Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : बयलपाटा अस्पतालमाथीको बेवास्थादेखी नाकामा पीसीआरको मागसम्म

नेपाल अपडेट : बयलपाटा अस्पतालमाथीको बेवास्थादेखी नाकामा पीसीआरको मागसम्म


काठमाडौं । कोभिड–१९ बारेको अपडेट, सुदुपश्चिमको निशुल्क उपचारसेवा दिने बयलपाटा अस्पतालमाथी भइरहेको बेवास्था, सस्तोमा डलर सटहीका नाममा ठगि गर्ने गिरोह पक्राउ लगायत प्रमुख पाँच खबर यस्ता छन् ।

कोभिड–१९ अपडेट
पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । यी मध्ये ४७७ जनाको मृत्यु भएको छ भने ५३ हजार ८९८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा मात्र देशका विभिन्न अस्पतालबाट ८ सय ८५ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । देशभरमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ छ । यी मध्ये २२५ जना आईसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । १० हजार ६९८ जना होम आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा मात्रै कोरोना संक्रमणबाट ११ जनाको मृत्यु पुष्टि भएको छ । काठमाडौंका तीन, ललितपुरका दुई तथा झापा, बाँके, बारा, रुपन्देही, बर्दिया र अछाम एकएक जनाको मृत्यु भएको हो ।

सस्तोमा डलर साट्ने भन्दै ठगि गर्ने गिरोह पक्राउ
सस्तोमा डलर सटहीको प्रलोभनमा पारेर ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोकका ३६ वर्षीय खेलबहादुर तामाङ, ३३ वर्षीय रेलबहादुर तामाङ, ५६ वर्षीय श्यामबहादुर तामाङ, २५ वर्षीय रामकृष्ण तामाङ र ३२ वर्षीय कान्छी तामाङ सस्तोमा डलर मिलाईदिने भन्दै कागजको पोको भिडाएर ठगी गरेको अभियोगमा पक्राउ परेका हुन् । भक्तपुरकी एसपी तारादेवी थापाले एउटै शैलीबाट सर्वसाधारण लुटिएको घटना निरन्तर आउन थालेपछि ठगीमा संलग्न गिरोह पक्राउ गरिएको जानकारि दिनुभयो । यो गिरोहले भूकम्प जाँदा जमिनमुनि डलरको पोको फेला पारेको, गाउँका एक जना सोझो दाइ ट्रेकिङ गाइड भएको विदेशी नागरिकको मृत्युपछि उनीसँग डलर हातमा आएको बाहाना गर्दै सस्तोमै डलर दिने भन्दै विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर ठगि गरेको थियो । थापाका अनुसार डलर साट्ने वेलामा दृश्यमा दुईजना देखिएर अन्य व्यक्ति रेकी गर्न बस्ने गरेको पाइएको छ । संगठित रुपमा लुटपाट गर्ने यो गिरोहबाट ११ र २७ लाख ठगिएको भन्दै दुईजना पीडित प्रहरीको सम्पर्कमा आएका छन् भने हालसम्म ५४ लाख ठगिएको उजुरी परेको छ । थप पीडित भएमा उजूरी सहित प्रहरी कार्यालयमा उपस्थित हुन आग्रह गरिएको छ ।

थला पर्दै सुदुरपश्चिमको बयलपाटा अस्पताल
सुदूरपश्चिमको ठूला अस्पतालमध्ये एक हो, बयलपाटा अस्पताल । जहाँ बिरामीले टिकट काट्न पैसा तिर्नुपर्दैन । औषधि किन्न निजी औषधि पसलमा धाइरहनुपर्दैन । अस्पतालकै फार्मेसीमा सम्पूर्ण औषधि निःशुल्क उपलब्ध हुन्छ । तर यो सबै सेवाका लागि अनुदान दिइरहेको गैरसरकारी संस्था न्याय हेल्थ नेपालले हात झिक्न थालेपछि पछिल्लो दुई वर्षदेखि अस्पताल थला पर्न लागेको छ । कर्मचारीलाई तलब खुवाउनसमेत अस्पताललाई हम्मेहम्मे पर्दा अछाम, बाजुरा, डोटीका जनताले पाइरहेको स्वास्थ्य सेवासमेत कटौती हुने चिन्ता बढ्न थालेको छ । यहाँ मुगु, हुम्ला, कालीकोट र दैलेखबाट समेत बिरामी आउने गरेका छन् । अहिलेसम्म साढे आठ लाख बिरामीलाई सेवा दिइएको अस्पतालका स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनले जानकारी दिनुभएको छ । १९ वटा भवनमा सञ्चालित अस्पतालमा ५० शैय्या छ, दुईजना हाडजोर्नी र प्रसूति विशेषज्ञ डाक्टर छन् ।

चारजना एमबीबीएस र एकजना दाँतका डाक्टर छन्, १४ जना हेल्थ असिस्टेन्ट, १२ अहेब, २० स्टाफ नर्सले सेवा दिइरहेको एक्सरेमा दुई र फार्मेसीमा तीनजना कर्मचारी कार्यरत छन् । सरकारले भने यो १२ वर्षमा बयलपाटाको लागि २० करोड मात्र लगानी गरेको छ । दाताले बजेटबारे अस्पतालसँग सम्झौता नै नगरेपछि प्रदेश र स्थानीय सरकारसँग कम्तिमा १२ करोडको बजेट उपलब्ध गराइदिन आग्रह गरिएकोमा प्रदेश सरकारले साढे सात करोड दिने निर्णय गरेको छ । अस्पताललाई पहिलेकै जसरी सेवा सुरु गर्न कम्तिमा पनि १२ करोड रुपैयाँको बजेट आवश्यकता पर्छ । दुर्गममा विशेषज्ञ डाक्टर पु¥याएर सेवा दिइरहेको अस्पताल संकटमा परेपछि डा. केसीले त्यसलाई पनि आफ्नो अनसनको मागमा राखेका छन् । तर सरकारले न डा. केसीसँग संवाद सुरु गरेको छ, न बयलपाटा अस्पताललाई ले जिवन्त राख्न चाहेको छ । के दुर्गममा निशुल्क उपचार सेवा दिने बयलपाटा जस्ता अस्पतालमा सरकारको नजर पुग्नु पर्दैन ?

अबको केहि दिनमा दोहा काठमाडौं सिधा उडान
आगामी १ अक्टोबरदेखि दोहा र काठमाडौंबीच नियमित उडान सुरु हुने भएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार दैनिक तीन वटा एयरलाइन्सले उडान भर्नेगरि तालिका सार्वजनिक गरिएको हो । नियमित उडानअन्तर्गत कतार एयरवेज, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक एक–एक उडान भर्नेछन् । अब कतारबाट नेपाल आउने तथा कतार जाने यात्रुहरुले सम्बन्धित एयरलाइन्सका एजेन्सीहरुमा टिकटका लागि सम्पर्क गरी सीधै नेपाल कतार उडान भर्न पाउनेछन् । यात्रुले उडानका लागि ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ भएको प्रमाण र कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको वेभसाइटमा राखिएको अनलाइन इन्ट्री फाराम भरेर तत्पश्चात आउने बारकोड वा प्रिन्ट कपी अनिवार्य रुपमा समावेश गर्नुपर्नेछ । नियमित उडान सुचारु भएपछि दूतावासको फाराम भने भर्नु नपर्ने भएको छ । यस्तै, दोहाबाट ४७ औं उडानमार्फत १४६ नेपाली स्वदेश फर्किएका छन् । दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको २३९२ उडानमार्फत ८ महिलासहित १४६ नेपाली स्वदेश फर्किएको कतारस्थित नेपाली दूतावासले जानकारी दिएको हो ।

चीनले भन्यो– रसुवा नाकामा पीसीआर ल्याब राखौँ
चीनले नाका नियमित सञ्चालन गर्न नेपालको तर्फबाट स्वास्थ्य सुरक्षा सावधानी नपुगेको जानकारी गराएको छ । नाका सञ्चालनपूर्व स्वास्थ्य सुरक्षाको तयारीबारे नेपाली भन्सार प्रशासनलाई पत्र पठाउँदै चीनले रसुवामा पीसीआर ल्याब राख्न र अन्य स्वास्थ्य सुरक्षाको उपाय कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको हो । रसुवा भन्सार कार्यालयका अनुसार नाकाको काममा संलग्न व्यक्तिको रसुवामै तत्काल पीसीआर परीक्षण हुने व्यवस्था गर्न तथा सामान लिएर आउने सवारी साधनको प्रभावकारी डिसइन्फेक्सन गर्नुपर्ने चिनिया पक्षको माग छ । रसुवाका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले चीनले आग्रह गरेपछि रसुवामा पीसीआर ल्याब राख्न भन्सार विभाग मार्फत पहल थालिएको बताउनुभयो । चीनबाट नेपालका लागि सामान भित्र्याउन सहभागी एक नेपाली श्रमिकलाई कोरोना संक्रमण देखिएसँगै चिनियाँ पक्षले भदौ १७ गतेदेखि रसुवागढी नाकाबाट हुने ब्यापार रोकेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ