Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsहोटल क्वारेन्टिनका नाममा ठगी, सरकारी संयन्त्र किन बन्दैछन बेमतलबी ?

होटल क्वारेन्टिनका नाममा ठगी, सरकारी संयन्त्र किन बन्दैछन बेमतलबी ?


काठमाडौं । सरकारले विदेशमा अलपत्र नेपालीहरुको उद्धारमा चरम लापरवाही गरेको पाइएको छ । स्वदेश फिर्ता हुँदा सातदिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने ब्यवस्था गरेको सरकारले नेपाल फर्किदा होटलमा बस्ने ब्यवस्था मिलाएर मात्रै आउन भनेको छ । तर, महंगोमा होटेल बुकिङ गरेर स्वदेश फर्किएकाहरुलाई बिचौलियाले सस्तो होटेलमा राख्ने गरेका छन् ।

क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि तारे होटलदेखि सामान्य पर्यटकस्तरका होटलको सूची र मूल्य सार्वजनिक गरिएको छ । पर्यटकीय क्षेत्र ठमेल, ताहाचल, गौशाला, बत्तिसपुतली, दरबारमार्ग, लगायत होटललाई क्वारेन्टिनका रूपमा प्रयोग गरिने ब्यवस्था अनुसार नै विदेशमा रहेका नेपालीहरुले होटेल बुकिङ गरिरहेका छन् । बिदेशमा अलपत्र परेर स्वदेश आएका नेपालीहरुले होटलमा बस्दाको खर्च स्वयंले व्यहोर्नुपर्ने ब्यवस्था गरिएको छ । सोमबार मात्र नेपाल एयरलाईन्समा स्वदेश आएका २ सय ६० नेपालीले विदेशबाट बुक गरेको होटलमा अझ भनौँ आफूले तिरेको रकम अनुसारका होटलमा बस्न पाएनन् । उनीहरुलाई सामान्य होटल अर्थात गोगबुको सयपत्री गेष्ट हाउस लगायत अन्य १३ वटा सस्तो होटेलमा राखियो । अझ ७ दिनका लागि भनेर होटेल बुकिङ गरेका उनीहरुलाई ५ दिनमै पिसिआर गरी होटल छाड्न दवाव दिइएको छ ।

सरोकारवालाको जवाफ
(सिसिएमसी)का प्रवक्ता महेन्द्रप्रसाद गुरागाईसँग यस बिषयमा नेपाल ट्युबले जानकारी लिदा उहाँ होटेलको व्यवस्थाको बारेमा आफुलाई थाहा नभएको र पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयलाई जिम्मा दिएको भन्दै फन्छिनुभयो । यसपछि हामीले पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयमा टेलिफोन सम्पर्क गर्यौँ । मन्त्रालय पनि पर्यटन विभागको जिम्मेवारी भएको भन्दै जवाफ दिनबाट पन्छियो । सरोकारवाला सरकारी निकाय एकअर्कालाई देखाएर जिम्मेवारीबाट पन्छिने अनि विदेशबाट आउनेहरु सीसीएमसीले निर्धारण गरेको होटल र सोही अनुसारको मुल्य तिरेर स्वदेश आउँदै अर्कै सामान्य होटलमा बस्नुपर्ने । यो तथ्यले उद्धार उडानको होटल क्वारेन्टिनका नाममा समेत ठूलै अनियमितता भइरहेको छ भन्ने देखाएको छ ।

यस्तो छ विदेशबाट आउँदा बस्नुपर्ने होटल क्वारेन्टिनको मुल्य
पाँच तारे होटलमा एक जना बस्दा नौ हजार र दुई जना साझेदारीमा बस्नका लागि प्रतिव्यक्ति छ हजार तोकिएको छ । यस्तै, चारतारे होटलमा एक जनाको आठ हजार र दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार ५ सय, तीनतारे तथा डिलक्स रिसोर्टमा एक जनाको ६ हजार तोकिएको छ । दुई जनाको हकमा प्रतिव्यक्ति पाँच हजार, दुई तारेमा पाँच हजार र दुई जना भएमा प्रतिव्यक्ति तीन हजार ५ सय तोकिएको छ । शुल्क तिरे अनुसार उद्धार गरिएका नेपालीले होटल नपाउँदा र सरकारी पक्षबाट नै होटलको व्यवस्थापन नहँुदा उद्धारमा समेत ठगी धन्दा चलिरहेको छ । कतिपय होटल क्वारेन्टिन सञ्चालन गरिरहेको होटल व्यवसायी नै विदेशबाट आउनेहरुलाई राखे वापत सरकारले खडा गरेका बिचौलियाहरुलाई कमिसन दिनुपरेको स्विकार गरिरहेका छन् ।

उद्धारको विगत
उद्धार सुरुवात गर्दा महंगो उडान भाडा तिर्नुपरेको बारे यात्रुले गुनासो गरे । विभिन्न सञ्चारमाध्यमले समेत महंगो टिकट शुल्क लिएर समस्यामा परेर स्वदेश आउनेलाई ठगी गरिएको बारे समाचार प्रकाशन, प्रसारण भएपछि सरकार भाडा घटाउन बाध्य भयो । तैपनि नेपाल एयरलाइन्सले तोकेभन्दा महंगो शुल्क लिएर नीजि विमान कम्पनीले उद्धारमा विदेशमा समस्यमा परेका नेपालीहरुलाई महंगीको मारमा पारिरहे छ । यति मात्रै होइन उद्धार उडानबाट स्वदेश आएकाहरुले होल्डिङ सेन्टरबाट छुट्ने गाडी भाडामा समेत ठगिनु पर्यो । (यो उद्धार उडानबाट नेपाल आएका यात्रुको गुनासोको शारांस हो )

विगतमा उद्धार उडानबाट आएकाहरुले टिकट भाडा र गाडी भाडामा ठगिएको गुनासो गर्थे । अहिले उद्धार उडानबाट स्वदेश आउनेहरु होटल क्वारेन्टिनका नाममा ठगिएको गुनासो गरिरहेका छन् । सरकारले नै बिचौलिया परिचालन गरेर ठगी गरेको अभियोग लाग्दा यो समस्या समाधानमा सरकारी संयन्त्र गम्भिर देखिएका छैनन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ