Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन् प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन् प्रमुख पाँच खबर


काठमाडौं । समुदायमा कोरोना विस्तार हुँदै गरेको नेपालमा नीजि अस्पताललाई समेत आइसोलेसन सेन्टरका रुपमा प्रयोगमा ल्याउन थालिएको छ । होम आइसोलेसनको मापदण्ड तयार पारिएको छ । इनफ इज इनफ अभियन्ताले २२ दिनमा तोड्न लागेको अनसन र चौधरी ग्रपले बाढी पीडितलाई गरेको सहयोगले सञ्चारमाध्यममा प्राथमिकता पाएको छ । यस्ता छन्, नेपाल बारेका पछिल्ला प्रमुख पाँच खबर ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ३ सय ७८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको सख्ंया २२ हजार ५ सय ९२ पुगेको छ । संक्रमित मध्ये ७३ जनाको मृत्यु भएको छ भने १६ हजार ३ सय १३ जनाले कोरोना जितेका छन् । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा ७ हजार ७ सय ८८ नमुना परीक्षण गरिएको छ ।  काठमाडौंका ५६ जना, पर्साका ५५, बाँकेका ४९, मोरङका ३७, सर्लाहीका ३६, धनुषाका २०, महोत्तरीका १७, बाग्लुङका १३, सुनसरीका १०, काभ्रे, स्याङ्जा र बाराका ७/७ जना, मकवानपुरका ६ जना, रामेछापका ५, रौतहट, कञ्चनपुर र कैलालीका ४/४ जना, ललितपुर, भक्तपुर, कास्की, सुर्खेत, बझाङका ३/३ जना, चितवन, सिन्धुली, धादिङ र दोलखाका २/२ जना तथा नुवाकोट, म्याग्दी, रुकुम पश्चिम, बर्दिया र जाजरकोटका एकएक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यका सहित वीरगंज, विराटनगर, बाँकेको नेपालगञ्ज, सप्तरीको बजार क्षेत्र, सर्लाहीको बजार क्षेत्र तथा धनुषाको जनकपुर लगायतका भिडभाड हुने स्थानमा बढी जोखिम देखिएको छ ।

नेसनल मेडिकल कलेज अब कोभिड–१९ अस्पताल
कोरोना भाइरसको संक्रमण समुदामा विस्तार भएर उपचारमा समस्या भएसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र, पर्साले नेसनल मेडिकल कलेजलाई कोभिड–१९ अस्पताल बनाउने निर्णय गरेको छ । समितिको अगस्ट ८ शनिबार बसेको बैठकले वेड अभावमा प्रभावित हुनसक्ने उपचार सेवालाई मध्यनजर गर्दै नेसनललाई कोभिड अस्पताल बनाउन केन्द्रीय संकट व्यवस्थापन केन्द्र र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको हो । लक्ष्मण नभएका तथा सामान्य लक्षण भएका संक्रमितलाई राख्न सामुदायिक आइसोलेसन सेन्टर सञ्चालन गर्ने तथा निर्णय समेत केन्द्रले गरेको छ । सदरमुकाम बाहिर पनि संक्रमण फैलिएकाले जटिल लक्षण भएका संक्रमितलाई मात्र वीरगञ्ज ल्याउने र अरुलाई स्थानीय तहले सामुदायिक आइसोलेन सेन्टर स्थापना गरेर व्यवस्थापन गर्नेगरी तयारी थालिएको छ ।

तोकियो होम आइसोलेसनको मापदण्ड
सरकारले होम आइसोलेसनमा बस्न चाहने कोरोना संक्रमितका लागि मापदण्ड तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार होम आइसोलेसनमा संक्रमितले पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्ने, उपचार अवधिभरी आवश्यक पर्ने सामानहरु परिवारका सदस्यहरुसँग मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खानुपर्ने, आफूले प्रयोग गरेका भाँडाहरु सुरक्षित रुपमा सफा गरेर राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयाग गर्नुपर्ने, स्नानघर वा शौचालयको छुट्टै व्यवस्था मिलाउनुपर्ने, सामूहिक रुपमा शौचालयको प्रयोग गर्नुपर्ने अवस्थामा संक्रमितले राम्रोसँग प्रयोग गरेपछि राम्रोसँग डिसइन्फेक्सन गरेर मात्रै अरुले प्रयोग गर्नुपर्ने मापदण्ड तोकिएको छ ।

दाँत माझ्ने ब्रसलगायतका सामानहरु बेसिन बाहेक अन्य स्थानमा छुट्टै राखेर प्रयोग गर्ने, घरका ढोका, टेबल लगायत धेरै व्यक्तिले चलाउने सम्भावना रहेका सामानहरु समय समयमा डिसइन्फेक्सन गर्ने, भाँडा र कपडा धुँदा पञ्जा लगाएर धुने र राम्रोसँग सुकाएर मात्र प्रयोग गर्नुपर्ने मापदण्डमा उल्लेख छ । संक्रमितको हेरचाहमा रहने व्यक्तिले अनिवार्य मेडिकल मास्क प्रयोग गर्नुपर्ने र बढी जोखिममा रहने समूह (दीर्घरोगी, ६० वर्षमाथिको जेष्ठ नागरिक, गर्भवति र सुत्केरी महिला) लाई टाढा राख्नुपर्नेछ । दिनमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने र सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने, संक्रमितलाई कुनै पनि कठिनाइ भएमा, छाती दुखेमा, ओठ अनुहार निलो भएमा, होस हराएमा र अन्य जटिल अवस्था देखिएमा तत्काल स्वास्थ्यकर्मीलाई जानकारी गराउनेगरी मापदण्ड तयार पारिएको छ । स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीले दिनमा कम्तीमा दुई पटक संक्रमितको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएर सम्बन्धित निकायमा दिनु पर्नेछ । हरेक स्थानीय तहले ५० जना संक्रमितका लागि १ जना स्वास्थ्यकर्मीको व्यवस्था गर्नुपर्ने, स्वास्थ्यकर्मी वा नर्सले एक जना बिरामी हेरेबाफत दिनको २ सय रुपैयाँका दरले पारिश्रमिक पाउने व्यवस्था गरिएको छ ।

‘इनफ इज इनफ’ अभियन्ता ईः ले अनशन तोड्दै
अभियन्ता ईःले आइतबार अनशन तोड्ने भएका छन् । बिहान उनी उपचाररत मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा स्वास्थ्य मन्त्रालय र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापत्रमा हस्ताक्षर भएपछि अनशन तोड्न लागिएको हो । पहिला गरेको सम्झौता कार्यान्वयन हुन थालेको र प्रायः सबै मुख्य कुराहरु सम्बोधन भएका कारण स्वास्थ्य मन्त्रालयसँग पुनः सम्झौता गरेर अनशन तोड्न लागिएको ‘इनफ इज इनफ’ अभियन्ता आलोक सुवेदीले जानकारी दिए ।

स्वास्थ्य बिग्रिएपछि अनशनको १७ औं दिनमा ईः अस्पताल भर्ना भएका थिए । त्यसपछि उनले अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिएका छन । कोरोनाको सबल व्यवस्थापनको माग गर्दै ईः आमरण अनशन बसेको शनिबार २२ दिन पुगेको छ । कोभिड–१९ को प्रभावकारी व्यवस्थापनको माग गर्दै ईः दोस्रो पटक सत्याग्रहमा बसेका हुन् । पहिलो पटक उनी र पुकार बम पाटन दरबार स्क्वायरमा अनशन बसेको १२ औं दिन असार २२ गते सरकारसँग १२ बुदे सम्झौता भएपछि अनशन तोडिएको थियो । आरडिटी प्रयोग स्थगित गरेर पीसीआर परिक्षण बढाउनुपर्ने, खर्च पारदर्शी गर्नुपर्ने, लक्षण मिल्ने तथा जोखिममा रहेकाको पिसिआर परिक्षण लगायतका माग सम्बोधन नभएको भन्दै पुन बसन्तपुरमा अनशन सुरु गरिएको थियो ।

चौधरी ग्रुपको सहयोग
चौधरी ग्रुप अन्तर्गतको परोपकारी संस्था चौधरी फाउण्डेसनले सुदुरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्ला भजनी नगरपालिकाका बाढी पीडित ३०० घरपरिवारलाई राहत उपलब्ध गराएको छ । फाउण्डेसनले उक्त नगरपालिकाका विभिन्न वडाका बाढी प्रभावितहरुलाई ३ सय २५ कार्टुन वाइवाइ चाउचाउ, ३ सय ४० केजी वाइवाइ भुजिया आपत्कालीन खाद्य सहयोगका रुपमा हस्तान्तरण गरेको हो ।

आपत्कालीन खाद्य सामग्री हस्तान्तरण नगरपालिकासँगको समन्वयमा गएिको थियो । चौधरी फाउण्डेसनले आपत्कालीन राहत तथा सहयोगलाई निरन्तरता दिदै आएको छ । साउन १४ देखि १६ गतेसम्म परेको अविरल वर्षाका कारण कैलाली जिल्लामा १,६०० घरपरिवार प्रभावित भएका छन् । काँडानदीको बाढी बस्तीमा पसेपछि भजनी नगरपालिकामा सबैभन्दा ठूलो क्षति पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ