Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यस्ता छन्, पढ्नैपर्ने प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन्, पढ्नैपर्ने प्रमुख पाँच खबर


काठमाडौं । कोरोना संक्रमणको अवस्था, २० वर्षपछि पुनः सुरु भएको उडान सेवा, सपिङ मल खुल्न थालेको अवस्था, सेनिटाइजरको गुणस्तरमा राज्यले गरेको नियमन लगायत नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १७६ जनाको आरटी पीसीआर गर्दा यी संक्रमित थपिएका हुन् । पछिल्लो २४ घण्टामा थप ८५२ जना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ३७ हजार ५२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । काठमाडौं उपत्यकामा मात्रै शनिबार ४३१ जना कोरोना संक्रमित थपिएका छन् ।

२० वर्षपछि उडान सेवा
धनगढी–बाजुरा हवाई सेवा रोकिएको २० वर्षअघि पुनः सुरु भएको छ । द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि रोकिएको हवाई सेवा शुक्रबारबाट पुनः सुरु भएको हो । शुक्रबारदेखि साप्ताहिक उडान भर्ने गरी समिट एयरले सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीदेखि बाजुराको कोल्टी विमानस्थलका लागि उडान भर्न सुरु गरेको छ । नागरिक उड्यन कार्यालय बाजुराका निमित्त प्रमुख खुमप्रसाद पौडेलले २० वर्षअघि बाजुरा धनगढीसँग सिधा हवाई सेवामा जोडिएपनि द्वन्द्वको समयमा विमानस्थलमा आक्रमण भएपछि टुटेको हवाई सम्पर्क पुन जोडिएको बताए । बाजुरा नेपालगंंजसँग हवाई सेवामा जोडिए पनि प्रदेश राजधानीसँग भने जोडिएको थिएन । बाजुरा धनगढीसँगको हवाई सेवामा जोडिएपछि स्थानीय समेत खुसी भएका छन् । पहिले कच्ची रहेको कोल्टी विमानस्थल गत वर्ष मात्रै कालोपत्रे गरिएको थियो ।

६ महिनापछि खुल्न थाले सपिङ मल
कोरोना भाइरस महामारीले बन्द भएका सपिङ मलहरु करिब ६ महिनापछि खुलेका छन् । काठमाडौं उपत्यकाका सिडियोहरुको बैठकले पछिल्लो पटक जारी रहेको निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेसँगै शनिबार सरकारको कार्यतालिका अनुसार नै विभिन्न मलहरु तथा फेन्सी पसलहरु खुलेका थिए । कोरोना संक्रमण नियन्त्रण गर्न सरकारले चैत ११ गतेदेखि गरेको लकडाउन साउनको ७ गते फुकुवा गरेपनि मलहरु खोल्ने अनुमति दिइएको थिएन् । करिब एक महिना काठमाडौँ उपत्यकामा कोरोना संक्रमणको दर अझै बढ्न थालेपछि सरकाले निषेधाज्ञा जारी गर्यो । त्यसपछि सरकारले भदौ २५ गतेबाट तालिका मिलाएर सपिङ मल, यातायात खोल्ने निर्णय गरेपछि सपिङ मलहरु तथा फेन्सी पसलहरु खुलेका छन् । मल तथा फेन्सी पसललाई सातामा तीन दिन खोल्न छुट दिइएको छ ।

पाँच सेनिटाइजर उद्योमाथी कारबाही
विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गर्ने काठमाडौं र भक्तपुरका पाँच वटा उद्योग कारबाहीमा परेका छन् । औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गरेको पाइएपछि काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स र भक्तपुरको नेपाल कायाकल्प उद्योगमाथी कानुनी कारबाही अघि बढाइएको हो । औषधि व्यवस्था विभागले यी उद्योगहरुबाट उत्पादित ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर ओरिजिनल’, ‘एडभान्स ह्यान्ड स्यानिटाइजर’, ‘इन्सट्यान्ट ह्याण्ड स्यानिटाइजर रिफ्रेसिङ जेल’ र ‘सूर्यमुखी ह्याण्ड स्यानिटाइजर’ प्रयोग नगर्न आम उपभोक्तालाई आग्रह गरेको छ । विभागका अनुसार यी स्यानिटाइजरहरुमा विषाक्त रसायन मेथानोल समावेश गरेको पाइएको छ । विभागले जारी गरेको सूचनामा विषाक्त रसायन मेथानोलले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने उल्लेख छ । विभागका अनुसार स्यानिटाइजरमा इथानोल बाहेकका अन्य केमिकल प्रयोग गर्नु हानिकारक मानिन्छ ।

पहिलो पटक महिला नेतृत्व
खानेपानी तथा ढल व्यवस्थापन विभागमा पहिलो पटक महिलालाई महानिर्देशकको जिम्मेवारी दिइएको छ । यसअघि उपमहानिर्देशक रहेकी मिना श्रेष्ठले विभागको महानिर्देशकको जिम्मेवारी पाएकी हुन् । पाँच दशकको इतिहास बोकेको उक्त विभागमा श्रेष्ठ पहिलो महिला महानिर्देशक बन्न सफल भएकी छिन् । श्रेष्ठ २०५३ सालमा सरकारी सेवामा प्रवेश गरेकी थिइन् । विभागका महानिर्देशक सुनिलकुमार दासको खानेपानी मन्त्रालयमा सरुवा भएको थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ