Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन्, प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन्, प्रमुख पाँच खबर


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा चर्चा परिचर्चासँगै खबर प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १३ हजार २५३ नमुना परीक्षण गर्दा २९९ महिला र ५५६ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ । उनीहरुमध्ये १९ हजार ५०४ जना संक्रमणमुक्त भइसकेका छन् भने १४ हजार ७३९ आइसोलेसनमा छन् । काठमाडौं, महोत्तरी र बाराका दुईरदुई जना तथा पर्सा, रुपन्देही र कैलालीका एकरएक जनाको मृत्युभएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएपनि यो पछि थप ८ जनाको मृत्यु भएर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जना संक्रमित थपिएका छन् । काठमाडौंका २३० जना, ललितपुरका ४७, भक्तपुरका २४, सर्लाहीका १२० जना, सुनसरीका ५५, धनुषाका ४३, चितवनका ४२, कैलालीका २९, बाराका २४, लमजुङका २३, प्युठानका २२, काभ्रेका २१, रौतहट र अछामका २०/२० जना, रुकुमका १९, महोत्तरी र मकवानपुरका १८/१८ जना, झापा र दाङका १६/१६ जना, मोरङका १३, तेह्रथुमका ८ जना, नवलपुर र सुर्खेतका ७/७ जना, पाँचथर, कास्की, कपिलवस्तु र बाँकेका ४/४ जना, सिराहाका ३ जना, दोलखा, धादिङ, नवलपरासी, कञ्चनपुर, डडेलधुरा र डोटीका २/२ जना तथा खोटाङ, पर्सा, सप्तरी, रामेछाप, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, बर्दिया, रोल्पा, जाजरकोट, दैलेख र सल्यानका १/१ जनामा पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएको छ ।

डब्लुएचओको अपिल
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल कार्यालय प्रमुख डा. जोस भान्देलारले नेपालमा कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको दुर्व्यवहारको घटना दुखद भएको बताएका छन् । स्वास्थ्यकर्मीमा दुर्व्यवहारको घटना बढ्दै गयो भने अस्पताल भए पनि स्वास्थ्यकर्मी नहुने उनको दाबी थियो संक्रमित हुनु कसैको दोष नभएको भन्दै डा.भान्देलारले आफ्नो स्वास्थ्य जोखिममा राखेर काम गरेको अवस्थामा रोगी हुँदा रोग फैलाइस् भनेर लाञ्छना लगाउँदा स्वास्थ्य सेवामा नै निरासा पैदा हुने बताए ।

स्वास्थ्यकर्मीलाई मात्र नभएर संक्रमित हुँदा कसैलाई पनि दुव्र्यवहार गर्ने र लाञ्छना लगाउन नहुने उनले बताए । समग्र जनसङ्ख्याको सानो हिस्सालाई मात्र संक्रमण देखिने भएकाले कोभिडसंग डराउनु नहुने उनले बताए । जनस्वास्थ्यको मापदण्ड पालना गरे अधिकाशं मानिस यसबाट बच्न सक्ने भान्देलारको दाबी थियो । कोभिड १९ भाइरस लामो समय सम्म रहने भन्दै उनले भाइरससँग बाँच्न सिक्नुपर्नेमा जोड दिए । केही समयपछि मानिसले रोग विरुद्दध प्रतिरक्षा प्रणाली विकास हुने र खोप समेत आउने भएकाले अहिलेको केही समय भाइरससँग नडराई सहअस्तित्वमा रहेर बाँच्नुपर्ने उनको दाबी थियो । सन् २०२० को अन्तिमसम्म करिब २ अर्ब डोज खोप उत्पादन हुने भान्देलारले जानकारी दिए ।

अनलाईन पठनपाठनमा सहभागी हुन त्रिविको आग्रह
त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना विद्यार्थीलाई पठनपाठनका लागि सहभागी हुन आग्रह गरेको छ । त्रिविका शिक्षाध्यक्ष प्रा डा शिवलाल भुसालले कोरोना भाइरस (कोभिड–१९) का कारणले कक्षा कोठामा गई पठनपाठन गर्न सम्भव नभएको भन्दै भर्चुअल माध्यमबाट भइरहेको पठनपाठनमा सहभागी हुन आग्रह गरेका हुन् । विद्याथीलाई आ–आफ्नो अध्ययनरत विभाग र स्कूल क्याम्पसमा सम्पर्क राखी पठनपाठनमा सहभागी हुन आग्रह गरिएको छ ।

आफ्नो सम्पर्कमा त्रिविमा अध्ययनरत कुनै विद्यार्थी भएमा सम्पूर्ण अभिभावक, स्थानीय सरकारका प्रतिनिधि, स्थानीय प्रशासन, समाजसेवी, शिक्षाविद् तथा अन्य सबै सरोकारवालालाई समेत पठनपाठनमा विद्यार्थी सहभागी गराउन अनुरोध गरेको छ । त्रिविले कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा आउने नदेखिएसँगै लिने स्थिति नरहेको आँकलन सहित गत चैत्रको तेस्रो सातादेखि नै पठनपाठनको वैकल्पिक विधिबाट कक्षाहरू सञ्चालन गर्न आफ्ना सबै शिक्षक, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको इमेलको ठेगाना बनाई अनलाइन विधिबाट पठनपाठन सञ्चालन गरिरहेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नेपालमा पनि प्रवेश गरेसँगै यसले जनस्वास्थ्यमा पार्ने असरलाई मध्यनजर राखी गत चैत्र ६ गतेदेखि त्रिविमा सञ्चालन भइरहेका सम्पूर्ण पठनपाठन तथा परीक्षाहरू स्थगन गरिएको थियो ।

नियमित उडानको तयारी
सरकारले कोरोनाका कारण अन्तर्राष्ट्रिय उडानमाथि लगाएको प्रतिवन्ध विभिन्न ८ वटा देशका हकमा फुकुवा गरिएको छ । अब मलेसिया, टर्की, दक्षिण कोरिया, जापान, चीन, हङकङ, यूएई र कतारलाई नियमित उडानले नेपालसँग जोड्नेछन् । सेप्टेबर १ बाट लागु भई एक महिनासम्म कायम रहने यो तालिका आवश्यकता र परिस्थिति अनुसार परिवर्तन हुनसक्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । सरकारले स्वदेशी दुई वायुसेवा कम्पनीलाई कुल २९ वटा उडानको अनुमति दिएको छ । त्यसमध्ये नेपाल एयरलाइन्सको भागमा १७ र हिमालयको भागमा १२ उडान परेको छ ।

विदेशी वायुसेवा कम्पनीले भने ३१ वटा उडानको अनुमति पाएका छन् । १ सेप्टेबरपछि चार्टर्ड उडानमा भने स्वदेशी वायुसेवा कम्पनीबाटै उडान हुने भएको छ । सम्बन्धित मुलुकले आफै पठाउने उडानको हकमा मात्र विदेशी कम्पनीले अनुमति पाएका छन् । सेप्टेम्बरभर कुल २७ वटा चार्टर्ड उडान हुनेछन् । सरकारले सेप्टेबर महिनाका लागि माल्दिभ्स, साउदी अरब, ओमान, कुवेत र कतारमा चार्टर्ड फ्लाइटका लागि उडान तोकेको हो । साउदी अरबको जेद्दा, दमाम र रियाद गरी तीन शहरमा जहाज जानेछन् । अब नियमित उडानबाट चीनका ३ वटा शहर काठमाडौंसँग जोडिने छन् । हिमालय एयरलाइन्सले एक महिनामा चुङछिङमा चार उडानको अनुमति पाएको छ ।

चाइना साउदर्नले ग्वाङझाउ र एयर चाइनाले छेन्दुलाई काठमाडौंसँग जोड्ने भएका छन् । लामो दूरीका उडानमा दक्षिण कोरियाबाट कोरियन एयरले अनुमति पाएको छ । नेपाल एयरलाइन्सले जापानको नारिताका लागि उडानको अनुमति पाएको हो । टर्कीको इस्तानबुलबाट टर्की एयर आउनेछ । यी देशबाट तत्कालै पर्यटक र गैरआवासीय नेपालीले भने नेपाल आउन पाउने छैनन् । नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारी, विकास साझेदारी संघ संस्थाका कर्मचारी तथा प्रतिनिधि सरकारी आमन्त्रणमा आउने व्यक्तिले मात्र नेपाल प्रवेशको अनुमति पाउनेछन् ।

गर्मी बढेसँगै भेडीगोठ अग्ला पाटनमा सारिदै
बेशीमा गर्मी हुन थालेपछि हुम्ला, जुम्ला र डोल्पा क्षेत्रका उच्च पाठनमा भेडीगोठ सारिएको छ । भदौ महिना लागेसँगै भेडीगोठलाई अग्ला पाटनमा लगिएको हो । भदौ महिनापछि वेशीतिर झारिने भेडीगोठ यो महिनाभरी अब उतै रहनेछन् । हुम्लाका भेडी गोठाला अज बहादुर शाहीले भेडासँगको बसाई रमाईलो हुने गरेको अनुभव सुनाउँदै अग्ला पाटनमा घुम्न पनि आनन्द आउने बताए । बेशीमा गर्मी बढी हुने भएको कारण अग्ला र उच्च पाटनमा भेडीगोठ राख्ने गरिएको छ । हुम्ला रानी सुइनाका पाटनमा यस वर्ष दुई हजार भन्दा बढी भेडाहरु लगिएको छ । घाँस पनि राम्रो हुने भएको कारण भेडालाई पालनकै लागि उक्त क्षेत्रमा लैजाने गरिन्छ । हुम्ला, जुम्ला र डोल्पामा बीसबीस हजार भन्दा बढी भेडा रहेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ