Techie IT
Thursday December 3, 2020  |   बिहिबार, मंसिर १८, २०७७
गृहपृष्ठ » Breaking News » सडकबाट नागरिकको चित्कार– के हाम्रो बाँच्ने अधिकार छैन ? फोटोसहित

सडकबाट नागरिकको चित्कार– के हाम्रो बाँच्ने अधिकार छैन ? फोटोसहित


146 Views

काठमाडौं । काभ्रे पाँचखालका सञ्जीव राई पेशाले कुक हुन् । ३० वर्षभन्दा बढी समय कुक पेशामा रमाएका र लाखौँलाई विभिन्न परिकारको स्वाद चखाए उनी अहिले पेट कसरी पाल्ने ? कहाँ बस्ने भन्ने चिन्तामा छन् ।

चैतमा लकडाउन सुरु हुनुअघि सञ्जीव बौद्धको थकाली रेस्टुराँमा कुक थिए । लकडाउनसँगै उनको काम खोसियो । बेरोजगार बनेका सञ्जीवले चैतमा पाएको अलिकति तलबले कोठाभाडा तिरे । आम्दानी रोकिएपछि कोठाभाडा तिर्न र खान समस्या भएसँगै उनी लकडाउनकै बेला पाँचखालस्थित घर पुगे । असार १ मा लकडाउन खुलेपछि काम पाइने आसले फेरि काठमाडौं फर्किएका उनले धेरै होटल रेस्टुरेन्टमा पुगेर काम खोजे । बेरोजगार बनेर तिर्न नसकेको घर भाडा तिर्छु र आफू र परिवारका लागि थोरै भएपनि कमाउँछु भन्ने सोचेर काठमाडौं छिरेका सञ्जीवलाई अहिले पेट पाल्न उल्टै सडकमा आउनुपरेको छ ।

केही दिनअघिसम्म सञ्जीवले भनेका थिए– ‘यतै खुलामञ्चमा खाना खान्छु अनि कोठामा गएर सुत्छु । तीन महिनाको कोठाभाडा तिरेको छैन, घरभेटीले भाडा तिर, नभए कोठा खाली गर भनेका छन् ।’ तर शनिबार हामी खुल्लामञ्च पुग्दा सञ्जीव विगतभन्दा पनि निरास बनेर खाना खान आउँदै थिए । उनले आसु झादै भने– ‘चार महिनादेखि भाडा तिर्न नसकेको वसन्तपुरस्थित कोठाबाट सबै सामान जफत गरेर घरबेटीले निकालिदिए । आजकल दिनभर खुल्लामञ्च, रत्नपार्क वरिपरि टोलाउँछु, रातपरेपछि नयाँ सडकको पीपलबोटमा पुगेर रात बिताउँछु ।’ यति पीडा सुनाएपछि उनी भक्कानिन थाले ।

३० वर्षभन्दा बढी समय कुकको काम गरेका सञ्जीवले जीवनमा मागेरै खानुपर्ला भन्ने कहिल्यै सोचेका थिएनन् । आँसुका बलिन्द्र धारा बगाइरहेका सञ्जीव आफ्नै हालत देखेर आफैँलाई सम्हाल्न नसक्ने अवस्थामा छन् । खुलामञ्चमा मनकारीहरूले बाँडेको खाना पनि रुँदै खाइरहेका सञ्जीव आफैँसँग प्रश्न गर्छन्, ‘के भयो जीवनमा ? यही हातले कतिलाई खाना पकाएर खुवाएको हुँ । आज मेरो हालत यस्तो भयो । गरिखाऊँ कि मरिजाऊँ भन्ने दोधारमा छु ।’ जागिर खोसिएपछि नयाँ जागिर खोज्दै होटेल, रेस्टुराँ सबै ठाउँ पुगेका सञ्जीवले जहाँ पुग्दा पनि जागिर छैन भन्ने जवाफ पाएका छन् । काठमाडौंमा सहारा बनेकी दिदीको समेत साउन २७ मा हृदयघातबाट निधन भएपनि एक्लो बनेका उनी सडकमा घुम्दा, खाना खादा जतिबेलापनि उनै दिदीलाई सम्झिन्छन् । घरपेटीले जफत गरेको सामानमध्ये दिदीले दिएको कालो कोट र पाइन्ट मात्रै पाएपनि अरु केही चाहिन्थेन, उनी भन्छन् ।

काभ्रे पाँचखालमा उनका तीन छोरा छन् । गाउँमा पनि आर्थिक अवस्था निको कमजोर छ । काठमाडौंमा खाना नपाएर गाउँ आएको भन्ने थाहा पाएपछि समाजले खिल्ली उडाउने डरले पनि उनी गाउँ जान चाहँदैनन् । तर शहरमा समेत बाच्न गाह्रो भएको उनी सुनाउँछन् । खाना खान नपाएर सडकको वास भएको समयमा पुलिस या कसैले ‘ए जँड्याहा’ भनेको सुन्दा सञ्जीवको मुटु बिझाउँछ । ‘लामो समय सडकको वास हुँदा आँखा सुन्निदो रहेछ । जिउ गल्दो रहेछ । अनुहार पनि सुन्निदो रहेछ । अनि मान्छेले जँड्याहा भन्छन्,’ सञ्जीवले सुनाए । ‘एक छाक भात खान नपाएर सडकमा आएको मान्छेलाई समाज र राज्यले गर्ने व्यवहार यहि हो त ? के हामी गरिबहरुले यो देशमा बाँच्ने अधिकार छैन ?’ उनले गुनासो पोखे ।

सम्मानित पेशाबाट बेशाहारा बन्दै सडकमा आइपुगेका सञ्जीव कोभिड–१९ को महामारिसँगै समस्यामा परेका हजारौँ हजारमध्येका एक प्रतिनिधि पात्र हुन् । रोजगारीसँगै गास समेत खोसिएर बाध्यतावस सडकमा आइपुगेकाहरुलाई राज्यले किन साहारा दिन चाहादैन ? खुल्लामञ्चमा दयालुहरुको खानाबाट जीवन धानिरहेकाहरु सरकारसँग यस्तै प्रश्न गरिरहेका छन् ।

क्याटेगोरी : Breaking News, Breaking News, Health-lifestyle, Nepal, News



प्रतिक्रिया दिनुहोस

-Advertisement-