्यक काम भएका बाहेकलाई पास जारी नगर्न देशभरका जिल्लाहरुलाई निर्देशन दिएको छ ।

सरकारले साउन ६ गते साँझदेखि लकडाउन अन्त्यको घोषणा गरे पनि दिनहु काठमाडौं उपत्यकामा संक्रमित पहिचान भइरहेका छन् ।उपत्यकाको हकमा तीन जिल्लाभित्र र बाहिरको हकमा जिल्लाभित्र सवारी साधन सञ्चालन खुला गरिएसँगै आवतजावत र भीडभाड बढेको छ । भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालनमा नआउँदै नाकाहरुमा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएपनि संक्रमितहरु ह्वात्तै बढ्दा गृह मन्त्रालय सजग भएको हो ।

४.निर्मला प्रकरणमा मुछिएका प्रहरी अधिकारीलाई सफाइ
कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको प्रमाण नष्ट गरेको आरोप लागेका प्रहरी अधिकारीहरुले सफाइ पाएका छन् । तत्कालिन कञ्चनपुरका प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित ८ जना प्रहरी विरुद्ध दर्ता भएको सार्वजनिक न्यायविरुद्धको कसूर र यातनासम्बन्धी कसूरमाथी जिल्ला अदालत कञ्चनपुरले फैशला गर्दै बिहिबार सफाइ दिएको हो ।

एसपी विष्टसहित डीएसपी अंगुर जिसी र ज्ञानबहादुर सेटी, इन्सपेक्टर एकीन्द्र खड्का, जगदिश भट्ट, सई हरिसिंह धामी, रामसिंह धामी र हवल्दार चाँदनी साउदले प्रमाण नष्ट गरेको आरोप लाग्दै आएको थियो । कञ्चनपुर जिल्ला अदालतका श्रेस्तेदार यदुनाथ शर्माले जिल्ला न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले दुबै मुद्धामा प्रहरी अधिकारीलाई सफाइ दिएको जानकारी दिनुभयो । निर्मला बलात्कारपछि हत्या भएको प्रमाण नष्ट गरेको र हिरासतमा रहेकालाई यातना दिएको भनी लगाइएको अभियोगको मुद्धा किनारा लागेसँगै निलम्बित प्रहरीलाई काममा फर्किन बाटो खुलेको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बित्दा समेत हत्यारा पक्राउ पर्न सकेका छैनन् ।

५. १५ किलो पहेँलो धातु बरामद प्रकरण, डीएसपीमाथी अनुसन्धान
महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ । १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि प्रहरी वृत्तको नेतृत्वबाट हटाइएको हो । दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्तलाई भगाएको आरोप लागेको छ ।

दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ । साउन १३ गते प्रहरीले कमलादीस्थित नबिल बैंक अगाडिबाट १५ किलो पहेँलो धातु बरामद गरेको बताइएपनि सो घटना अनुसन्धानको क्रममा प्रहरीले नक्कली घटनास्थल बनाएको खुलेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ