Saturday, 6 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपालका प्रमुख पाँच खबर, पढौँ एकै ठाउँमा

नेपालका प्रमुख पाँच खबर, पढौँ एकै ठाउँमा


काठमाडौं । कोरोना कहर बढ्दैगर्दा पुनः लकडाउनको तयारी थालिएको छ । प्रहरी, स्वास्थ्यकर्मी हुँदै केही स्थानमा समुदायमा समेत कोरोना विस्तार हुँदा सत्तारुढ दल भने आन्तरिक किचलो मिलाउने वार्तामा अल्झिएको छ । सरकारी कार्यालयमा भीडभाड बढ्दा जोखिम थप बढेको छ । नेपालका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

बढ्दै कोरोना कहर
पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । पछिल्लो २४ घन्टामा ८ हजार ८६१ परीक्षण गरिएको छ । आइतबार पर्सामा ८१, धनुषा ३५, काठमाडौंमा २२, सुनसरी १२, मोरङ १६, महोत्तरी ५, चिवतन १, सर्लाही २, बझाङ २, डोटी १२, कैलाली १०, ललितपुर ८, बर्दिया १, दार्चुला १, गोरखा १,रौतहट २, सिन्धुली १, भक्तपुर १, कास्की ५, बागलुङ १, लमजुङ ३, स्याङ्जा ८, तनहुँ २, बर्दिया ९, नवलपरासीपूर्व ३, रुपन्देही १ जनामा कोरोना पुष्टि भएको छ ।

१११ जना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या १४ हजार ६०३ पुगेको छ । वीरगञ्जमा शनिवार थप २ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५७ पुगेको छ । अहिले काठमाडौंका नाकामा समेत कोरोना परीक्षण भइरहेको छ । सरकारले कोरोना महामारी समुदायमा फैलिएको वीरगञ्ज र जनकपुरमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । आइतबार मात्रै वीरगन्जमा ४५ जना स्थानियमा संक्रमण देखिएको थियो ।

प्रहरी मुख्यालय र ट्राफिक महाशाखा सिल
महानगरीय ट्राफिक प्रहरी महाशाखामा कार्यरत दुई प्रहरीमा कोरोना देखिएपछि महाशाखा बग्गीखाना पूर्णरुपमा सिल गरिएको छ । त्यहाँ कार्यरत एसएसपीदेखि ट्राफिक प्रहरी जवानसहित करिब ३ सय जना भन्दा बढीलाई क्वारेन्टाइनमा राखिएको छ । सेवाग्रहीदेखि अन्य प्रहरीलाई समेत महाशाखामा आवतजवात गर्न निषेध गरिएको छ । महाशाखाको ब्यारेकमा रहेका ट्राफिक प्रहरीलाई कोरोना देखिएको थियो । क्वारेन्टाइनमा रहेका प्रहरीको ट्रेसिङ गरेर पीसीआर परीक्षणको तयारी भइरहेको छ । उपत्यकाभित्र १ हजार ५ सय ४५ ट्राफिक प्रहरी कार्यरत रहेका छन् । जसमा ३ सयभन्दा बढी क्वारेन्टाइनमा भएपछि ट्रफिक व्यवस्थापनमा केही अहसज हुने देखिएको छ ।

पछिल्लो समय ड्युटीमा खटिएका प्रहरीमा कोरोना संक्रमणको दर बढेर गएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ । त्यस्तै, प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाको स्कटिङ्मा खटिने सवारीका चालकलाई पनि कोरोना देखिएको छ । २ सय ५० भन्दा धेरै प्रहरीमा कोरोना संक्रमण देखिएको छ । प्रदेश नम्बर १ को प्रहरी कार्यालय विराटनगरमा एकै पटक १९ जनामा संक्रमण देखिएको थियो । यस अघि नै प्रहरी प्रधान कार्यालय नक्साल सिल गरिएको छ ।

सरकारी कार्यालयमा भीडभाड
दैनिक कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकामा कुनैपनि बेला स्थिति भयावह हुने जोखिम देखिएको छ । कोरोनाबाट बच्न मास्क र सेनिटाइजरको नियमित प्रयोग र भौतिक दूरी कायम गर्न सरकारले आम जनतालाई बारम्बार आग्रह गरेपनि सरकारी निकायबाटै यसको चरम उल्लंघन भएको पाइएको छ ।

यातायात व्यवस्था कार्यालय, मालपोत लगायतका सरकारी कार्यालयमा सेवाग्राहीको भीडभाड, भौतिक दूरी कायम गर्नमा गरिएको बेवास्था र मास्क प्रयोग नगर्ने गरिहालेपनि चिउडोमा लगाएर गफिने आम प्रवृत्तिले कोरोनाको जोखिम बढाएको छ । अधिकांश सरकारी कार्यालयमा समेत सेनिटाइजर, पानी लगायतका कोरोना रोकथामका स्वास्थ्य पूर्वाधारको अभाव देखिएको छ ।

संवादमा नेकपाका अध्यक्ष द्धय
पार्टी विधि, विधान र पद्धत्तिबाट नचलेको, अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी रुपमा अघि बढ्न खोजेको भन्दै पार्टीका बहुमत सदस्यहरुले दुबै पदबाट राजीनामा मागेपछि उत्कर्षमा पुगेको नेकपाको विवाद अझै मिलेको छैन । अझ साउन १३ गतेका लागि बोलाइएको स्थायी समिति बैठक अध्यक्ष ओलीले एकतर्फी रुपमा स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षको बालुवाटारमै बसेको बहुमत सदस्यको बैठकले एकलौटी निर्णय अनुचित भन्ने निष्कर्ष निकालेपनि झनै संवादहिनताको अवस्था देखापर्यो ।

अन्तत: पाँच दिन लामो संवादहिनता तोडेर अगस्ट २ मा नेकपाका अध्यक्ष द्धय ओली र प्रचण्डले पुनः संवाद सुरु गरेका छन् । ५ दिनको मौनता तोड्दै अध्यक्ष द्धयले वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ समेतको सहभागितामा सुरुवात गरेको वार्तालाई निकास उन्मुख छलफल भनिएको छ । बैठकमा सहभागी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले झण्डै तीन घण्टा चलेको छलफलबाट एक अर्काका ससाना बिषयमा टिकाटिप्पणी नगर्ने र पार्टीलाई विधि, पद्धतीमा चलाउने बारेमा अध्यक्ष द्धय सहमति नजिक पुगेको जानकारी दिनुभयो ।

कोरोना संक्रमण बढ्दै गए पुनः लकडाउन
कोभिड १९ कोरोनाको संक्रमण पुनःबढ्दै गएपछि नेपाल सरकारले आवतजावतमा कडाइका साथै आवश्यक परेमा पुन लकडाउन गर्नेसम्मको तयारी गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिले काठमाडौं आउने सवारी साधनहरूको कडाइ गर्न निर्देशन दिइसकेको छ भने संक्रमित बढेर परिस्थिति गम्भिर बने पुनः लकडाउन गर्न सकिने जनाएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल हालसम्म लकडाउनको तयारी नभएपनि संक्रमित बढेर प्रतिकूल अवस्था भयो भने यो भन्दा कडा लकडाउनको सामना गर्नुपर्ने परिस्थिति आउनेतर्फ सचेत गराउनुभयो ।

वीरगञ्ज,जनकपुर विराटनगर लगायतका स्थानमा देखिएको घटनाले संवेदनशील बनाइरहेको भन्दै आवतजावत र क्वारेन्टिनमा स्वास्थ्य मापदण्ड र अनुशासन नअपनाउदा जोखिम थप बढ्ने भन्दै सकारकाले सबैलाई सचेत गराइरहेको छ । सरकारले बालवालिका र बृद्धबृद्धालाई सकभर घर बाहिर ननिस्किन अपिल समेत गरेको छ । उद्योग वाणिज्य तथा आपर्ति मन्त्री लेखराज भट्टले परिस्थिति अनुसार ठाउँ विशेषमा सिल गर्न सकिने भन्दै अहिले नै लकडाउन गर्ने बेला भने नभएको बताए । मानिसको आवतजावतमा भने कडाइ गर्ने निष्कर्षमा सिसिएमसी पुगेको छ । ससिएमसीका सचिव महेन्द्र गुरागाईंले स्यानिटाइजर,मास्क र सोसल डिस्टेन्सको प्रयोगलाई पालना गरेमा लकडाउन गर्न नपर्ने जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ