Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन्, प्रमुख पाँच खबर


काठमाडौं । नेपाल मात्रै होइन समग्र विश्वले कोरोना महामारिको सामना गरिरहेको छ । यो महामारिले धेरै क्षेत्रलाई अस्तव्यस्त बनाउँदा नेपालमा चर्चासँगै महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ८८४ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७ हजार ३४० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९७१ जनाको पीसीआर नमुना परीक्षण गर्दा २४२ महिला र ६४२ पुरुषमा कोरोना पुष्टि भएको हो । हालसम्म ६ लाख ६९ हजार ८१ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा ३१३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २० हजार ५५५ पुगेको छ । कोरोना जित्नेहरुको यो संख्या ५५ प्रतिशत रहेको छ ।

शनिबारसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ५७८ पुगेको छ । यी मध्ये ६ हजार ४४५ जना होम आइसोलेसन र १० हजार १४५ जना संस्थागत आइसोलेसनमा छन् । देशका विभिन्न क्वारेन्टिनमा ८ हजार ३५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १२ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ । काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जनामा गरेर पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै १८६ संक्रमित थपिएका छन् ।

तीन मन्त्रीसहित प्रधानसेनापति थापाको रिपोर्ट नेगेटिभ
कोरोना संक्रमितसँगको सम्पर्कमा पुगेसँगै आइसोलेटेड भएर बसेका उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र प्रधानसेनापछि पूर्णचन्द्र थापा लगायतको पीसीआर रिपोर्ट निगेटिभ आएको छ । छाउनीस्थित नेपाली सेनाको हाताभित्र रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सचिवालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि केही दिनअघि उक्त स्थानमा बैठकमा सहभागी भएका उनीहरु सजग भएर सुरिक्षत आइसोलेसन बसेका थिए ।

मन्त्रीहरुसहित प्रधानसेनापति, सचिव र अन्य कर्मचारीहरुको शनिबार बिहान सीसीएमसीको टोलीले गरेको पीसीआर परीक्षणको रिपोर्ट साँझ नै नेगेटिभ आएको हो । सीसीएमसीको सचिवालयमा गत आइतबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि साढे दुई घन्टा छलफल भएको थियो । बैठकमा सहभागी एक कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।

डा. केसीलाई बन्धक बनाएको भन्दै चिकित्सक संघको आपत्ती
नेपाल चिकित्सक संघले डा. गोविन्द केसीलाई हिँडडुल गर्न नदिनेगरी अस्वाभाविक र गैरमानवीय कार्य भएको भन्दै तत्काल बन्द गर्न सरकारसँग माग गरेको छ । संघले शनिबार एक विज्ञप्ति जारी गर्दै डा. केसीलाई आफू बसेको स्थानबाट बाहिर जान, हिँडडुल गर्न सुरक्षाकर्मीको प्रयोग गरी रोकिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।

जुम्लामा रहेका डा. केसीलाई उनी बसेको होटलबाट बाहिर निस्कन खोज्दा माथिको आदेश भन्दै प्रहरीले बाहिर निस्कन रोक लगाएको थियो । स्वास्थ्य सेवाको पहुँच नभएका दुर्गम बस्तीमा पुगेर नागरिकको उपचारमा खटिएका चिकत्सकलाई स्थानीय प्रशासनले घेराबन्दीमा राखेको भन्दै सामाजिक सञ्जालमा समेत चर्को आलोचना भइरहेको छ ।

पोषण र बाल विकास
कोरोना भाइरसको संक्रमण बढ्दैगर्दा स्वस्थ्यकर खाने कुराको बारेमा चासो बढ्न थालेको छ । शनिबार ‘स्मार्ट प्यारेन्टिङ नेपाल’द्वारा भर्च्युअल रुपमा आयोजित पोषण र बाल विकास कार्यक्रममा डा. अरुणा उप्रेतीले अस्वस्थकर खानेकुराको सेवन गर्ने बानीले बालबालिका रोगी हुँदै गएको बताइन् । उनले कोरोनाको जोखिम बढ्दैगर्दा स्वस्थकर खानेकुरामा चासो बढ्न थालेको जानकारी दिइन् ।

हिजो बजारमा प्याकिङ गरिएका खानेकुरा हुँदैनथे तर अहिले बच्चा रोयो भने उसलाई फकाउनका लागि चाउचाउ, बिस्कुट, चिसो किनिदिने चलनसँगै रोगको जोखिम बढेको छ । जंक फुडका कारण बच्चामा कुपोषणसँगै रोगको जोखिाम बढेको डा. उप्रतीले बताइन् । विभिन्न सञ्चार माध्यममा प्रकाशित वा प्रशारित हुने गरेका विज्ञापनको असर बालबालिकामा देखिने गरेको समेत डा. उप्रेतीको आरोप थियो । ‘स्मार्ट प्यारेन्टिङ नेपाल’ ले पोषण र बाल विकासका बारेमा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

दशैंपछि मात्रै विभुवन विश्वविद्यालयलको वार्षिक परिक्षा
कोरोना महामारिका कारण त्रिभुवन विश्वविद्यालयका वार्षिक परीक्षा दसैँ पछाडि मात्रै हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा देखिएसँगै दशैँ अगाडी परीक्षाको सम्भावना टरेको जानकारी गराएका हुन् । पनिकाले वार्षिक परीक्षा आफैले सञ्चालन गर्ने भन्दै सेमेष्टर परीक्षाको जिम्मा भने सम्बन्धित डिन कार्यालयलाई दिएको छ ।

यसअघि बन्दाबन्दी (लकडाउन) खुलेसँगै पनिकाले भदौ १६ गतेबाट सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षा गर्ने तयारी गरेको थियो । पनिकाले मङ्सिर २० देखि परीक्षा सञ्चालन गरेर चैतसम्म सबै सकाउने तयारी गरेको छ । नियन्त्रक जोशीले चैतसम्म सबै बाँकी रहेका परीक्षा सकाएपछि शैक्षिक क्यालेन्डरमा कुनै असर नपर्ने जानकारी दिए । परीक्षा नियन्त्रक जोशीले सेमेष्टर प्रणाली परीक्षाको खाकासहितको प्रतिवेदन सम्बन्धित डिन कार्यालयले बुझाएपछि कसरी परीक्षा गर्ने भन्नेबारे छलफल हुने जानकारी दिए । धेरै विद्यार्थी भएको तहमा भर्चुअल माध्यमबाट परीक्षा सम्भव नहुने परीक्षा नियन्त्रक जोशीले जानकारी दिए ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ