Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल बारेका प्रमुख पाँच खबर

नेपाल बारेका प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोना कहर जारी नै रहँदा बाढी पहिरोको प्रकोपले ठूलो जनधनको क्षती पुर्याएको छ । यही मौकामा ठगी गर्नेहरु पनि सल्बलाई रहेका छन् । १२ अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापी उपचार सुरु गर्ने तयारी भइरहँदा कर्मचारी सरुवा बढुवको खेल पनि चलिरहको छ । यस्ता छन नेपालका पछिल्ला प्रमुख पाँच खबर ।

बढ्दै कोरोनाको महामारी
पछिल्लो २४ घण्टामा ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा ४ सय १८ संक्रमित पहिचान भएका हुन् । संक्रमित मध्ये ५८ जनाको मृत्यु भएको छ भने १४ हजार ९६१ जनाले कोरोना जितेका छन् ।

विराटनगर महानगरपालिका वडा नम्बर ५ का ७७ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएपछि कोरोना पुष्टि भएसँगै मृतकको संख्या ५८ पुगेको हो । पर्सामा ७१, कैलालीमा ६७, सप्तरीका ५१, मोरङका ४६, काठमाडौंका ४३, महोत्तरीका ३१, धनुषाका ३०, कञ्चनपुरका १६, बाँके र कास्कीका ८र८ जना, भक्तपुर, झापा र सुनसरीमा ५र५ जना, बारा र अछाममा ४र४ जना, ललितपुरमा ३, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुम पश्चिममा २र२ जना तथा रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, बर्दिया र दाङमा १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

१२ वटा अस्पतालमा कोरोना संक्रमितको प्लाज्मा थेरापी उपचार
राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले कन्भलेसेन्ट प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्नेगरि १२ वटा अस्पताल तोकेको छ । नेपालमै पहिलो पटक प्लाज्मा थेरापीबाट उपचार सफल भएलगतै एनएचआरसीले देशभर यसलाई विस्तार गर्नभन्दै अस्पताल तोकेको हो । परिषद्का सदस्य सचिव प्रदीप ज्ञवालीले सम्भाव्य अवलोकन क्लिनिकल स्टडीका लागि नौ सरकारी र तीन निजी अस्पताल छनोट गरिएको जानकारी दिए ।

सरकारीतर्फ त्रिवि शिक्षण अस्पताल, पाटन, शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल, नेपालगञ्ज मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी, नारायणी र धुलिखेल अस्पताल छानिएका छन् । निजीतर्फ मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल कन्भलेसेन्ट प्लाज्माथेरापीबाट उपचारका लागि छनोट गरिएको छ । दाता र रिसिभर दुबैको स्वेच्छाले मात्र यो विधिबाट उपचार गरिनेछ । दाता कोरोना संक्रमण भएर निको भएको, पछिल्लो १४ दिनसम्म कुनै लक्षण नदेखिएको र रक्तदानसम्बन्धी नेपाल रेडक्रस सोसाइटीको मापदण्ड पूरा भएको हुनुपर्नेछ । अहिलेसम्म २५ दाताले प्लाज्मा दिन प्रतिवद्धता जनाएका छन् ।

ठगीको आरोपमा एक अमेरिकी नागरिक पक्राउ
काठमाडौंको क्षेत्रपाटीबाट ठगीको आरोपमा एकजना अमेरिकी नागरिक पक्राउ परेका छन् । अमेरिकामा संस्था दर्ता गरी विजनेस पार्टनर बनाउने आश्वासन दिएर १० लाख रुपैयाँ ठगी गरेको आरोपमा अमेरिकी नागरिक ६५ वर्षीय डेनियल ली मेक्गी प्रहरीबाट पक्राउ परेका हुन । मेक्गीले कोटेश्वरमा रहेको टुकनारायण श्रेष्ठको ‘एटलस सेक्युरेटि प्रालि’लाई अमेरिकामा दर्ता गरी पार्टनरसीप बनाउने आश्वासन दिएर ठगी गरेको पाइएको छ । सुजन थापा र सन्दीप कार्कीलाई समेत विजनेस भिषामा अमेरिका लैजान्छु भन्दै प्रति व्यक्ति ५ लाख रुपैयाँ ठग्ने प्रयास गरिरहेकै समयमा गेक्गी पक्राउ परेका हुन । उनी पर्यटक भिसामा नेपाल आएको पाइएको छ ।

सचिवमा बढुवा
सरकारले वरिष्ठ सहसचिव वीरबहादुर राईलाई सचिव (विशिष्ट श्रेणी)मा बढुवा गरेको छ । मन्त्रिपरिषद्ले बढुवा सिफारिस समितिले तीन नम्बरमा सिफारिस गरिएका राईलाई सचिव बनाएको हो । राई राष्ट्रिय योजना आयोगमा कार्यरत छन् । लोक सेवाआयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिले केही दिनअघि वरिष्ठ सहसचिवहरू चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र राईको नाम सिफारिस गरेको थियो ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
पोल्यान्ड पठाइदिन्छु भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने एक महिला पक्राउ परेकी छिन । महानगरीय अपराध महाशाखाले चितवनका विभिन्न व्यक्तिसँग पोल्यान्ड पठाइदिने भन्दै ठूलो रकम लिने चितवनकै ४० वर्षीय कमलाकुमारी थापालाई पक्राउ गरेको हो । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक ईश्वर कार्कीले लक्ष्मी देवकोटासमेतका व्यक्तिसँग ठूलो रकम लिएको उजुरीका आधारमा थापालाई पक्राउ गरिएको जानकारी दिए । चितवन प्रहरीको सहयोगमा पक्राउ गरिएकी थापालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ