Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : एकै ठाउँमा पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : एकै ठाउँमा पढौँ प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चर्चासँगै महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

प्रधानन्यायाधीसको भुमिका नै संकास्पद–बार
नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको भूमिकाको कारण न्याय सम्पादन सन्तोषजनक हुन नसकेको ठहर गरेको छ । अगस्ट १० तारिख सोमबार नेपाल बार एशोसिएशनले पत्रकार सम्मेलन गरेर प्रधानन्यायाधीशले न्याय सम्पादनमा व्यवहारिक भूमिका निर्वाह गर्न नसकेको निष्कर्ष निकालेको हो । अध्यक्ष चण्डेश्वर श्रेष्ठद्धारा हस्ताक्षर गरिएको १७ बुँदे ध्यानाकर्षण पत्रमा प्रधानन्यायधिस झिना मसिना कुराहरुमा अल्झीरहनुले जनताले चाहेको खास कुराको समाधान हुन नसकेको बताइएको छ ।

बारले एक महिना भित्रै विद्युतीय स्वचालित प्रणाली मार्फत पेशी तोक्ने व्यवस्था गर्न, न्यायाधीश नियुक्तिको सम्बन्धमा न्याय परिषद् ऐन २०७३ को दफा ४ को व्यवस्था कार्यान्वयन गर्नसुझाव समेत दिएको छ । अदालतमा नियुक्त भएका केही न्यायाधीशहरुमा पदानुकुलको अनुभव तथा ज्ञानको अभाव रहेको गुनासो आएकाले त्यस्तालाई पहिचान गरी न्याय परिषदमा हाजिर गराई प्रशिक्षण, तालिम र अध्ययनको उचित व्यवस्था गर्न माग गरिएको छ । न्याय क्षेत्र भित्रका विसंगती, विकृति, बिचौलिया र भ्रष्टाचार नियन्त्रण गर्न बारको प्रतिनिधि सम्मिलित विशेष संयन्त्र गठन गर्न तथा वरिष्ठ अधिवक्ताको उपाधी आफुखुसी वितरण नगर्न बारले सचेत गराएको छ । न्यायाधीश र नेपाल बार एशोसिएशनको पदाधिकारीको सम्पत्ति पारदर्शी रुपमा छानविन गरि सार्वजनिक गर्ने व्यवस्था मिलाउन तथा अदालतमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको प्रवेश र प्रभावलाई नियन्त्रण गर्न माग गरिएको छ ।

भीडभाडसँगै कोरोनाको जोखिम
काठमाडौं सहित भीडभाड र व्यवसायिक चहलपहल भएका क्षेत्रहरुमा कोरोना कहर बढी देखिएको छ । सरकारले स्वास्थ्य मापदण्ड जारी गर्दै २५ जना भन्दा बढी एकठाउँमा भेला नहुन आदेश दिएपनि नागरिहरुले न भिडभाड गर्न नै छोडेका न सुरक्षाका उपाय अपनाउन नै ध्यान दिएको देखिन्छ । काठमाडौं उपत्यकामा सञ्चालित तरकारी पसल, कपडा पसल लगायतको बजार क्षेत्रसँगै सरकारी र नीजि कार्यालय जताततै भीडैभीड नै भीडभाड देखिएको छ । बैंक तथा वित्तिय संस्था समेत उपभोक्ताको भीडभाडले जोखिममा छन् ।

पछिल्लो २४ घण्टामा देशभरका ३३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१० संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ४३२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४० जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १६ हजार ४९३ पुगेको छ । काठमाडौं उपत्यका, बाँके, मकवानपुर, मोरङ, सुनसरी, बारा, पर्सा, रौतहट सर्लाही धनुषा लगायतका दर्जन बढी जिल्ला तथा तीनका शहरमा दिनहुँ कोरोना संक्रमित पहिचान हुँदा जोखिम बढिरहेको छ । अझ एकैदिन पाँच जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।

हवाई यातायातले गुमाए ६ अर्ब
कोरोना भाइरसको महामारी सुरु भएपछि चैत २०७६ यता हवाई यातायात नराम्रोसँग प्रभावित छ । उद्धार उडानका क्रममा कतिपय अन्तर्राष्ट्रिय उडान भएपनि यी उडानले व्यवसायिक मुनाफा दिन सकेका छैनन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार चैतदेखि असार २०७६ अर्थातः आर्थिक वर्ष २०७६र७७ मा मात्र वायुसेवा कम्पनीले ६ अर्ब रुपैयाँ बराबरको आम्दानी गुमाएका छन् । वायुसेवा कम्पनीको आम्दानी गुम्दा यसको असर प्राधिकरणमा समेत परेको छ । यो वर्ष अनुमान गरिएको भन्दा साढे ४ अर्ब रुपैयाँको नोक्सानी भइसकेको छ । नियमित आम्दानीतर्फ प्राधिकरणले यस आवमा ८ अर्ब ३३ करोड आम्दानीको प्रक्षेपण गरेको थियो । तर, प्रगति ५५ प्रतिशत हुँदा ४ अर्ब ६१ करोड रुपैयाँमात्र आय भएको छ ।

मूख्य पर्यटकीय सिजनमै उडान अवतरण बन्द भएपछि विमानस्थल शूल्कमार्फत १ अर्ब ३४ करोड मात्र आम्दानी भएको छ । समग्रमा प्राधिकरणको आम्दानी ४३ प्रतिशतले कम भएको पाइएको छ । प्राधिकरणको आम्दानी घट्दा नेपाल सरकारको स्रोतबाट सञ्चालनमा रहेका ठूला आयोजना प्रभावित नभएपनि आन्तरिकतर्फका विमानस्थलको काम भने प्रभावित हुने भएको छ । यसले विमानस्थलहरुको विकास र स्तरोन्नतिको काम प्रभावित हुने प्राधिकरणले जनाएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले समेत सन् २०२० मा एसिया प्रशान्त क्षेत्रमा ३८(७० प्रतिशतसम्म अन्तर्राष्ट्रिय र आन्तरिक उडानमा २८(५० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान गरेको छ । यो समस्याबाट नेपाल अझ बढी प्रभावित हुनेछ । सन् २०२० को पहिलो ६ महिनामा गत वर्षको पहिलो ६ महिनाको तुलनामा अन्तराष्ट्रियतर्फ ६१ प्रतिशतले यात्रु कम भएका छन् भने आन्तरिकमा ५५ प्रतिशतले यात्रु घटेका छन् । यस्तै अवस्था रहेमा सन् २०२० को बाँकी ६ महिना पुरा हुँदा ८० प्रतिशतसम्म हवाई यात्रु घट्ने अनुमान प्राधिकरणले गर्दै आएको छ ।

सुदुरपश्चिमको कैलाली र कञ्चनपुर जलमग्न
अविरल बर्षाका कारण सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जलमग्न भएको छ । धनगढीका केही भागमा डुबान समेत भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को बिशालनगर, चटकपुर, बोराडाँडी लगायतका क्षेत्रमा डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता प्रहरी निरिक्षक हिक्मत थापाले जानकारी दिनुभयो । लगातार पानी परिरहेको भएपनि ठूलो पानी नपरेकाले धेरै क्षती पुगेको छैन ।

जल तथा मौसम विज्ञान विभागले भने तीन दिनसम्म सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान सहित सर्तक रहन आग्रह गरेको छ । बुधबारसम्म प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी तथा तटिय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले सबैमा अनुरोध गरेको हो ।

विश्वकप छनौटको प्रशिक्षणपूर्व कोरोना जाँच
राष्ट्रिय फुटबल टोलीका खेलाडी, अफिसियल तथा स्टाफको कोरोना परीक्षण थालिएको छ । एन्फाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारीका लागि प्रशिक्षण थाल्नुअघि खेलाडी तथा स्टाफको कोरोना परिक्षण गरेको हो । अगस्ट १० र ११ तारिखमा सबै खेलाडी, अफिसियल र स्टाफको कोरोना परीक्षण हुनेछ ।

परीक्षणका लागि एन्फाले केहि दिनअघिबाटै सबै खेलाडी तथा कर्मचारीलाई आईसोलनेशमा राखेको छ । कोरोना परीक्षणपछि उनीहरुले एन्फाको होस्टलमा बसेर क्वारेन्टिन प्रशिक्षण सुरु गर्नेछन् । घरेलु मैदानमा हुने विश्वकप छनोटको तीन खेलका लागि एन्फाले भदौ १ गतेबाट प्रशिक्षण थाल्ने जनाएको छ । नेपालले घरेलु मैदानमा अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्दैछ । सरकारले समेत अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गर्न अनुमति प्रदान गरेसँगै एन्फाले खेलाडीको प्रशिक्षण कार्यक्रमलाई अघि बढाउनने भएको हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ