Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्नैपर्ने पाँच खबर

नेपाल अपडेट : पढ्नैपर्ने पाँच खबर


काठमाडौं । नेपालमा पछिल्लो समयमा चर्चासँगै खबरको प्राथमिकतामा परेको प्रमुख पाँच खबर यस्ता छन् ।

शहरमा बढ्दै कोरोना संक्रमण दर
पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा पछिल्लो २४ घण्टामा १० हजार ३७५ नमुना परीक्षण गर्दा यी संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । यो सँगै नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६२ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ४० हजार ६३८ पुगेको छ । देशभरमा १५ हजार ७७९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ६७६ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु भएको छ । काठमाडौं जिल्लाका मात्र ५५५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा भक्तपुरका ८६ र ललितपुरका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३७१ जनाको मृत्यु भएको छ ।

आन्तरिक उडान सहितका तीनवटा सेवा खुल्ला
अन्तरिक हवाई उडान, लामो दुरीको यातायात सेवा र होटल रेष्टुरेन्टहरु असोज १ गतेबाट खुला हुने भएका छन् । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै अन्तरिक हवाई उडान सुरु गर्न, यातायात सञ्चालन तथा होटल रेस्टुरेन्ट खोल्न अनुमति दिएसँगै असोज १ बाट तीनवटै सेवा सञ्चालनमा आउने भएका हुन् । उडानका क्रममा विमानमा सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्नेछ भने मास्क, भाइजरको प्रयोग अनिवार्य गरिएको छ । सरकारले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न समेत छुट दिएको छ । यसरी स्वास्थ्य मापदण्डको ख्याल गरेर लामो दुरीको यातायात सञ्चालन गर्दा साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने व्यवस्था गरिएको छ । जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ । बसको एक लहरको सिटमा एक जना मात्र बस्न पाइनेछ । यस्तै सरकारले भौतिक दूरी कायम गराएर तथा आवश्यक स्वास्थ्य सावधानी सहित होटल तथा रेस्टुरेन्ट खोल्न समेत छुट दिएको छ । नेपालमा दोश्रो कोरोना संक्रमित पहिचान भएसँगै संक्रमण रोकथामका लागि भन्दै गरिएको चैत ११ को लकडाउनपछि आन्तरिक उडान, लामो दूरीका सार्वजनिक यातायात र होटल रेस्टुरेन्ट बन्द अवस्थामा छन् ।

आर्थिक वृद्धिदरमा कोरोना प्रभाव
सरकारले ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने अनुमान गर्दैगर्दा विकास साझेदारी एसियाली विकास बैंक (एडीबी) ले भने यो वर्ष १ दशमलव ५ प्रतिशत मात्र आर्थिक वृद्धि कायम हुने प्रक्षेपण गरेको छ । एडीबीले गत अप्रिलमा सन् २०२१ को पहिलो प्रक्षेपणमा ६ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । तर, त्यसपछि कोरोना भाइरसको विश्वव्यापी महामारी र त्यसको नियन्त्रणका लागि सरकारले अपनाएका लकडान, निषेधाज्ञ लगायतका कदमका कारण त्यसपछि भने आर्थिक गतिविधिहरु खुम्चन पुगेका छन् । एडीबीले जुन २०२१ मा ३ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो । पछिल्लो पटक तेस्रो प्रक्षेपण गर्दै एसियाली विकास बैंकले यो वर्ष १ दशमलव ५ प्रतिशतको मात्र आर्थिक वृद्धि हुने आँकलन गरिएको छ । बैंकले मंगलबार इकोनोमिक आउटलुक मार्फत एसियाली मुलुकहरुबारे आर्थिक वृद्धिको प्रक्षेपण गरेको हो । विश्व बैंकले केही समय अगाडी गरेको अनुमान २ दशमलव १ प्रतिशत आर्थिक वृद्धिको छ । यी दुई निकायले गरेको अनुमान सरकारको लक्ष्यभन्दा निकै कम पाइएको छ ।।

चैत महिनामै शैक्षिक सत्र पूरा
यस बर्षको शैक्षिक सत्र आगामी चैत्र महिनामा नै पूरा हुने भएको छ । वैशाख महिनाबाट शुरु हुनुपर्ने शैक्षिक सत्र कोरोना संक्रमणका कारण रोकिएको थियो । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलको उपस्थितीमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले संश्लेषित पाठ्यक्रम मंगलवार सार्वजनिक गरेको छ । अब बाँकी रहेका सात महिनामा शैक्षिक सत्र पुरा गर्ने गरि कक्षा एकदेखि दश सम्मको पाठ्यक्रमलाई खुम्च्याएर मन्त्रालयले नयाँ पाठ्यक्रमको ढाँचा सार्वजनिक गरेको छ । पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहालले संश्लेषित पाठ्यक्रम अनुसार अब बाँकी रहेको सात महिनाभित्रमै यो वर्षको पठनपाठन पुरा हुने बताएका छन् । मन्त्रालयले गत असारदेखि नै वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गरेको थियो । तर यो कार्यक्रममा सबै विद्यार्थी सहभागी हुन सकेका छैनन् । असोज एक गतेबाट बैकल्पिक माध्यमबाट पढाइलाई निरन्तरता दिने मन्त्रालयको योजना छ । अनलाइन, टेलिभिजन, रेडियो तथा पाठ्यपुस्तकको आधारमा बैकल्पिक पढाइ जारी भएपनि प्रभावकारी देखिएको छैन । मन्त्रालयले विद्यार्थीलाई निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने वा अन्य डिभाइस उपलब्ध गराउने भन्ने विषयमा छलफल गरिरहेको छ ।

निषेधाज्ञा हटाउन आन्दोलन
काठमाडौंका व्यवसायीले निषेधाज्ञाको विरोधमा प्रदर्शन गरेका छन् । लामो समय भइसक्दा पनि अझै निषेधाज्ञा पूर्ण रुपमा नहटाइएको भन्दै कोटेश्वर व्यवसायी संघले आज प्रदर्शन गरेको हो । अब निषेधाज्ञा पूर्णरुपमा खोलेर सहज रुपमा व्यापार व्यवसाय गर्न दिनुपर्ने संघको माग छ । करिब ४ महिना लकडाउन र त्यसपछिको निषेज्ञाधाका कारण व्यवसायीहरु निकै ठूलो समस्यामा फस्न लागेको संघले जनाएको छ । सधैं घरभित्र थुनिनुपर्दा कोरोनाभन्दा पनि भोकले मर्ने अवस्था आउन लागेको भन्दै व्यवसायीहरुले स्थिति सहज बनाउन माग गरेको छन् । बन्दाबन्दी अवधीभरको बैंक तथा वित्तीय संस्थाहरुको ब्याज मिनाहा गर्नुपर्ने, करको जरिवाना मिनाहा गर्नुपर्ने घरभाडामा सहुलियत दिने लगायतका मागहरु संघले अघि सारेको छ । बन्दाबन्दीका कारण व्यवसायीहरु समस्यामा परेको भन्दै विभिन्न मागहरु राखेर नेपाल राष्ट्रिय व्यवसायी महासंघ पनि आन्दोलनमा छ । केही दिनयता महासंघले सरकार तथा विभिन्न राजनीतिक दलका नेताहरुलाई भेटेर ज्ञापन पत्र बुझाउँदै व्यवसायीका समस्याको निकास खोज्न माग गर्दै आएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ