Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर


काठमाडौं । कोरोनाको संक्रमण र मृत्युदर तिव्र देखिएसँगै देशका आधाभन्दा बढी जिल्लामा निशेधाज्ञा जारी गरिएको छ । आन्तरिक मुल्यांकनको एसईई नतिजाबाट करिब २६ हजारले कक्षा ११ पढ्न नपाउने भएका छन् । यीसँगै नेपालका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।
कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७९ जनाको पीसीआर परीक्षण गर्दा ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २ सय ५० जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

शुक्रबार सबैभन्दा धेरै काठमाडौंमा १४२ जना सहित कैलालीमा ८५ जना, पर्सामा ८०, जुम्लामा ५३ जना, मोरङमा ४५, बारामा ४०, अछाममा ३८, डोटीमा ३४, मकवानपुरमा ३२, सुनसरीमा २९ जना, ललितपुरमा २५, सर्लाही २४, चितवनमा २३, बाँकेमा २० जना, नवलपरासी पूर्वमा १९, रुपन्देही १७, सिरहा १६, भक्तपुरमा १५, कञ्चनपुरमा १४ जना, रौतहटमा ११, सिन्धुलीमा ८, झापामा ७, बर्दिया र प्युठानमा ६र६ जना, सप्तरीमा ५ जना, इलाम र दाङमा ४/४ जना, धनुषा, बागलुङ, रुकुम पश्चिम र बैतडीमा ३/३ जना रहेका छन् । उदयपुर, नुवाकोट, मनाङ, कपिलवस्तु र डडेल्धुरामा २/२ जना र ताप्लेजुङ, पाँचथर, पर्वत, कास्की, स्याङ्जा, गुल्मी, अर्घाखाँची, पाल्पा, रोल्पा, रसुवा, दोलखा, धादिङ, कालीकोट, दैलेखमा १/१ जना संक्रमित थपिएका छन् ।

सक्रिय संक्रमित १२ हजार १३२ मध्ये १३३ जनाको आईसीयूमा र १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । ३ हजार ५८६ जना होम आइसोलेसनमा छन भने बाँकी लक्षण सहितका संक्रमितको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । शुक्रबार १२ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ सय ३८ पुगेको छ ।

निषेधाज्ञामा समेत बैंक र रेमिट्यान्स सेवा 
उपत्यकामा जारी निषेधाज्ञाको समयमा समेत रेमिट्यान्स कम्पनीहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकले विदेशमा कार्यरत नेपालीले पठाएको रेमिट्यान्स भुक्तानी नहुँदा घरव्यवहार चलाउन समस्या हुने भन्दै कम्पनीहरुलाई सेवा सूचारु राख्न निर्देशन दिएको हो । राष्ट्र बैंकले शुक्रबार रेमिट्यान्स कम्पनीहरुलाई परिपत्र गर्दै सुरक्षा सम्बन्धी सवै मापदण्ड पालना गरेर सेवा सुचारु राख्न भनेको छ । न्युनतम कर्मचारी मात्रै कार्यालयमा बोलाएर सेवादिन भनिएको छ । निषेधाज्ञाको समयमा पनि रेमिट्यान्सको कारोबार भइराख्ने भएकाले कम्पनिहरु समेत सेवा सुचारु राख्न सहमत भएका छन् ।

यता, काठमाडौं उपत्यका सहित देशैभर बैंकका शाखा कार्यालयहरु पनि खुला छन् । बिहीबार कार्यालय हिडेका बैंकका कर्मचारीहरुलाई प्रहरीले बाटैमा रोकिदिएपछि सेवा नदिने बताएको बैंकर्स संघले हरेक जिल्लामा एक बैंको एउटा शाखा खोलेर सेवा दिने निर्णय गरेको छ । प्रधान कार्यालयसहित उपत्यकामा भने एक बैंक बराबर ४ वटासम्म शाखा कार्यालयहरुमात्रै सञ्चालन गर्न छुट दिइएको छ । गृह मन्त्रालयले सहजीकरण गरिदिए पछि शुक्रबार सबै बैंकले सेवा दिएका थिए ।

प्राकृतिक विपद्धबाट २८९ को मृत्यु
नेपालमा वैशाखयता मात्रै पहिरो बाढी र चट्याङमा परेर २ सय ८९ जनाले ज्यान गुमाएका छन् । वैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या २२३ पुगेको छ भने बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन् । पहिरोपछि सबैभन्दा ठूलो जोखिम चट्याङको देखिएको छ । चट्याङबाट ५२ जनाले ज्यान गुमाएका छन् । यसअवधिमा पहिरोमा पररे १८५ जना र चट्याङबाट मात्रै १६५ जना घाइते भएका छन् । नेपालमा चट्याङबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या अत्यधिक देखिएको छ । गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण ताथ व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गतेसम्म २१७ जना चट्याङबाट पीडित बनेका छन् ।

एसईईको नतिजामा प्रश्नै प्रश्न
माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नौ हजार भन्दा बढी विद्यार्थीको औसत ग्रेड प्वाइन्ट(जीपीए) ४ आएपछि विद्यालयको आन्तरिक मूल्यांकनको विश्वसनीयतामाथि शिक्षाविदहरुले प्रश्न उठाएका छन् । उनीहरुले क्षमता र योग्यताका आधारमा नभई निकटताका आधारमा समेत केही विद्यार्थीहरुलाई उच्च अंक दिइएको आँकलन गरेका छन् । अर्कोतर्फ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा साउन २८ मा बसेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले एसईईमा अंग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ नल्याउने विद्यार्थीलाई कक्षा ११ मा भर्ना गर्न नदिने निर्णय गरेको थियो । यही निर्णयका आधारमा राष्ट्रिय परीक्षा बोर्डले गत सोमबार ४ लाख ७२ हजार ७२ विद्यार्थीको नतिजा सार्वजनिक गर्दा करिब २६ हजारले कक्षा ११ मा भर्ना नपाउने देखिएको छ ।

कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित पढ्नका लागि भने जीपीए १.६ सँगै अंग्रेजी, गणित र विज्ञानमा ‘सी प्लस’ ल्याउनुपर्छ । २०७२ सालमा ग्रेडिङ प्रणालीमा गएपछि कुनै पनि विद्यार्थीको लब्धांकपत्रमा ‘अनुत्तीर्ण’ लेखिदैन । विद्यार्थीमा परिक्षाफलकै कारण मानसिक तनावको अवस्था सिर्जना नहोस भनेर ग्रेडिङ प्रणाली लागू गरिएपनि परिषद्ले न्यूनतम मापदण्ड तोकेर केही विद्यार्थीलाई अनुत्तीर्ण गराएको शिक्षाविद् मनप्रसाद वाग्लेको आरोप छ । यो वर्ष विद्यालयकै आन्तरिक मुल्यांकनका आधारमा परीक्षाफल प्रकाशित गरिएकाले पुरक ग्रेडबृद्धि परीक्षाको अवसर दिइएको छैन । पाठ्यक्रम विकास परिषद्को निर्णयले हजारौं विद्यार्थीको भविष्य अन्यौलमा परेको भन्दै शिक्षाविद्हरुले बिचमा आएर गुणस्तर बृद्धीका नाममा ल्याइएको नियम तुरुन्त फिर्ता गर्न माग गरेका छन् ।

६३ स्थानीय तहले अझै ल्याउन सकेनन बजेट
देशभरका ६३ स्थानीय तहले अझै चालु आर्थिक वर्ष २०७७र७८ को बजेट ल्याएका छैनन । बजेट ल्याउने स्थानीय तहको संख्या भने ६९० पुगेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शुक्रबारसम्मको तथ्यांकअनुसार धेरैजसो प्रदेश नं २ का स्थानीयल तहले वजेट ल्याएका छैनन । यहाँ कुल १३६ स्थानीय तह रहेका छन् । प्रदेश २ का ९६ वटा स्थानीय तहले मात्र बजेट ल्याएका छन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार स्थानीय सरकारले १० असारमा बजेट ल्याउनुपर्छ । बजेट असार मसान्तसम्म पास गरिसक्नुपर्ने कानुनी व्यवस्था छ । व्यवस्थापिकाबाट पास नभएसम्म बजेट कार्यान्वयन गर्न पाइदैन । तर, बजेट पास नभएको अवस्थामा वा ल्याउन नसकेको अवस्थामा अनिवार्य दायित्वमा मात्र खर्च गर्ने गरी कार्यपालिकाले बजेट चलाउन सक्छ । यसरी खर्च गरेको बजेट व्यवस्थापिकाबाट पास गराउनै पर्ने वाध्यकारी व्यवस्था भएपनि केही स्थानीय तहले वेवास्था गरेको पाइएको छ । यसरी बजेट ल्याउन नसक्दा स्थानीय सरकारको प्राथमिकता अनुसार विकास निर्माण र पूँजीगत काम प्रभावित भएका छन् । तलव भत्ता मात्र खाएर स्थानीय सरकार संचालन हुने अवस्था आएपनि स्थानीय सरकारहरु स्वायत्त भएका कारण बजेट समयमै नल्यादा केन्द्रले कानूनी रुपमा कारवाही गर्न सक्दैन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ