Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना प्रभाव : मुस्ताङ र जुम्लाको स्याउले बजार पाएन्

कोरोना प्रभाव : मुस्ताङ र जुम्लाको स्याउले बजार पाएन्


काठमाडौं । कोरोना महामारीको प्रभाव मुस्ताङ र जुम्लाको स्याउ उत्पादन र व्यापारमा समेत देखापरेको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको साँढे चार महिना लामो लकडाउन र पछिल्लो समय देशका अधिकांश स्थानीय प्रशासनले जारी राखेको निषेधाज्ञाको मारमा मुस्ताङ र जुम्लाका किसान तथा स्याउ व्यापारी पनि परेका हुन् ।

पहिलेका वर्षमा किसानले उत्पादन गरेका मुस्ताङ र जुम्लाको मीठो स्याउ खरिद गर्न यतिबेला किसानका बगैँचामै स्थानीय तथा जिल्ला बाहिरबाट व्यापारीको घुइँचो लाग्ने गरेकोमा यो वर्ष स्याउ बगैचामै छन् । निषेधाज्ञाले स्याउ व्यापारी बगैँचामा नपुगेको तिला गाउँपालिका–२ का स्याउ किसान कालीबहादुर रोकायाले बताए । कोभिड– १९ को सङ्क्रमणले गर्दा स्थानीय बजारदेखि तराईका बजारसम्म निषेधाज्ञा भएकाले स्याउ कसरी कहाँ बिक्री गर्ने भन्ने समस्या भएको चन्दननाथ नगरपालिका–४ का स्याउ किसान शोभा कार्कीको गुनासो छ ।

कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेदेखि मात्र स्याउ टिप्ने अनुमति दिएको छ । किसानले अघि पाक्ने स्याउ टिप्न थालेका छन् । स्याउ सुपरजोन कार्यालय जुम्लाका अनुसार यस वर्ष १० हजार मेट्रिकटन स्याउ फल्ने पूर्वानुमान गरिएकोमा पाँच हजार १०० मेट्रिकटन मात्र स्याउ फलेको छ । स्याउको फल कम लागेका कारण किसान लगानी नउठ्ने चिन्तामा छन् । अझ, स्याउ लिन व्यापारी नआएपछि किसान थप मारमा परेका छन् ।

जिल्लाको आधाभन्दा बढी क्षेत्रमा स्याउ फुल्ने समयमा तुषारो लागेपछि फल नलागेको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । यता, चखिलो स्याउका लागि प्रख्यात मुस्ताङमा समेत जुम्लाको जस्तै समस्या देखिएको छ । स्याउ कम फलेपनि खरिद गर्न व्यवसायीहरु नआउँदा किसानहरु लगानी नै खेर जाने हो कि भन्ने चिन्तामा छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ