Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन पछिल्ला प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन पछिल्ला प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोना कहर झन झन बढ्दो क्रममा देखिएको छ । उद्धार उडानको निरन्तरताका साथै भीसाको नयाँ नीति समेत अख्तियारी गरिदैछ । विद्युत सेवाको वर्तमान अवस्था र भदौँ एक देखि लामो दूरिको यातायात र हवाई उडान खुल्ने नखुल्ने बारे बिचार बिमर्स भइरहेका छन् । यस्ता छन नेपाल बारेका पछिल्ला प्रमुख पाँच खबर ।

कोरोना अपडेट
कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । पर्सामा दुई र काठमाडौंमा एक जनाको मृत्यु कोरोनाका कारण भएको पुष्टि भएसँगै कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । पछिल्लो दुई दिनमा मात्र ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा काठमाडौंमा ७६, पर्सामा ४२ जना, कपिवस्तुमा ३२ जना, मोरङ र धनुषामा २४ २४ जना, कैलालीमा २१ जना संक्रमित भेटिएका छन् । सुनसरीमा १९, इलाममा १५, बारामा १४, ललितपुरमा १०, सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्युठानमा ५, मकवानपुर, रुपन्देहीमा ४ ४ जना संक्रमित भेटिएका छन् । महोत्तरी, काभ्रे, दाङ, बझाङ र बाजुरामा ३ ३ जना, भोजपुर, सिरहा, रौतहट, कञ्चनपुर, डोटीमा २र२ जना, भक्तपुर, दोलखा, चितवन, नुवाकोट, रामेछाप, उदयपुर, गुल्मी, पर्वत, कास्की, दैलेख, सुर्खेत, जुम्ला, मुगु, बैतडीमा १ १ जना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ छ भने हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ ।

बिहिबार १४६६ जना स्वदेश फर्किए
बिहीबार विभिन्न मुलुकबाट एकैदिन १ हजार ४६६ जना नेपाली स्वदेश फर्किएको छन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहीबार एक दर्जन उडान अवतरण भएका छन् । बिहीबार हिमालय एयरलाइन्सले दमामबाट १५४ जना नेपालीलाई काठमाडौं ल्याएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५९ नेपाली, हिमालयले दोहाबाट १ सय ५७ जनालाई स्वदेश फर्काएको छ ।

नेपाल एयरलाइन्सले दमामबाट १ सय ४४ जनालाई काठमाडौं ल्याउदा मालिन्दो एयरले क्वालालाम्पुरबाट १७८ जनालाई काठमाडौं ल्याएको छ । एयर अरेवियाले सारजहाबाट १६८ नेपालीलाई घर फर्काएको छ । इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सले ७६ जना यात्रुलाई काठमाडौं अवतरण गराएको छ भने एयर अरेबियाको दोस्रो उडानबाट बिहीबार नै १ सय ६६ जना यात्रु नेपाल आइपुगेका छन् । बिहीबार नेपाल एयरलाइन्सका दुई जहाज दुबई र रियाद उड्नेछन् । यी जहाज शुक्रबार आउने छन् । शुक्रबार विभिन्न गन्तब्यमा कुल १४ उडान र अवतरणको तालीका छ ।

तत्काल अनअराइभल भिसा नदिइने
सरकारले भदौ एक गतेबाट व्यवसायिक हवाई उडान सुरु गर्ने भने पनि नेपाल आउन चाहने गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिइने भएको छ । अगस्ट ६ तारेख बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त बैठकले तत्काल अनअराइभल भिसा नदिने निर्णय गरेको हो । नेपाली तथा गैरआवासीय नेपाली र पर्यटकलाई कुन प्रोटोकलका आधारमा नेपाल आउन दिने भन्ने निर्णय भइसकेको छैन ।

शुक्रबार साँझसम्म गृह र स्वास्थ्य मन्त्रालयका सचिवले १ भदौबाट खुला गरेको हवाई उडान र यसको व्यवस्थापन गर्ने सम्बन्धमा परराष्ट्र र पर्यटन मन्त्रालयलाई मन्त्रालयको प्रस्ताव दिनेछन् । शनिबारसम्म उडान र प्रोटोकलको विषय टुंग्याउने गरी छलफल भइरहेको छ । उडान हुने आशमा टिकट काटिसकेका यात्रु, हवाई कम्पनी सञ्चालकको समस्या, मुलुकभित्र फैलिरहेको कोरोना भाइरसको संक्रमण, अर्थतन्त्रलाई चलायमन बनाउनुपर्ने चूनौतीलाई ध्यानमा राख्दै सेफटी प्रोटोकल बनाउने र निर्णय लिनेबारे बिहीबार सरोकारवाला चार मन्त्री र सचिवबीच छलफल भएको आधारमै प्रोटोकल बन्ने बताइएको छ ।

पुनः लोडसेडिङ 
नेपाल विद्युत् प्राधिकरणले शुक्रबार र शनिबार राजधानी काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ । प्राधिकरणका सूचना अधिकारी लीलाकुमारी अर्यालका अनुसार पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्नका लागि विद्युत् कटौती गर्न लागिएको हो ।

प्राधिरकणले शुक्रबार र शनिबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उक्त फिडरअन्तर्गतका बाग्डोल क्षेत्रमा विद्युत् कटोती हुने जनाएको छ । सानेपा चक्रपथ, खाद्य गोदाम, चाइनिज क्याम्प क्षेत्रलगायतका स्थानमा विद्युत् कटौती हुनेछ । प्राधिकरणले तोकिएको काम समयअगावै सम्पन्न भएको खण्डमा विद्युत् पुनःप्रवाह हुने जनाएको छ ।

भदौ १ को प्रतिक्षामा हवाई कम्पनी
सरकारले भदौ १ देखि लामो दुरीको सडक यातायात र हवाई उडान खुला गर्ने निर्णय गरेपनि पछिल्लो समय मुख्य सहरहरूमा बढ्दैगरेको कोरोना संक्रमण कायमै रहे प्रभावित हुने देखिएको छ । कतिपय सहरमा लकडाउन लागू समेत भएको छ । काठमाडौं उपत्यका सहित, वीरगंज, सप्तरी लगायतका जनघनत्व बढी भएको शहरहरुमा कोरोना संक्रमण थप विस्तार हुँदा हवाइ र सडक यातायात खोल्ने निर्णय लागू हुन्छ भन्नेमा आशंका उत्पन्न भएको छ ।

मन्त्रिपरिषदले गरेका निर्णयहरू सार्वजनिक कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले विगतका निर्णयहरु परिस्थिति अनुकुल नदेखिएका भन्दै आगामी सिसिएमसीको बैठकले समीक्षा गरेर मात्र थप निर्णय लिइने जानकारी दिए । लामो दूरिको सार्वजनिक यातायात खुला नगरिहालौं । बाह्य तथा आन्तरिक हवाइ सेवा पनि नखोलौं भन्ने सुझाब सरकारलाई आएको बताइएको छ । केही न्यूनतम आवश्यकताका कुरा गरेनौं भने आर्थिक रुपमा सास फेर्न सक्दैनौं भन्दै मन्त्री खतिवडाले अहिले बढेको जोखिमले उदार भएर उडान खोल्ने परिस्थिति बनिनसकेको जानकारी दिए ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ