Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न सयौँ समाचार बने । ती सयौँ समाचारमा प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ८१८ जनामा कोरोना भाइरस कोभिड–१९ को संक्रमण पुष्टि भएसँगै नेपालमा कुल संक्रमितको संख्या ३१ हजार ३१ हजार ९३५ पुगेको छ । यी मध्ये १४९ जनाको मृत्यु भएको छ भने १८ हजार ६३१ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २८१ जना विभिन्न आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, भक्तपुरमा २८, ललितपुरमा १२ जना, पर्सामा १३९ जना, सर्लाहीका ९१ जना, धनुषाका ६०, मोरङका ५०, बाराका ३९, महोत्तरीका ३४, नवलपरासीका ३०, रुपन्देहीका २८, काभ्रेका २७, अछामका २३, सिराहाका १४, अर्घाखाँचीका १२, कपिलवस्तु र बाँकेका ११/११ जना र झापाका १० जना, सुनसरी र रौतहटका ९/९ जना, दोलखा, नवलपुर र रुकुम पश्चिमका ६/६ जना, कास्कीका ५, सप्तरी र बैतडीका ४/४ जना, बझाङका ३, रामेछाप, गोरखा, पाल्पा, प्युठान, बर्दिया, जुम्ला र डडेलधुराका २/२ जना र धादिङ, मकवानपुर, रसुवा, सिन्धुली, रुकुम पूर्व, रोल्पा र दार्चुलाका १/१ जनामा संक्रमण पुष्टि भएको हो । हाल १३ हजार १५५ सक्रिय संक्रमित रहेकोमा १३७ जना आईसीयूमा छन् भने १० जनाको भेल्टिलेटरमा उपचार भइरहेको छ ।

देशका करिब आधा जिल्लामा निषेधाज्ञा
लकडाउन अन्त्य भएसँगै बढेको कोरोना संक्रमण रोक्न ३५ जिल्लाका प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गरेका छन् । निश्चित क्षेत्रमा मात्र संक्रमण देखिएका १२ जिल्लामा आंशिक निषेधाज्ञा लागू गरिएको छ । गृह मन्त्रालयका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गरेका हुन् । स्थानीय प्रशासन ऐन, २०२८ र मन्त्रिपरिषदको निर्णय बमोजिम संक्रमण बढी देखिएको स्थानमा सीडीओहरुले निषेधाज्ञाको आदेश जारी गर्नसक्नेछन् ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आइतबारसम्म सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पूर्ण रुपमा निषेधाज्ञा गरिएको छ । नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोटमा केही केही स्थान मात्रै जोखिममा रहेको आंशिक निषेधाज्ञा गरिएको छ ।

महामारी नियन्त्रणका लागि भन्दै कपिलवस्तु र नुवाकोटले जिल्ला प्रशासन कार्यालयबाट हुने सबै सेवा बन्द गरेका छन् । निषेधाज्ञा लागू गरिएका क्षेत्रमा सर्वसाधारणलाई हिँडडुलमा रोक लगाइएको छ भने अत्यावश्यक सेवालाई सूचारु गर्न छुट दिइएको छ । काठमाडौं उपत्यकामा भने खाद्यान्न तथा तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न निर्देशन दिइएको छ ।

स्वास्थ्यकर्मीमाथी दुब्र्यवहार गर्नेलाई कारबाहीको निर्देशन
गृह मन्त्रालयले कोरोना भाइरसको महामारीविरुद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीविरुद्ध दुर्व्यवहार नगर्न आग्रह गर्दै यस्ता गतिबिधिमा संलग्नमाथी कारबाही गर्न निर्देशन दिइएको छ । पछिल्लो समय स्वास्थ्यकर्मीका घरका छिमेकीले अभद्र व्यवहार गरेको र विरोध प्रदर्शन गरिएका घटनाहरु बाहिरिएसँगै यस्ता गतिविधिको चर्को आलोचना भइरहेको छ भने गृह मन्त्रालयको ध्यानाकर्षण भएको हो । पछिल्लो समय स्वास्थ्यकर्मी बसेका ठाउँमा कोरोना संक्रमण फैलने भन्दै काठमाडौंको बानेश्वरमा स्थानीयले घरघेराउदेखी गाली गलौच गरेका थिए ।

आइतबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेमाथि तत्काल कारबाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मी लगायतका राष्ट्रसेवक प्रति केही उच्छृंखल व्यक्तिहरूबाट दुर्व्यवहार तथा अपमानित हुने क्रियाकलाप गरेको पाइएको भन्दै घटनामा संलग्नहरुमाथी तत्काल कानून बमोजिम कारवाही गर्न भनिएको छ ।

कोरोना रोकथामको उपाय
उपत्यकामा समूदायस्तरमै कोभिड—१९ को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि उपत्यका नगरपालिका फोरमले सबै पालिकामा कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । नगरपालिका फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या दिन–प्रतिदिन बढ्दै गएका कारण रोकथाम र नियन्त्रणका लागि उपत्यका सबै पालिका एकीकृत योजना बनाएर अघि बढ्ने बताएका हुन् । उनले थप छलफल गरी निर्णयमा पुग्ने भोलि (सोमबार) उपत्यका नगरपालिका फोरमको बैठक बोलाएको जानकारी दिए ।

नगरपालिका फोरमका सचिव मदनसुन्दर श्रेष्ठले तालिका नै बनाएर कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङमा जाने बताए । उपत्यकामा मात्रै १५ देखि २० हजारको कन्ट्राक्ट ट्रेसिङ र टेस्टिङ गर्ने योजनालाई थप छलफल गरेर पुर्णता दिइने बताइएको छ । नगरपालिका फोरमको बैठकबाट कुन पालिकामा, कहिले, कुन क्षेत्रमा, कति जनाको कन्ट्राक्ट ट्रेसिङ र परीक्षण गर्ने भन्ने निर्णय हुन बाँकी छ ।

दुबईबाट स्वदेश फर्किए १६४ जना
गत सोमबार दुबई एयरपोर्ट आएर नेपाल फर्कन नपाएका १६४ जना नेपालीलाई नेपाल एयरलाइन्सको जहाजले काठमाडौं ल्याएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार एक बच्चासहित १६४ जना नेपाली काठमाडौं अवतरण गरेका हुन् । दुबई उड्दा कार्गो बोकेर गएको नेपाल एयरलाइन्सको जहाज फर्किदा दुबईबाट यात्रु लिएर फर्किएको थियो । सरकारले नेपालमा होटेलको व्यवस्थापन नभएको भन्दै यात्रु लिन दुबई पुगेको नेपाल एयरलाइन्सको जहाजलाई रित्तै फर्काएको थियो । चर्को आलोचनापछि सरकारले पुनः उद्धार उडान थाल्ने निर्णय गरेको थियो । दुबईमा रोकिएका नेपालीलाई लिन मात्र अहिले अनुमति मिलेको र अरु नयाँ तालिका बनिसकेको छैन ।

आइतबार नागपुरबाट भोल्गा एयरलाइन्सका जहाज समेत कार्गो बोकेर काठमाडौं आएको छ । हिमालय एयरलाइन्सका दुई जहाज कुनमिंगका लागि उडेका छन् । यी जहाज सोमबार कार्गो लिएर काठमाडौं आउनेछन् । सोमबार यी जहाजबाट लेनमाई एयरलाइन्सले कम्बोडिया र पीटी माई इन्डो एयरलाइन्सले थाइल्याण्डबाट कार्गो उडान गर्नेछन् । आइतबार आन्तरिकतर्फ तारा एयरले लुक्लामा कार्गो उडान, सिता एयरले नेपालगन्जबाट ८ यात्रुलाई काठमाडौं ल्याएको छ । प्रभु हेलीले पोखराबाट ३ यात्रुलाई काठमाडौं ल्याएको छ । एयर डाइनेस्टी चढेर तीन यात्रु बिराटनगर गएकोमा यो हेलीमा एक यात्रु काठमाडौं आएका छन् । मनाङ एयर चार यात्रु बोकेर लुक्ला गएको थियो । फर्कँदा ३ यात्रु लिएर काठमाडौं आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ