Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल सन्दर्भ : दुई मिनेटमै पढौँ प्रमुख पाँच खबर

नेपाल सन्दर्भ : दुई मिनेटमै पढौँ प्रमुख पाँच खबर


काठमाडौं । पछिल्लो २४ घण्टामा प्राथमिकता पाएका पाँच खबरहरु । जसले नेपाल बारेको अपडेट दिनेछन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा १ हजार १११ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषमा संक्रमण पुष्टि भएको हो । काठमाडौंमा मात्र २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ सहित देशभर थपिएका संक्रमितसँगै सक्रिय संक्रमितको संख्या १५ हजार २ सय ७३ पुगेको छ । २० हजार ७३ जना कोरोनामुक्त भएका छन् भने १ सय ८३ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

बेलायतबाट ७ अर्ब बढी सहयोगको प्रतिबद्धता
कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेलायतले नेपाललाई ४५.८ मिलियन पाउण्ड अर्थात ७ अर्ब १४ करोड नेपाली रुपैया बराबरको आर्थिक सहयोग गर्ने भएको छ । बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्ले अर्थमन्त्री डा. युवराज खतिवडासँगको भिडियो कन्फ्रेन्स मार्फत यो सहयोग प्याकेजको घोषणा गरेका हुन् । अर्थ मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै कोभिड–१९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले सहयोग प्याकेज उपलब्ध गराउन लागेको जानकारी दिएको छ । भिडियो कन्फ्रेन्समा अर्थमन्त्री डा. खतिवडाले बेलायत सरकारले कोभिड–१९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा धन्यवाद व्यक्त गर्दै नेपालका विकास प्राथमिकता, आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए ।

बिहिबार ४ सय ३७ जना नेपाल फर्किए
विदेशमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रमले निरन्तरता पाइरहेको छ । बिहीबार मात्रै विभिन्न तीन वटा एयरलाइन्सबाट ४ सय ३७ जना यात्रु नेपाल आएका छन् । नेपालबाट भने बिहिबार ४ बच्चासहित २०३ जना यात्रु बाहिरिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बिहीबार हिमालय एयरलाइन्सले साउदीको दमामबाट १५४ जनालाई, नेपाल एयरलाइन्सको वाइडबडी जहाजले साउदीको रियादबाट २६३ जनालाई काठमाडौं ल्याएका छन् । यी जहाजमा दमामबाट २ र रियादबाट ४ वटा शव नेपाल ल्याइएको छ ।

हङकङबाट क्याथे ड्रागनको जहाज कार्गो बोकेर काठमाडौं आएको छ । टर्कीको इस्तानबुलबाट टर्कीस एयरले २० जनालाई काठमाडौं ल्याएको छ । सो जहाजमा काठमाडौंबाट भने ४ बच्चासहित २०३ जना बाहिरिएका छन् । सरकारले दैनिक ५ सय जना यात्रुलाई काठमाडौं ल्याउने गरी पाँचौ चरणमा एयरलाइन्सहरुलाई उडान अनुमति दिएको थियो । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका एक एक जहाज क्वालालाम्पुर पुग्दा हिमालयको अर्को जहाज चीनको चोङछिङ पुगेको छ । यी जहाज शुक्रबार फर्कनेछन् । शुक्रबार दोहाबाट कतार एयरवेज पनि काठमाडौं आउँदैछ । कोरोना भाइरसको महामारी र निरन्तरको लकडाउनका कारण हालसम्म ५२ हजार नेपाली चार्टर्ड उडानमार्फत नेपाल आएका छन् ।

कोरोना महामारीमा औषधिभन्दा मोवाइ फोनको माग बढी
कोरोना महामारी र लकडाउनको प्रभाव परेपनि गत साउन महिनामा करिब साढे चार अर्ब रुपैयाँको मोवाइल फोन आयात भएको छ । कोरोना भाइरसको महामारीको समयमा बिलासी विद्युतीय सामग्री मोबाइल धेरै आयात हुँदा औषधिको आयात न्युन देखिएको हो । भन्सार विभागका अनुसार साउन महिनामा ४ लाख ७० हजार ६२१ सेट मोबाइलको भन्सार पास भएको छ । यी मोवाइल खरिद गर्दा ४ अर्ब २६ करोड ४९ लाख ६६ हजार रुपैयाँ बाहिरिएको छ ।

गत वर्षको साउन महिनामा दुई अर्ब ४१ करोड रुपैयाँको मोबाइल फोन नेपाल भित्रिएको देखिन्छ । यस वर्ष मोबाइल आयात बापत सरकारले ६७ करोड ५० लाख ६६ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । साउन महिनामा औषधि भने १२ करोड १७ लाख २० हजार रुपैयाँको आयात भएको छ । औषधिको कच्चा पदार्थ भने ३० करोड ७० हजार रुपैयाँ बराबर आयात भएको भन्सारको रेकर्ड छ ।

पछि सर्यो डा केसीको अनसन
स्वास्थ्य सेवा तथा चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसन बसेर चर्चामा आएका चिकित्सक डा. गोविन्द केसीले बिहीबारदेखि घोषणा गरेको सत्याग्रह एक हप्ता पछि सारेका छन् । हाल जुम्लामा रहेका केसीले स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक हप्ता पछि सारेको जानकारी दिएका हुन् । गत साउन ११ गते नै आफ्नो ४ बुँदे माग सार्वजनिक गरेका केसीले ती माग पूरा नभए भदौ ११ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए । डा.केसीले विज्ञप्ति जारी गर्दै झन्डै एक महिनाको समय दिंदा पनि सरकारले कोरोना महामारीको वहाना बनाएर अरबौं भ्रस्टाचार र घोटाला गरेको उल्लेख गरेका छन् ।

केसीले पछिल्लो समय कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रम संचालन गर्न, प्रधानमन्त्रीले नाजायज रुपमा रोकिराखेको उक्त प्रतिष्ठानको स्नातकोत्तर तहको अनुमति तत्काल प्रदान गर्न र गेटा मेडिकल कलेज र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र पूर्वाधार र जनशक्ति पुर्याएर पठनपाठन शुरू गर्न माग गरेका छन् । प्रदेश २ र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनुपर्ने डा. केसीको माग छ । २०७५ साउन १० गते आफूसँग भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनको संशोधन, चिकित्सा शिक्षा नियमावली सच्याउँदै स्नातकोत्तर तहमा खुलातर्फ ७० प्रतिशत सिट कायम गर्न, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरुमा निष्पक्ष र पारदर्शि ढङ्गले पदाधिकारी नियुक्त गर्न, र बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो निशुल्क सेवा सुनिश्चित गर्न माग गरिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ