Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर


काठमाडौं । कोरोना अपडेट, रोकथाम बारे भएका कदमसँगै उद्धार उडान तथा नियमित हवाइ उडानको तयारीसम्मका खबरले नेपालमा प्राथमिकता पाएका छन् । घुष लिनेदिनेमाथी अख्तियारले कारबाही जारी राख्दा पुन लकडाउनको चर्चा समेत चल्दै आएको छ । यस्ता छन् । नेपाल बारेका पछिल्ला प्रमुख पाँच खबर ।

बढी जनघनत्व भएका शहरमा उच्च जोखिम
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ सहित देशभर २ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६ सय ८७ नमुना परीक्षण गरिएको छ । उपत्यका भित्रिने साँगु, नागढुंगा र फर्पिङ नाकाबाट १० हजार ८ सय ५३ नमुना संकलन गरिएकोमा नागढुंगामा १६, साँगामा १३ र फर्पिङमा ११ जना गरी ४० जनामा कोरोना पोजेटिभ पाइएको छ ।

थपिएका संक्रमितमा काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेका छन् ।सर्लाहीका २६, मोरङका २३, कैलालीका २२, महोत्तरीमा १५, धनुषाका १३ जना, सुनसरीका १२, अछाम र बाँकेका ११, रुपन्देहीका ९, झापाका ८, सप्तरी र बाराका ७/७ जना, रौतहटका ६, गुल्मीका ५, सल्यानका ३, इलाम, सिरहा, कपिलवस्तु र कास्कीका २/२ जना तथा बझाङ, पर्सा, तनहुँ, चितवन, लमजुङ र पर्वतका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । अहिले देशभरी ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत छन् । हालसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन । पछिल्लो २४ घण्टामा ६५ जना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या १५ हजार २६ पुगेको छ । कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

उपत्यकामा स्वाब संकलन गर्ने अस्पताल बढाइयो
कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न सरकारले काठमाडौं उपत्यकाका १४ अस्पताल तोकेको छ । काठमाडौं उपत्यकाको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल, नेपाल प्रहरी अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताल स्वाब संकलन स्थलको रुपमा तोकिएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार शंकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरु, जोखिमयुक्त ठाउँबाट आएकाहरुले यी अस्पतालमा बिहान ९ देखि १ बजेसम्म गई स्वाब परीक्षण गराउन सक्नेछन् । यीबाहेक सरकारले तोकेका सबै हब अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुनेछ ।

अगस्ट ४ मा १२१५ नेपाली स्वदेश फर्किए
त्रिभुवन विमानस्थलमा मंगलबार १२ अन्तराष्ट्रिय उडान अवतरण भएका छन् । मंगलबार कुल १२१५ जना यात्रु काठमाडौं अवतरण हुँदा ५६ जना यात्रु विदेश उडेका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार मंगलबार हिमालय एयरलाइन्सले क्वालालाम्पुरबाट १५३ जना, दोहाबाट १५३ जनालाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले दोहाबाट १५१ जना, जापानको नारिताबाट ३ बच्चासहित २६४ जनालाई नेपाल ल्याएको छ । यो जहाजले १५४७ केजी कार्गोसमेत ल्याएको थियो । एयर अरेबियाले सारजहाबाट १६५, फ्लाई दुबईको जहाजले दुबईबाट १५६ र मालिन्दो एयरले क्वालालाम्पुरबाट १७६ जनालाई काठमाडौं ल्याएको छ ।

फ्लाई दुबई फर्कदा ५५ जनालाई बोकेर दुबई उडेको छ । यो जहाजले २४५ किलो कार्गो समेत नेपाल ल्याएको थियो । नेपाल एयरलाइन्सको एक जहाज दोहो र अर्को जहाज दुबई उडे । उता, हिमालयको एक जहाज दमाम र अर्को जहाज आवुधावी उडेका छन् । यी जहाज बुधबार फर्कने छन् । बुधबार १५ अन्तर्राष्ट्रिय उडान अवतरणको तालिका रहेको छ । मंगलबार विभिन्न गन्तब्यमा उडेका चार नेपाली जहाज बुधबार फर्कनेछन् । बुधबार हिमालय एयरलाइन्सको जहाज इराकको राजधानी बगदाद गएर फर्कनेछ । बुधबार फ्लाइ दुबईले दुबईबाट, एयर अरेबियाले सारजहाबाट, कतारले दोहाबाट, भुटान एयरलाइनसले पारोबाट काठमाडौं आउने गरी उडान अनुमति लिएका छन् । बुधबार हिमालय र नेपाल एयरलाइन्सका दुई दुई जहाज चार गन्तब्यका लागि उड्नेछन् । बुद्ध एयरको एक जहाज भारतको नयाँ दिल्ली जाने तालिका तय भएको छ । आन्तरिकमा भने मंगलबार कुल ९ उडान भएका छन् ।

कर छली रोक्ने अधिकारी नै घुषसहित पक्राउ
कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित पक्राउ परेका छन् । बुटवल–१२ नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट अख्तियारको फन्दामा परेका हुन् । व्यापारीसँग मासिकरुपमा घुस असुल्दै आएको भन्ने विशेष सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले स्टिङ अपरेसन गरेर कार्यालय प्रमुख राना र घुस दिने अनिलकुमार झालाई रंगेहात पक्राउ गरेको थियो । राना र झा दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको अख्तियारले जानकारी दिएको छ ।

पुनः लकडाउनको सुझाब
उपत्यकासहित देशभरि नै कोरोना भाइरसको संक्रमणदर बढ्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले जनस्वास्थ्य विज्ञ, राजनीतिकर्मी लगायतका सरोकारवालाहरुसँग मंगलबार छलफल गरे । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विज्ञहरुले दुई हप्ता कडा लकडाउन गर्नेदेखी, कर्फ्यू लगाउने, एरिया अनुसार जोनिङ गरेर निषेधाज्ञ गर्ने सम्मका सुझाब दिएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले १५ दिन कडा खालको लक डाउन गर्नुपर्ने सुझाव दिए । अर्का जनस्वास्थ्यविज्ञ डा. समिरमणि दीक्षितले लक डाउन गरेर कोरोना पूर्ण रुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा कडाई गर्नुपर्ने सुझाव दिएका थिए । डा. दिक्षितले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने उल्लेख गर्दै सबैका सल्लाह सुझाव अनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गरेका थिए । नेताहरु शेरबहादुर देउवा, महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष लगायत जनस्वास्थ्य विज्ञहरु सहभागी छलफल पछि प्रधानमन्त्री ओलीले सुझावहरु कार्यान्वयन प्रकृयामा लैजाने विश्वास व्यक्त गरे । छलफलमा प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर आगामी कदम चाल्ने जानकारी दिएका थिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ