Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsराजनीति, कोरोना कहरसँगै जाग्दै गरेको नेपाली पर्यटन र अर्थनीतिका खबर

राजनीति, कोरोना कहरसँगै जाग्दै गरेको नेपाली पर्यटन र अर्थनीतिका खबर


काठमाडौं । कोरोना, वित्तिय अवस्थादेखी पर्यटन र विमानस्थलको तयारीसम्मका खबरले नेपालमा महत्व पाएका छन् । सत्तारुढ दलभित्रको अन्तर कलह समेत लामो समयदेखी नेपाली खबरको हटकेक बनिरहेको छ । यस्ता छन्, पछिल्लो २४ घण्टाका नेपाल बारेका प्रमुख पाँच खबर

१. नेपालमा कोरोना
पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँग नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा २२४ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२ ललितपुरका ५ र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको छ । २४ घन्टामा १५१ जना संक्रमित निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको संख्या १४ हजार ३९९ पुगेको छ । शुक्रबार थप ४ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएसँगै नेपामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

२.सत्तारुढ नेकपामा रडाको
सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले चालेका पछिल्लो समयका फरक कदमले आपसमा अविश्वास चुलिएको छ । अविश्वास बढ्दा विवाद सुल्झाउन भन्दै दैनिकजसो हुने भेटवार्ता रोकिएर संवादहीनताको अवस्था सिर्जना भएको छ । दुई अध्यक्षबीचको संवादहीनता तोडाउन दोस्रो तहका नेताको दौडधूप बढेपनि उनीहरुको प्रयास सार्थक हुन सकेको छैन ।

बुधबार, बिहीबार र शुक्रबार दोस्रो तहका नेताहरुले दुई अध्यक्षसँग छुट्टाछुट्टै भेटघाट गरेका छन् । महासचिव विष्णु पौडेल भने दुई अध्यक्षको संवादहीनता तोडाउने दौडधूपमा छन् । उनले बिहीबार प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालसँग छुट्टाछुट्टै भेटेका छन । तर अध्यक्ष प्रचण्डले निकास सहितको सम्वादमा बोलाउन आग्रह गर्दै आएका छन् । गत मंगलवार ओलीले एकतर्फी रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि दाहालले बहुमत सदस्यहरुको बैठक गरेका थिए । यद्यपि त्यो बैठक सञ्चालन गर्नुपूर्व दाहालले अर्का वरिष्ठ नेता झलनाथ खनालसहित ओलीसँग भेट गरेका थिए । तर, ओलीले स्थगित बैठकमा आफू नआउने भन्दै गएका थिएनन् । दाहालले बसालेको बैठकमा ओली समूहका नेता पनि सहभागी भएका थिएनन् । बैठकले ओलीले एकतर्फी बैठक स्थगित गर्नु अनुचित भएको निष्कर्षसमेत निकालेको थियो । त्यहीबाट उनीहरुबीचको अविश्वास चुलीमा पुगेको हो ।

मंगलबार यता ओली–दाहालबीच संवाद भएको छैन । अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई दुवै पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपाभित्र विवाद उत्कर्षमा पुगेको थियो । अहिले नेपाल–दाहाल समूह दुईमध्ये एक पद छाड्नुपर्ने अडानमा छ । तर, दुवै पदबाट राजीनामा नदिने अडानमादा रहेका ओलीकै कारण असार १० देखि जारी नेकपा बैठक पटक पटक स्थगित हुँदै आएको छ ।

३. एसईईको नतिजा एक साता भित्रै
राष्ट्रिय परीक्षा बोर्डले यही साताभित्र आन्तरिक मूल्यांकनका आधारमा एसईईको नतिजा प्रकाशन गर्नेगरि तयारी अन्तिम चरणमा पुर्याएको छ । बोर्डले यसअघि साउन १५ भित्रै नतिजा प्रकाशित गर्ने जानकारी दिएपनि कोरोना संक्रमण र बाढीपहिरोका कारण नतिजा प्रकाशनमा ढिलाई भएको बताइएको छ । ७७ वटै जिल्लाबाट विद्यार्थीले प्राप्त गरेको अंकको विवरण प्राप्त भइसकेको र सिस्टम चढाउने काम भइरहेको छ । अंकलाई ग्रेडमा बदलेर रिजल्ट तयार भएपछि सार्वजनिक गर्ने बोर्डले जानकारी दिएको छ ।

केही जिल्लाको मात्रै रिजल्ट तयार पार्ने काम बाँकी रहेकोले साउन २१ भित्रै रिजल्ट प्रकाशन गर्ने लक्ष्य परिक्षा बोर्डले राखेको छ । यस पटक ४ लाख ८२ हजार परीक्षार्थीले एसईई दिएका छन् । नतिजा प्रकाशनमा कुनै त्रुटि, नतिजा स्थगित वा छुट भएमा सम्बन्धित विद्यालयको सिफारिससहित नतिजा प्रकाशन भएको मितिले ३५ दिनभित्र सम्बन्धित इकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । कोरोना महामारी बढ्दै गएको र परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै जेठ २८ गते एसईई परीक्षा रद्द गरिएको थियो ।

४.नेपाली बैङ्कहरुमा २ खर्ब तरलता
कोरोना महामारिका कारण नेपालका बैङ्कहरुमा २ खर्ब रुपैयाँ भन्दा धेरै पैसा थुप्रिएको छ । कोरोना भाइरस (कोभिड १९) का कारण गरिएको लकडाउन र यसले समग्र अर्थतन्त्रमा परेको असरका कारण बैङ्कहरुमा तरलता अधिक देखिएको हो । तरलता बढ्दा बैङ्किङ क्षेत्र समस्या आउने त्रासमा छ भने उद्योगी व्यवसायीहरु तरलता अझै सहज भएर बैङ्कको कर्जाको ब्याजदर ओर्लिनुपर्ने पक्षमा देखिन्छन् । केही वर्ष अघिसम्म तरलता अभाव झेलिरहेका बैङ्कहरु यतिबेला लगानी गर्न आतुर छन् । तर लगानी हुन नसकेर ठूलो रकम बैङ्कमा थुप्रिएको छ ।

अधिक तरलता भएपछि नेपाल राष्ट्र बैङ्कले रिभर्स रिपोमार्फत २० अर्ब रुपैयाँ खिचेको छ । सात दिनमा परिपक्व हुने गरी केन्द्रीय बैङ्कले रिभर्स रिपो जारी गर्न लागेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैङ्कले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्दछ । बजारमा तरलता अपुग भएको बेला राष्ट्र बैङ्कले रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ । बोलकबोलमा सहभागी बैङ्क तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आहृवान रकमसम्म बाँडफाँट गरिन्छ । रिभर्स रिपो भुक्तानी मितिमा निष्कासन मितिका दिन सफल बोलकर्ताको खाताबाट खर्च गरी लिएको रकम सोही खाता जम्मा गरी एकमुष्ट साँवा ब्याज रकम भुक्तानी गर्ने गरि तरलता खिचिएको हुन्छ ।

बैङ्कहरुले कहिले कर्जा दिन नपाएर समस्या झेल्नुपर्छ त कहिले भएको पैसा लगानी नभएर तनाव लिनुपर्छ । यसपाली बैङ्कलाई भएको पैसा ऋण लगाउन नपाएर समस्या भएको मात्रै छैन अधिक तरलताले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने देखिएको छ । तरलताकै कारण बैङ्कहरुले निक्षेपको व्याजदर घटाउदा बचतकर्ता प्रभावित हुने तथा कर्जाको व्याजदर घटेपनि लगानीयोग्य वातावरणको अभावमा अनुत्पादक क्षेत्रतर्फ लगानी प्रवाहित हुने डर रहन्छ । यता, व्यवसायीहरु भने बैङ्कमा तरलता बढेपछि उत्साहित देखिएका छन् ।

५.पर्यटकिय नगरी सौराहामा चहलपहल शुरु
चितवन राष्ट्रिय निकुञ्जको मुख्य प्रवेशद्वार सौराहाका होटल जुलाईको अन्तिम दिन अर्थात बिहीबारबाट खुलेसँगै चहलपहल शुरु भएको छ । होटलमा पर्यटक आउन शुरु गरेका छन् भने रेष्टुरेण्टमा ग्राहक देखिन थालेका छन् । होटल खुलेकै दिन केही विदेशी पर्यटक आएको तथा बुकिङ समेत हुन थालेको व्यवसायीहरु बताउँछन् । होटलको सरसफाइ, मर्मत सम्भारसँगै उच्च सावधानीका साथ पाहुनाको स्वागतमा व्यवसायीहरु जुटेका छन् ।

स्थानीय र आसपासका क्षेत्रबाट चार महिनापछि खुलेको सौराहा हेर्न पुग्नेहरु देखेर होटल तथा पर्यटन व्यवसायीहरु केही आशावादी देखिएका छन् । सौराहामा ११० होटल तथा सय हाराहारी रेस्टुरेन्ट सञ्चालनमा छन् । सौराहको होटल तथा रेन्टुरेन्टबाट प्रत्यक्षरूपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएपनि अहिले २५ प्रतिशत कर्मचारीलाई मात्रै काममा बोलाइएको छ । दशैँ र दशैँपछि हुने पर्यटकीय गतिविधिलाई लक्षित गरी होटल र रेस्टुरेन्ट खोलिएपनि पर्यटकहरु घुम्नका लागि लालाहित हुने चितवन राष्ट्रिय निकुञ्ज कहिले खुल्ने निश्चित नहुँदा सौराहाको पर्यटन सोचेजस्तो चलायमान हुन सकेको छैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ