Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : कोरोना, मलको जोहोदेखी कैदको माफि मिनाहासम्म

नेपाल अपडेट : कोरोना, मलको जोहोदेखी कैदको माफि मिनाहासम्म


काठमाडौं । कोरोना संक्रमणको उच्च रेकर्ड बन्दैगर्दा देशमा पैचोमा मल माग्नुपर्ने अवस्था छ । कैदीबन्दीको माफि मिनाहा र डा. केसीको जीवन रक्षा लगायत नेपालका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोनाको उच्च रेकर्ड
पछिल्लो २४ घण्टामा उच्च रेकर्ड बनाउँदै २ हजार २० संक्रमित थपिएका छन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ पुगेको छ । यी मध्ये ९ हजार २९५ जना संस्थागत आइसोलेसनमा र ८ हजार ८८ जना होम आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा विभिन्न कोभिड अस्पतालबाट ८७१ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ४३ हजार ८ सय २० पुगेको छ । संक्रमितमध्ये १७३ जना आईसीयूमा र ३६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न कोभिड अस्पतालमा उपचाररत ७ जना संक्रमितको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ सय ९० पुगेको छ ।

२८९ कैदीबन्दीको कैद मिनाहा माफी
राष्ट्रपति विद्यादेवी भण्डारीबाट २८९ जना कैदी बन्दीले कैद मिनाहा तथा माफी पाएका छन् । मन्त्रिपरिषद्को सिफारितमा शनिबारदेखि लागू हुने गरी हेमराज तुम्वाहाम्फेसहित २८९ जनाले संविधान दिवसको अवसरमा माफी पाएका हुन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरुले संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ र फौजदारी कसुर (कैद कट्टा) नियमावली, २०७६ को व्यवस्था अनुसार कैद मिनाहको सुविधा पाएको बताइएको छ । राम दयाल मण्डल खत्वेमथी अदालतबाट भएको फैसलाबमोजिम लागेको कैद र जरिवानसमेत माफी गरिएको छ । यसरी कैद मिनाहा पाउने देशका विभिन्न कारागारमा कैदजरिवाना भुक्तान गरिरहेको कैदी बन्दी छन् ।

डा. केसीको जीवन रक्षाका लागि चिकित्सक संघको ध्यानाकर्षण
नेपाल चिकित्सक संघले जुम्लामा अनशनरत डा. गोविन्द केसीका जायज माग सम्बोधन गरेर जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएको छ । डा. केसी अनशन बसेको पाँच दिन भइसक्दा पनि सरकारले कुनै चासो नदिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जिकिर गर्दै चिकित्सक संघले जायज माग सम्बोधन गरेर जीवन रक्षा गर्न माग गरेको छ । संघका महासचिव डा. बद्री रिजालले आज एक विज्ञप्ती जारी गर्दै डा. केसीका माग वार्तामार्फत् सम्बोधन गर्न सुझाब दिइएको छ । नेपाल चिकित्सक संघका आजीवन सदस्यसमेत रहेका प्रा.डा. केसी जुम्लाको चन्दननाथ नगरपालिका–६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा गत भदौ २९ गतेदेखि १९ औं अनशनमा छन् । अनशन लम्बिदा डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ ।

कहिले आउला बंगलादेशबाट मल ?
सरकारले औपचारिक निर्णय नै गरेर बंगलादेशबाट ५० मेट्रिकटन युरिया मल पैँचोमा ल्याउने प्रक्रिया अघि बढाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बंगलादेशबाट मल ल्याउन कृषि मन्त्रालयलाई सहमति दिएको थियो । मल ल्याउने विषयमा अनौपचारिक सहमति बने पनि औपचारिक प्रकृया सुरु भएको दुई महिनाभित्र मल नेपाल ल्याइसक्ने जनाएको छ । बंगलादेशले ब्लकमा (खुल्ला) उपलब्ध गराउने मललाई प्याकेजिङ गरेर ल्याउनकालागि फाष्ट ट्र्याक टेण्डर प्रक्रिया अवलम्बन गरिने मन्त्रालयले जानकारी दिएको छ । बंगलादेशसँग पैँचोमा मागिएको मल नेपालले ग्लोबल टेण्डर गरेर ८ महिनाभित्र बंगलादेशनै लगिदिने सहमतिमा उल्लेख छ ।

सञ्चारकर्मीमाथी प्रहरीको दुव्र्यवहार
स्वतन्त्र रुपमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारहरूमाथि प्रहरीले गरेको दुव्र्यवहारको नेपाल पत्रकार महासंघले भत्सर्ना गरेको छ । समाचार संकलन गरिरहेका अनलाइनखबरका पत्रकारद्वय रोयल आचार्य र चन्द्रबहादुर आलेलाई शुक्रबार नयाँ बानेश्वरमा प्रहरी निरीक्षक डिल्लीराम सापकोटा लगायतले हातपात गरेका थिए । संविधान दिवसका विषयमा जनमत लिइरहेका सञ्चारकर्मीमाथि प्रहरीले गरेको हातपात र पक्राउ प्रयासको महासंघले विरोध गरेको छ । आजै, बबरमहलमा सिराहा, लहानका बब्लु गुप्ता प्रहरी निरीक्षक केशर न्यौपाने सहितको टोलीबाट कुटिएका थिए भने माइतीघरमा प्रहरीको कुटाइबाट गम्भिर घाइते भएका मनिष श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ