Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : सार्वजनिक यातायातको जोखिमदेखी पशुपति मन्दिर खोल्ने तयारीसम्म

नेपाल अपडेट : सार्वजनिक यातायातको जोखिमदेखी पशुपति मन्दिर खोल्ने तयारीसम्म


काठमाडौं । कोभिडको जोखिम कायमै रहँदा सार्वजनिक यातायातलाई खुल्ला गरिएको छ । फेवातालमा डुंगा सञ्चालनमा आउँदा पशुपतिनाथ समेत खोल्ने तयारी गरिदैछ । यीसँगै नेपालका पछिल्ला प्रमुख पाँच खबर यस्ता छन् ।

कोभिड–१९ अपडेट
पछिल्लो २४ घण्टामा १ हजार ३२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको छ । काठमाडौँका सबैभन्दा बढी ६०२, १०१, ललितपुरका ६४ सहित १ हजार ३२५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । पछिल्लो २४ घण्टामा १० जनाको मृत्युभएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ सय ११ पुगेको छ । आइतबार ९ सय ६६ जना कोरोना संक्रमित देशका विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ४६ हजार २ सय ३३ पुगेको छ । देशभर संक्रिय संक्रमितको संख्या १७ हजार ४ सय ७८ रहेको छ । ७ हजार ४ सय ५१ जना क्वारेन्टिनमा छन् । देशभर १९० जनाको आईसीयुमा र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । विदेशमा रहेका २ सय ४४ नेपालीले कोरोनाबाट ज्यान गुमाएका छन् ।

सार्वजनिक यातायातमा जोखिम
कोरोना भाइरसको सङ्क्रमण यथावत रहँदा खुलेका सार्वजनिक यातायातको आवतजावत जोखिमपूर्ण देखिएको छ । अधिकांश भाडाका सवारी साधनमा स्यानिटाइजर नराखिँदा र भौतिक दूरी कायम नगरिँदा जोखिम बढेको पाइएको हो । जोखिम व्यहोरेर सार्वजनिक सवारी साधनमा यात्रा गर्दा भाडामात्र बढी लिइएको अधिकांश यात्रुहरुको गुनासो छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन भएको देखिदैन । विभागले चार किमीको भाडा १४ तोकेको छ । क्षमताको ५० प्रतिशतमात्र यात्रु राख्दा ५० प्रतिशत बढाएर न्यूनतम भाडा २१ हुन्छ । तर अहिले यात्रुले चढ्नासाथ न्यूनतम भाडा २५ तिर्नु परेको छ । उपत्यकाको मुख्य शहरी क्षेत्रबाट काठ क्षेत्रमा जाने सवारीमा बढी भीड हुने गरेको छ । तोकिएभन्दा बढी यात्रु राखेर मनपरी भाडा लिने सवारी नंं महानगरीय ट्राफिक प्रहरी महाशाखाको १०३ मा टिपाउँदा पनि कारबाही नभएको गुनासो यात्रुको छ ।

फेवातालमा डुंगा चल्न थाले
पर्यटकीय नगरी पोखरास्थित फेवातालमा लामो समयपछि डुंगा सञ्चालनमा ल्याइएको छ । कोरोना महामारि रोक्न गरिएको चौत ११ गतेको लक डाउनका कारण लामो समयदेखि बन्द डुंगा असोज २ गतेबाट सञ्चालनमा आएको हो । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै जारी भएको लक डाउनका कारण ६ महिनादेखि बन्द रहेको डुंगा चलाउन सरकारले असोज १ गतेबाटै अनुमति दिएपनि मर्मत सम्भारका कारण २ गतेबाट मात्र सञ्चालनमा आएको फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिनुभयो । डुङ्गामा सवार गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, सेनिटाइजरको प्रयोग गर्नुपर्ने, लाइनमा बस्दा भौतिक दूरी कायम गर्नुपर्ने लगायतको मापदण्ड तयार पारिएको छ । डुङ्गा सञ्चालनका लागि यात्रुसँग लिने भाडा समेत पुरानै कायम गरिएको छ ।

बोर्डर आउट पोस्ट बनाउन पाँच कठ्ठा जग्गा दान
महाकाली नगरपालिका–१० का खडकबहादुर बस्नेतले सशस्त्र प्रहरीलाई पाँच कट्ठा जग्गा दान गर्नुभएको छ । उहाँले सुन्दरनगर र गुरुङ टोल बीचमा रहेको पाँच कट्ठा जग्गा प्रहरीलाई बोर्डर आउट पोष्ट राख्न भन्दै दान स्वरुप उपलब्ध गराउनुभएको हो । सशस्त्र प्रहरीको आग्रहअनुसार सीमा सुरक्षामा सहयोग पुगोस भनेर भवन लगायतका संरचना बनाउन जग्गा दान गरेको बस्नेतको भनाई छ । बस्नेतले महाकाली नगरपालिका प्रमुख वीरबहादुर सुनार, नगर प्रवक्ता दिलबहादुर सिजाली, महाकाली–१० का अध्यक्ष नरबहादुर सुनार लगायतको रोहवरमा जग्गाको मञ्जुरिनामा समेत दिइसक्नु भएको छ । दोधारा चाँदनी क्षेत्रमा बस्दै आएको बस्नेत परिवारले यसअघि पनि महाकाली– १० कै हरिओम आधारभूत विद्यालयलाई चार कट्ठा जग्गा उपलब्ध गराएको छ ।

पशुपति मन्दिर खुल्ला गरिदै
पशुपति क्षेत्र विकास कोषले दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी थालेको छ । कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर खोल्न लागिएको हो । दुई–दुई मिटरको भौतिक दूरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ । विगतमा दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभएपनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिनुभयो । मन्दिरभित्र प्रवेश गरेपछि पुरै परिक्रममा गर्न भने पाइने छैन । मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्ने व्यवस्था मिलाइएको छ । सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने गरि स्वास्थ्य सावधानिका पूर्वाधार व्यवस्थापन लगायतको काम पुरा गरिएको छ । भण्डारी र भट्टहरुलाई संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था भने हुनेछैन । अहिले नित्य पूजा नरोकिए पनि विशेष पूजा र दर्शन गर्न रोक लगाइएको छ । सरकारले अन्य सेवा क्षेत्र खुला गरेसँगै धार्मिकस्थलहरु पनि सञ्चालन गर्नुपर्ने माग राख्दै केही दिनअघि पशुपति क्षेत्रमा प्रदर्शन समेत भएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ