Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeAustralia१४ दिन क्वारेन्टिन बस्नेगरि क्वीन्सल्याण्डको चुनावी प्रचारमा जालान त प्रधानमन्त्री मोरिसन ?

१४ दिन क्वारेन्टिन बस्नेगरि क्वीन्सल्याण्डको चुनावी प्रचारमा जालान त प्रधानमन्त्री मोरिसन ?


सिड्नी । अस्ट्रेलियाको क्वीन्सल्याण्ड राज्यमा आगामी अक्टोबर ३१ तारिखमा हुने राज्य चुनावको प्रचारप्रसारका लागि प्रधानमन्त्री स्कट मोरिसन जान चाहेमा १४ दिने सरकारी क्वारेन्टिनमा बस्नुपर्ने छ । साथै मोरिसनले दुई हजार आठ सय अस्ट्रेलियन डलर अनिवार्य रूपमा तिर्नुपर्नेछ ।

क्वीन्सल्याण्ड राज्यमा गत जुलाई १० तारिखदेखि कोरोना ‘हटस्पट’ अर्थात प्रभावित क्षेत्रहरू मानिएका ठाउँबाट आउन प्रतिबन्ध लागू गरिएको छ । हाल भिक्टोरिया, न्यूसाउथवेल्स तथा क्यानबेराका केही क्षेत्रहरू ‘कोरोना हटस्पट’का रूपमा परिचित छन् । वर्तमान व्यवस्थाअन्तरगत यदि प्रधानमन्त्री मोरिसन कामका शिलशिलामा क्वीन्सल्याण्ड राज्यमा जान चाहेमा अनिवार्य रूपमा १४ दिने क्वारेन्टिनमा बस्नुपर्छ । क्वीन्सल्याण्ड राज्यमा लागू भएको सीमा प्रतिबन्धले प्रधानमन्त्री, विपक्षी दलका नेता लगायतका नेताहरूलाई सो राज्यमा आगामी अक्टोबर ३१ तारिखमा हुन लागेको राज्य चुनावको प्रचारप्रसारका लागि भाग लिन कठिनाइ हुने भएको छ । राज्यकी प्रिमियरले चुनावअघि प्रतिबन्ध हटाउने कुनै सङ्केत गरेकी छैनन । क्वीन्सल्याण्ड राज्यले प्रतिबन्ध फुकाउने वा लगाउनेसम्बन्धी निर्णय हरेक महिनाको अन्त्यमा विज्ञहरू समेतको छलफलबाट गर्नेगरेको छ ।

प्रतिबन्ध लागु भएसँगै केही मानिसहरूले नेताहरूलाई देशभित्रै कामका शिलशिलामा जान आउन प्रतिबन्ध लगाउन नहुने तर्क समेत गरेका छन् । प्रधानमन्त्री मोरिसनले भने आफूले क्वीन्सल्याण्ड राज्यको भ्रमण गर्ने बारे कुनै योजना नरहेको प्रष्ट पारिसकेका छन् । संसद जारी रहेको समयमा क्वीन्सल्याण्ड जाने भन्ने प्रमुख कुरा होइन र मसँग अरू संघीय जिम्मेवारीहरू पनि छन्– प्रधानमन्त्री मोरिसनले भनेका छन् । उनले अरू साधारण मानिससरह देशका सबै ओहदाका व्यक्तिमा समान नियम लागू हुने कुरा सकारात्मक भनेका छन् । क्वीन्सल्याण्ड राज्यको स्वास्थ्य विभागका अनुसार सो राज्यको सीमा न्यूसाउथवेल्स, भिक्टोरिया र क्यानबेराका बासिन्दाका लागि, लगातार २८ दिनसम्म सामुदायिक सङ्क्रमण शून्य नहुञ्जेलसम्म बन्द गरिएको छ । भिक्टोरिया राज्यमा मात्रै गत चौबिस घण्टामा २८ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । कोरोनाका कारण आठ जनाको मृत्यु भएको छ । सो सङ्ख्या गत १३ हफ्ताको सबैभन्दा कम हो ।

सङ्क्रमितहरूको सङ्ख्या घटिरहे पनि राज्यका प्रिमियर डेनियल एन्ड्रूजले लकडाउनलाई तत्काल खोल्दा छिटो हुने भन्दै आगामी ११ दिनसम्म कोरोनाको स्थितिले बुझ्नुपर्ने बताएका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ