Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustraliaजन्मजात एउटा मात्र मृगौला पनि फेल भएपछि अष्ट्रेलियामा विचल्ली परे नेपाली

जन्मजात एउटा मात्र मृगौला पनि फेल भएपछि अष्ट्रेलियामा विचल्ली परे नेपाली


ब्रिजवेन/सरल गुरुङ

काठमाडौ ढल्कुका २४ वर्षिय श्याम रौनियार डिउटीमै रहेका बेला अचानक बेहोस भएर ढले । व्रिजवेनको एउटा रेष्टुरेन्टमा काम गर्ने रौनियारले सुरुमा त कामको चापले होला भन्ठाने । तर, अस्पताल पुगेर रगत परिक्षण र एक्सरे गरेपछि थाहा भयो समस्याको पहाड नै बनिसकेको रहेछ ।
मेटर अस्पतालमा एक्सरे गरेपछि मात्र थाहा भयो श्यामको त जन्मदा नै एउटा मात्र मृगौला रहेछ । एउटा मात्र मृगौला भएको खबरले झांगाबाट खसेका श्यामको होसहवास गुम्यो जब डाक्टर त्यहि एउटा मृगौला पनि फेल भईसकेको रिपोर्ट देखाए ।
भएको एउटा मृगौला पनि काम नगर्ने भएपछि श्याम अघिल्लो सेप्टेम्बर अर्थात झण्डै एक वर्षदेखि डायलासिस (कृत्रिम तरिकाले रगत सफा गर्ने प्रकृया) गरेर बाचिरहेका छन् ।

विरगञ्ज स्थाई घर भएका रौनियार सन् २०१७ मा एकान्टिङ पढ्न अष्ट्रेलिया आउनु भएको हो । पढाई सकेर स्वदेश नै गई देश सेवा गर्ने सपना बोकेका रौनियारको जीवनमा अचानक कालो बादल मडारिएको छ । एक वर्षदेखि नियमित उपचार गराईरहेका रौनियारको आमा पनि छोराको हेरचाहका लागि केही महिनादेखि यतै आउनुभएको छ । दुई जनाको बस्नेखाने खर्च त्यसमाथी मंहगो ओखति खर्च धान्नै मुस्किल भईरहेको रौनियारले दुखेसो गर्नुभयो । ‘हप्ताको तीन दिन डायलासिस गर्नुपर्छ’ -रौनियारले भन्नुभयो-‘डायलासिस गरेको दिन निकै थाक्छु, कसरी काम गर्न सक्नु’ ?
मृगौला प्रत्यारोपण नगरेसम्म डायलासिस गरिरहनुपर्ने अस्पतालले जनाएको रौनियारले बताउनुभयो ।

रौनियारले भारतमा गएर मृगौला प्रत्यारोपण गर्ने सोच बनाएका छन् । ब्रिजवेनका बासिन्दा तथा क्यान्सरबाट बाचेका नेपाली युवक उज्जवल पौडेलले नयाँ दिल्लीस्थित बिएलके अस्पतालमा सम्पर्क गरि रौनियारको मृगौला प्रत्यारोपण त्यहाँ गर्ने व्यवस्था गरिरहनुभएको छ । तर, त्यसका लागि ४० लाख भारतिय रुपैया खर्च लाग्ने अस्पतालले जनाएको रौनियारले नेपालट्युबलाई जानकारी दिनुभयो । रौनियारका अनुसार तत्काल १० लाख भारु जम्मा गरेपछि अस्पतालले मृत मानिसको मृगौला खोजी सुरु गर्ने र ६ महिनाभित्र प्रत्यारोपण गरिदिने जनाएको छ । तर, एक वर्षदेखि उपचार गराउदा गराउदै लाखौ रुपैया खर्च भईसकेकाले थप उपचारको लागि आफ्नो परिवारसंग पैसा अभाव भएको रौनियारले गुनासो गर्नुभयो ।

सहयोगका लागि नेपाली जुट्दै

पैसाको अभावमा रौनियारको जीवन खेर जान नदिन गैरआवासिय नेपाली संघ कुईन्सल्याण्डले रौनियार बचाउ अभियान सुरु गरेको छ ।

श्यामकाे उपचारका लागि एनआरएनए कुईन्सल्याण्डले संचालन गरेकाे सहयाेग अभियान

एनआरएनएका पदाधिकारीले रौनियारसंग भेटगरि आवश्यक सहयोग जुटाउन गोफन्ड मिबाट सहयोग संकलन सुरु गरेको छ । एनआरएनए कुईन्सल्याण्ड संयोजक उमेश खड्काले यसअघि नेपालीको ज्यान बचाउन अष्ट्रेलियावासी नेपालीले देखाएको उदारता यसपाली रौनियारलाई जीवनदान दिन पनि देखाउन सबैमा अपिल गर्नुभयो । ‘तपाइको सानो सहयोगले एक कर्मठ नेपाली युवकले नयाँ जीवन पाउन सक्छ’- खड्काले भन्नुभयो -‘त्यसैले सकेको सहयोग गर्नुस् ।’
उता बिरामी श्याम रौनियार पनि आफ्नो ज्यान जोगिएर बाकी रहेको सारा जीवन समाज र देशका लागि समपर्ण गर्ने बताउनुहुन्छ । ‘म बिरामी हुनु अघि पनि समाजसेवामा सक्रिय थिए’-रौनियारले भन्नुभयो-‘मलाई भगवानले एउटा मृगौला दियो केही छैन, अब बाकी जीवन म मानव सेवामा लगाउनेछु, कृपया मलाई बचाईदिनुस् ।’
रौनियारको जीवन बचाउन गो फन्डमिको यो लिंक थिच्नुहोस् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ