Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : कालोबजारी गर्नेमाथी कारबाहीदेखी नेपालमा रेल

नेपाल अपडेट : कालोबजारी गर्नेमाथी कारबाहीदेखी नेपालमा रेल


काठमाडौं । सरकारले कालोबजारी गर्नेमाथीको कारबाहीलाई तिब्रता दिएको छ । भारतबाट नेपाल आउदै गरेको रेल र लामो दूरीको यातायात खुलेसँगै बढेको काठमाडौं उपत्यकाको ओहोरदोहोर लगायत नेपालमा चर्चा र विभिन्न सञ्चारमाध्यममा महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

कालोबजारी बिरुद्ध सरकारको कारबाही
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनका क्रममा कैफियत भेटिएका ८ व्यवसायीलाई १४ लाख ७० हजार रुपैया जरिवाना गरेको छ । बिहीबार अनुगमनका क्रममा कालोबजारी गरेको पाइएपछि विभागले आलुप्याज व्यवसायीसहित खाद्यस्टोर र पानी उद्योगलाई कारबाही गरेको हो । कारवाहीमा परेका ६ जना आलुप्याज व्यवसायीसँग विभागले ९ लाख ६५ हजार रुपैया जरिवाना तिराएको छ भने खाद्यस्टोरबाट २ लाख ५५ हजार र पानी उद्योगलाई २ लाख ५० हजार जरिवाना अशुलेको छ । भारतमा प्याज निर्यातमा प्रतिबन्ध लगाइएसँगै नेपालमा प्याजको कालोबजारी सुरु भएपछि उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्ले बजार अनुगमन सुरु गरेका थिए । अहिले मन्त्रीकै निर्देशनका आधारमा विभागले बजार अनुगमन र गलत गर्नेमाथीको कारबाहीलाई तिब्रता दिएको छ ।

४ लाख ६५ हजार नक्कली नोट बरामद
ललितपुरको ताल्छीखेलबाट प्रहरीले ४ लाख ६५ हजार बराबरको नक्कली नोट बरामद गरेको छ । ललितपुर महानगरपालिका–१४ ताल्छीखेलबाट १ हजार दरका ४ सय ६५ थान नक्कली नोट बरामद गरेको ललितपुर प्रहरीले जानकारी दिएको हो । ताल्छीखेलस्थित जयनाथ दुर्गा जेम्स एण्ड ज्वेलरी सुन पसलमा आएका २ जना अपरिचित पुरुषले ५ तोला बराबरको सुनको हार खरिद गर्ने क्रममा नक्कली नोट दिएर फरार भएका थिए । महानगरीय प्रहरी वृत्त सातदोबाटोका अनुसार ५ गड्डीमा ४६५ थान नक्कली नोट र प्रत्येक गड्डीको माथिल्लो भागमा १ १ थान सक्कली नोट राखेको अवस्थामा नक्कली नोट बरामद गरिएको थियो । सुन पसलेका अनुसार उनीहरु बिल समेत नलिई फरार भएका थिए । प्रहरीले नक्कली नोट दिएर फरार भएकाहरुको खोजीलाई तिब्रता दिएको छ ।

शुक्रबार जनकपुरमा रेल आइपुग्दै
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालन गरिने रेलको सेट भारतबाट शुक्रबार नेपाल आइपुग्ने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रका अनुसार भारतमा केही समय पहिले नै निर्माण भइसकेको रेल सेट शुक्रबार जनकपुर ल्याउन लागिएको हो । कुनै किसिमका समस्याको सामना गर्नु नपरेमा शुक्रबार रेल सेट जनकपुर आइपुग्नेछ । दुई देशको समझदारीअनुसार गर्नुपर्ने हुँदा कानूनी समस्या आउनसक्ने सम्भावना भए पनि सकेसम्म सबै बाधा फुकाइएको रेल विभागले जानकारी दिएको छ । भारतको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको कुर्था–जयनगर खण्डमा आवश्यक कानून बनाएर दशैँ–तिहारपछि रेल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरेको रेल्वे कम्पनीले आवश्यक जनशक्ति भर्ना गर्ने प्रक्रिया अघि बढाएको छ । संसदमा अहिले रेलसम्बन्धी बिधेयक छलफलका क्रममा रहेको छ । जयनगरदेखि धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको सो रेलमार्गको सबै भौतिक पूर्वाधार निर्माण भइसकेको छ । कुर्थाबाट बिजलपुराखण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर सम्पन्न भएपछि त्यहाँसम्म थप क्षेत्रमा विस्तार गरिने सरकारी लक्ष्य छ ।

तपाईको मास्क खै ? 
लामो तथा छोटो दूरीका सार्वजनिक यातायात सञ्चालनमा आएसँगै ट्राफिक प्रहरीले ‘तपाईंको मास्क खोई ?’ अभियान सञ्चालनमा ल्याएको छ । देशका विभिन्न चेकपोष्टहरुमा निगरानी गरेर यात्रुले मास्क लगाए नलगाएको निगरानी गर्न यस्तो अभियान सञ्चालन गरेको बताइएको छ । कोरोना भाइरसको महामारीबाट जोगिन तथा यात्रामा अनिवार्य मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान शुरु गरिएको ट्राफिकको दाबी छ । मास्क, पञ्जा र सेनिटाइजरको प्रयोगले कोरोनाबाट बच्न मद्दत पुर्याउँछ भन्ने उद्द्श्यले अभियान चलाएको चलाएको प्रहरीले मास्क नहुने यात्रुलाई मास्क दिएको छ । बुझेर पनि लापरबाही गर्ने बानी भएकाले स्वास्थ्य सुरक्षाप्रति सर्तक रहन अभियान चलाइएको ट्राफिक प्रहरीको भनाई छ । ‘तपाइँको मास्क खोई ?’ लेखेको प्लेकार्ड लिएर सचेतनाका लागि चलाइएको अभियान ट्राफिक प्रहरीले सबै ७७ जिल्लामा लागू गरेको छ ।

बिहिबार ५ हजार बढीले काठमाडौं छाडे, ४ हजार ७५ भित्रिए
काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कबाट कम्युटर प्रणालीमार्फत् लामो दूरीका बस ‘टिकट बुकिङ’ खुला गरिएपनि टिकट लिन आउनेको भीडभाड बढ्न थालेको छ । सरकारले लामो दुरीका सवारी साधन सञ्चालन खुला गरेको पहिलो दिन बिहीबार नै काठमाडौं उपत्यकामा ४ हजार ७५ जना भित्रिएका छन् भने पाँच हजार ३ सय ३३ जना बाहिरिएका छन् । यात्रुबाहक सार्वजनिक सवारी साधनबाट भित्रने र बाहिरिनेको संख्या भने विगत सामान्य समयको भन्दा न्यून छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यात्रुबाहक सार्वजनिक सवारी साधनबाट ९ सय ४९ जना उपत्यका भित्रिदा एक हजार ४ जनाले उपत्यका छाडेका छन् । कोरोना महामारी नियन्त्रणका लागि भन्दै गत चैत ६ गतेयता लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा आउन सकेका थिएनन् । गत सोमबार मात्रै सेप्टेम्बर १७ तारेखबाट लामो दूरिको यातायात सेवा सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको थियो ।

 



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ