Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : २ मिनेटमै पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : २ मिनेटमै पढौँ प्रमुख पाँच खबर


काठमाडौं । कोरोना संक्रमण बढ्दै  गरेको नेपालमा पछिल्लो २४ घण्टामा अपडेट भएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा काठमाडौं उपत्यकामा १ सय ६८ सहित देशभर एकै दिन ५ सय ८१ जनामा कोरोना पुष्टि भएको हो । कोरोना संक्रमण निको भएर पछिल्लो २४ घण्टामा १ सय ५९ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १७ हजार ४ सय ९५ पुगेको छ ।

काठमाडौंका १३९ जना, ललितपुरका १५, भक्तपुरका १४, पर्साका ७७ जना, बाराका ५९, मोरङका ४०, रुपन्देहीका ३२, सुनसरीका ३१, प्युठानका २८, बाँकेका २४, सर्लाहीका १७, कैलालीका १६, कास्कीका १५, कञ्चनपुरका १२, रौतहटका ११, झापाका ८ जना, सिन्धुपाल्चोकका ५, काभ्रे, स्याङ्जा, मकवानपुर र धादिङका ४/४ जना, धनुषा र जुम्लाका ३/३ जना, महोत्तरी, नवलपुर, कपिलवस्तु, तनहुँ र दाङका २/२ तथा सल्यान, सप्तरी, डडेलधुरा, दैलेख, सुर्खेत, अर्घाखाँची, चितवन र नुवाकोटका १/१ जनामा संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ९९ रहेको छ । आइसीयुमा १ सय १३ जना उपचाररत छन । बागमती प्रदेशमा ६ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् । अहिलेसम्म कोरोना संक्रमणका कारण १०८ जनाको मृत्यु भएको छ ।

बिहे गर्ने भनी ठगी गर्ने विदेशी नागरिक पक्राउ
सामाजिक सञ्जालमा एक महिलालाई आफू लण्डनको बुपा क्यामवाल अस्पतालको डाक्टर रहेको र नेपाल आएपछि बिहे गर्ने भनी ४८ लाख ५४ हजार ४२० ठगी गर्ने रिपब्लिका दि एङ्गोलाका ४८ वर्षीय सिल्भा एन्टोनियो दा कोस्टा पक्राउ परेका छन् । प्रहरीको महानगरीय अपराध महाशाखाले पक्राउ गरेका विदेशी नागरिक कोस्टाले एक महिलालाई नयाँ वर्षको अवसरमा हिराको औँठी, घडी, सुनको सिक्री र नगद दुई लाख ३० हजार पाउण्ड पठाएको र सामानको भन्सार तथा एक्सचेञ्ज चार्ज बुझाउन प¥यो भनी ठगी गरेका थिए । भन्सार छुटाउनका लागि भन्दै पीडित महिलासँग थप २० लाख मागेपछि प्रहरीले पक्राउ गरेका उनले सोहीदिन अर्की युवतीबाट पनि ३७ हजार ठगी गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ परेकै दिन प्रहरीले कोष्टाको ठमेलस्थित कोठामा समेत खानतलासी गरेको छ । खानतलासीका क्रममा कोष्टाको कोठाबाट नक्कली नोट बनाउन प्रयोग हुने केमिकल र कागजसमेत बरामद भएको छ । पक्राउ व्यक्ति विसं २०७६ फागुनमा नेपाल आएको खुलेको छ । पक्राउ व्यक्तिसँग प्रहरीले नेपाली तीन लाख १५ हजार ७४५, अमेरिकन डलर ९००, एटिएम कार्ड, ल्यापट एक थान, नक्कली नेपाली एक हजारका नोट तीन थान, नोट आकारको कालो कागजको बण्डल, ए फोर पेपरलगायतका सामग्री बरामद गरेको छ । जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान तथा कारवाही अघि बढाइएको छ ।

एसईईको नतिजा सार्वजनिक
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनको नतिजा सार्वजनिक गरेको छ । सोमबारको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशन गरिएको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । परीक्षाका लागि ४ लाख ८२ हजार ९ सय ८६ विद्यार्थीले फारम भरे आन्तरिक मूल्यांकनका आधारमा ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ । एसईईको नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन छ । फारम भरेका मध्ये १० हजार ९ सय ८ विद्यार्थीको नियमानुसार हाजिरी नपुगेको, फाराम भर्दा त्रुटि भएको र नियम पूरा नगरी अयोग्य भएकाले नतिजा आएको छैन् । विद्यार्थीलाई पुर्नयोग गराउने, उत्तरपुस्तिका हेर्ने, पुनः परीक्षण गराउने र पुरक ग्रेडवृद्धि परीक्षा सञ्चालनसम्बन्धी कार्य भने यो वर्ष नहुने भएको छ । बोर्डले व्यक्तिगत विवरणमा त्रुटि भएकाको हकमा भने ३५ दिन भित्र जिल्लास्थित शिक्षा तथा समन्वय एकाइमा निवेदन दिनुपर्ने व्यवस्था गरेको छ ।

पुनर्कर्जाको आवेदन आह्वान
नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित उद्योग व्यवसायका लागि प्रदान गर्ने पुनर्कर्जा प्रदान गर्न बैंक तथा वित्तीय संस्थाहरुसँग प्रस्ताव मागेको छ । राष्ट्र बैंकले एक सूचना जारी गर्दै वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुलाई एकमुस्ट रूपमा प्रदान हुने पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको हो । राष्ट्र बैंकले यसअघि नै “नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७” लागू गरिसकेको छ । बैंक तथा वित्तीय संस्थाहरुले भदौ १ गतेदेखि आगामी असोज १४ गतेसम्म आवेदन बुझाइसक्नुपर्नेछ । राष्ट्र बैंकबाट प्राप्त हुने पुनर्कर्जा कोभिड–१९ बाट अति प्रभावित तथा मध्यम प्रभावित क्षेत्रहरुमा प्रवाहित कर्जाका रुपमा उपलब्ध हुनेछ । बैंक तथा वित्तीय संस्थाले प्रदान गरेको असल कर्जाको धितोमा राष्ट्र बैंकले ऋण उपलब्ध गराउने छ । राष्ट्र बैंकले प्रति ग्राहक १५ लाखसम्मको लघु, घरेलु तथा साना उद्यमको पुनर्कर्जा, ५ करोड रुपैयाँसम्मका विशेष र साधारण पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाहरुलाई उपलब्ध गराउनेछ । पुनर्कर्जाको ब्याजदर ३ देखी ५ प्रतिशतसम्म तोकिएको छ ।

पाँच महिनामा ५ लाख लाईसेन्स छपाई
वर्षौदेखि समस्या बनेको स्मार्ट कार्ड छपाईको काम शुन्यमा झारिएको छ । लकडाउनको समयमा र त्यसपछि समेत २४ सै घण्टा मास मेसिन मार्फत छपाई गरेर यातायात व्यवस्था विभागले छाप्न बाँकी रहेका करिब ५ लाख सवारी चालक अनुति पत्र लाइसेन्स छपाईको काम पुरा गरेको हो । विभागका महानिर्देशक गोगनबहादुर हमालले २४ सै घन्टा चार सिप्टमा कर्मचारिहरुको ब्यवस्थापन गरेर स्मार्ट कार्डको छपाईलाई शुन्यमा झारेको जानकारी दिए । कोरोना महामारीका कारण सिंगो देश लकडाउन हुँदा र त्यसपछिको समयमा समेत विभागले आम उपभोक्ताको लाईसेन्स प्रतिक्षा पुर गर्नेगरी दिनरात नभनेर काम गरेको छ–हमालले भने । लाईसेन्स छपाई सकेको विभाग कार्यालय खुलेपछि सबैको हातहातमा लाइसेन्स पुर्याउने गरि देशैभर रहेका यातायात कार्यलयहरुमा पठाउनका लागि प्याकीङमा जुटेको छ । सेवाग्राहीले नाम, ठेगाना लगायतका ब्यक्तीगत विवरण भर्दा गल्ती गरेका करिब १५ हजार लाईसेन्स भने प्रकियामा रहेका छन ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ