Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । मंगलबार धेरै घटनाक्रमको चर्चासँगै समाचार बने । पछिल्लो समय चर्चासँगै प्राथमिकता पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मंगलबार ३४४ जना महिला र ७२५ जना पुरुष संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ । २४ घण्टामा थप ७६८ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या २२ हजार १७८ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार थप ११ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २३९ पुगेको छ ।

रेमडेसिभिरको आयात बढ्दै
यतिकेम डिस्ट्रिव्युट्र्स प्रालिले कोभिड–१९ का बिरामीलाई क्लिनिकल ट्रायलको रुपमा प्रयोग गरिएको रेमडेसिभिर औषधिको आयात गरेको छ । यतिकेमले भारतीय औषधि निर्माण कम्पनी सिप्ला लिमिडेटबाट उत्पादित ४८० भाइल औषधि ल्याएको जानकारी दिएको हो । साउनको अन्तिम साता औषधि व्यवस्था विभागले क्लिनिकल ट्रायलका लागि आयात गर्न अनुमति दिएपछि यतिकेमसहित अरु दुई कम्पनीले नेपालमा रेमडेसिभिर वैधानिक रुपमा आयात गरेका छन् । यतिकेमले रेमडेसिभिरको मूल्य अधिकतम ६ हजार ४ सय रुपैयाँ तोकेको छ । स्वास्थ्य मन्त्रालयले क्लिनिकल ट्रायलको रुपमा भएकोले औषधिको खर्च मन्त्रालयले अस्पताललाई सोधभर्ना गरिदिने भन्दै बिरामीबाट लिइएको छैन । यतिकेमका कार्यकारी अध्यक्ष प्रभुराज बैद्यले पहिलो लटमा ४८० भाइल औषधि आएको ल्याइएको, १० सेप्टेम्बरमा यति नै परिमाणमा थप औषधी आउने र २५ सेप्टेम्बरमा १०४० भाइल औषधि ल्याइने यतिकेमले जनाएको छ । आयात गरिएको रेमिडिसिभिर औषधि काठमाडौँ, चितवन, विरगञ्ज, बुटवल लगायतका स्थानका अस्पतालमा पठाइएको र बाँकी स्थानमा पनि आवश्यकता अनुसार पु¥याउने यतिकेमले जनाएको छ ।

उपत्यकामा निषेधाज्ञा लम्बिदै
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ १७ गते सकिने निषेधाज्ञालाई फेरि निरन्तरता दिने तयारी गरेका छन् । उपत्यकामा कोभिड–१९ (कोरोना भाइरस) संक्रमण निरन्तर बढिरहेकाले काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा थप एक साता निषेधाज्ञा गर्ने मनसायमा प्रशासन कार्यालयहरु पुगेका हुन् । निषेधााज्ञा लम्ब्याउदा अत्यावश्यकसँगै थप केही क्षेत्रलाई खुकुलो पारेर मोडालिटी बनाइएको छ । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा आगामी साताको निषेधाज्ञामा होम डेलिभरी र टेकअवे सेवालाई खुला गर्ने, निर्माणका सामान र भन्सारबाट आउने सामग्रीलाई सहजीकरण गर्ने बारे छलफल भएपनि निष्कर्ष निश्किन बाँकी रहेको बताइएको छ । कतिदिन थप्ने र के कस्ता सेवामा सहुलियत दिने भन्नेबारे अन्तिम निर्णय बुधबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेसँग हुने छलफलपछि तय हुने बताइएको छ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि तीनै जना प्रमुख जिल्ला अधिकारीले ३ भदौदेखि लागू हुने गरी एक साता लगाएको निषेधाज्ञा भदौ १० मा पुनः ७ दिन थपिएकोमा बुधबार मध्यरातिबाट सकिँदैछ ।

मंगलबार पाँच उडान २६४ यात्रु नेपाल भित्रिए
मंगलबार त्रिभुवन विमानस्थलमा ५ वटा अन्तर्राष्ट्रिय उडान र अवतरण भएका छन् । यी उडान(अवतरणबाट २६४ जना यात्रु नेपाल भित्रिदा एक यात्रु विदेशिएका छन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार हिमालय एयरलाइन्सले दोहाबाट १२६ यात्रुलाई काठमाडौं ल्याएको छ भने नेपाल एयरलाइन्सले समेत दोहाबाटै १३८ जनालाई काठमाडौं ल्याएको हो । नेपाल एयरलाइन्सको जहाज कुवेत उड्दा एकजना यात्रु लगेको थियो । एयर अरेवियाको जहाज कार्गो बोकेर काठमाडौं आएको छ । नेपाली समय अनुसार राति एक बजे नेपाल एयरलाइन्सको जहाज नियमित उडान अन्तर्गत जापानको नारिता प्रस्थान गरेको छ । यो जहाज नियमित उडान मार्फत नै बुधबार काठमाडौं फर्कनेछ । राती नै हिमालय एयरलाइन्सको जहाज कार्गो उडानका लागि कुनमिङ उडेको छ । बुधबार माल्दिम्भमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज त्यता जाने छ भने कतार एयरवेज दोहाबाट काठमाडौं आउँनेछ ।

बढ्यो पेट्रोलको मूल्य
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार रातीदेखि लागू हुनेगरी पेट्रोको मूल्य प्रति लिटर २ रुपैयाँ बढाइएको हो । मूल्य बढेपछि काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ पुगेको छ । डिजेल, मट्टितेल, हवाई ईन्धन तथा एल.पि.ग्यासको मूल्य भने यथावत रहेको निगमले जानकारी दिएको छ । नयाँ समायोजन गरिएको मूल्य विरगंज क्षेत्रमा पेट्रोल प्रति लिटर ३२ रुपैयाँ २६ पैसा र डिजेलमा प्रति लिटर ३६ रुपैयाँ ७५ पैसाले नेपाल तर्फ सस्तो रहेको नेपाल आयल निगमले जानकारी दिएको छ ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ