Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : दुई मिनेटमा पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : दुई मिनेटमा पढौँ प्रमुख पाँच खबर


काठमाडौं । यस्ता छन्, पछिल्लो २४ घण्टाका नेपालका प्रमुख पाँच खबर ।

कोरोना अपडेट
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मंगलबार एकैदिन ८ जनाले ज्यान गुमाएका छन् । मोरङ, काभ्रे कास्की, तनहुँ, चितवन, नवलपरासी बाँके, बर्दियामा एकएक जनाको मृत्यु भएको हो । एकै दिन रेकर्ड बनाउँदै १०१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । १७ हजार ५८० जनाले कोरोना जित्दा १० हजार ५६३ जना उपचाररत छन् । ११८ जना आईसीयूमा छन् भने ६ जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

काठमाडौंका १३८, ललितपुरका ५० र भक्तपुरका १७ सँगै पर्सामा १२८ जना, मोरङमा १०८, सर्लाहीमा १०७, धनुषामा ६४, चितवनमा ४९, डोटीमा ४६, बारामा ४२, रौतहटमा ३७, मकवानपुरमा ३०, महोत्तरीमा २४, झापा र काभ्रेमा २१र२१ जना, कपिवलस्तुमा १९, सिराहा र कास्कीमा १६र१६ जना, रुपन्देहीमा १४, बर्दियाका ९ जना, सुनसरीका ८, बाँकेका ६, दैलेखका ५, नवलपुरका ४, संखुवासभा, सप्तरी, सिन्धुपाल्चोक र बाग्लुङका ३र३ जना, उदयपुर, धादिङ, दोलखा, गोरखा, तनहुँ र दार्चुलाका २र२ जना तथा खोटाङ, ओखलढुंगा, पाँचथर, सिन्धुली, लमजुङ, स्याङ्जा, दाङ, नवलपरासी, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, कैलाली र कञ्चनपुरका १र१ जनामा संक्रमण पुष्टि भएको छ ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन
१०१ वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौैं लाजिम्पाटस्थित आफ्नै घरमा घिमिरेको निधन भएको हो । विं सं. १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रुपमा चर्चित हुनुहुन्थ्यो । रामविलास (रचना १९९५) बाट खण्डकाव्यको यात्रा सुरु गरेका कवि घिमिरेको २०१५ मा प्रकाशित गौरी खण्डकाव्य सबैभन्दा चर्चित छ । घिमिरेद्वारा लिखित ऋतम्भरा महाकाव्य उनको अपूर्ण कृति हो । शकुन्तला (२०३३), हिमालवारि हिमालपारि (२०५४) जस्ता गीतिनाटकहरू घिमिरेलाई जीवन्त राख्ने साहित्यिक रचनाहरू हुन् । २०६० साल असोज ७ गते तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले छन्द शिरोमणिको उपाधिबाट अभिनन्दन गरेका उनले दिनपछि राष्ट्रकविको रूपमा अभिनन्दन गरिएको थियो ।

काठमाडौं उपत्यकामै निषेधाज्ञा
काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लगाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको अगस्ट १८ मंगलबार बसेको संयुक्त बैठकले भदौ ३ गते राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यो अवधिमा औषधि, खाद्यबस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेस्म्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आवागमन गर्न सक्नेछन् । यो अवधिमा होटल, रेष्टुरेन्ट, फुटपाथ पसल बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनमत कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिन पाउनेछन् ।

जोखिमयुक्त बस्ती सार्ने तयारी
सरकारले देशभरका जोखिमयुक्त बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्ने निर्णय गरेको छ । सोमबार बेलुका बसेको मन्त्रिपरिषद् बैठकले जोखिममा रहेका बस्तीलाई शहरी विकास मन्त्रालय र पुननिर्माण प्राधिकरणको सहयोगमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । देशभर चार सयभन्दा बढी बस्ती तत्काल सार्नुपर्ने अवस्थामा छन् । सरकारले सिन्धुपाल्चोकको लिदीमा स्थानीयको आग्रहअनुसार वस्ती बेलैमा नसारिदिँदा पहिरोमा पुरिएर ३८ जनाले ज्यान गुमाउनु परेको थियो । गृह मन्त्रालयले समेत बस्ती सार्न भुमिका खेल्नुपर्ने बताउन थालेको छ ।

नेपाल वायुसेवाका ४ पाइलटको विदाई
नेपाल वायुसेवा निगमले चिनियाँ जहाज नउडाउने भएसँगै आफ्ना ४ जना पाइलटलाई विदाइ गरेको छ । निगम बोर्डले साउन १५ देखि चिनियाँ ६ वटै जहाज सञ्चालन नगर्ने निर्णय गरेको थियो । योसँगै निगमले एमए–६० जहाजका पाइलट सतीश विक्रम शाह तथा राजेन्द्रमान शाक्य र वाई १२ईका पाइलट फिजोनाथ नेपाली तथा सुरज उपाध्याय लुइँटेललाई विदाई गरेको हो । निगमका निर्देशक दीपु ज्वारचनले चिनियाँ जहाजलाई व्यावसायिक उडान नगर्ने निणर्यपश्चात् करारमा कार्यरत पाइलटलाई विदाइ गरिएको बताउनुभयो । निगमले साउनदेखि नै उनीहरुको करार नवीकरण गरेको थिएन।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ