Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsकोरोना कहर : संक्रमित गर्भवती महिलालाई अस्पतालले भर्ना लिएन, घरमै अक्सिजनको साहारा

कोरोना कहर : संक्रमित गर्भवती महिलालाई अस्पतालले भर्ना लिएन, घरमै अक्सिजनको साहारा


काठमाडौं, पर्सा । वीरगञ्ज रामगढवाकी २६ वर्षीया गर्भवती महिलालाई अस्पतालले भर्ना लिन नमानेपछि अक्सिजनसहित घरमै राखिएको छ । हल्का ज्वरो र खोकीको लक्ष्यण देखिएकी महिलालाई शनिबार अचानक स्वासप्रश्वासमा समस्या देखिएसँगै आफन्तले सीता अस्पताल पुर्याए ।

महिलाको गर्भको नियमित जाँच गरिरहेको प्रसुति रोग विशेषज्ञ डा. निलम चौरसियाले स्वास प्रश्वासको समस्या भएकाले जनरल फिजिसियनलाई देखाउन सल्लाह दिएसँगै एडभान्स अस्पताल लगियो, त्यहाँ डा. उदयनारायण सिंहले जाँच गर्दा कोभिड संक्रमणको शंका गरेर पीसीआर परीक्षणका लागि नारायणी अस्पताल पठाइयो । प्रयोगशालाले अपरान्ह ४ बजेतिर उनलाई कोरोना संक्रमण भएको खबर ग¥यो । गर्भवती, त्यसमाथि लक्षणसमेत भएकाले नारायणी अस्पतालले कोभिड अस्पताल लैजान सुझाव दिएपछि उनीहरु नेसनल मेडिकल कलेज कोभिड अस्पताल पुगे । अस्पतालबाट राख्न नसकिने जवाफ पाएका आफन्तहरु गुनासो गर्न जिल्ला प्रहरी कार्यालय गएपनि प्रहरीले गेटबाटै चिकित्सकले भने अनुसार गर्नू भन्दै पठाइदिए । अहिले डर र जोखिमकाबीच परिवारले गर्भवतीलाई घरमै राखेका छन् ।

‘ज्वरो खोकी छ, गर्भवती महिला संक्रमित हुनुहुन्छ भन्दा पनि नेसनल मेडिकल कलेजले स्थापना गरेको बाबा आइसोलेसनमा राख्न नमानेको आफन्तको आरोप छ । पहिले कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन भएको नारायणी अस्पतालमा हाल जनरल सेवा सञ्चालन गरिएको छ र कोरोना संक्रमितको उपचार गरिएको छैन । कोरोना संक्रमितको संख्या घटेपछि अस्थायी कोरोना अस्पताल वीरगञ्ज हेल्थकेयर पनि जनरल अस्पतालमा परिणत भएको छ । गण्डक अस्पतालका सबै संक्रमित डिस्चार्ज भइसकेपछि अब वीरगञ्जमा नेसनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन) मात्रै सञ्चालनमा छ । नारायणीमा आईसीयूसहित १५ बेडको अब्जर्भेसन वार्ड छ । वैकल्पिक व्यवस्था नगरी धमाधम कोरोना अस्पताल बन्द गरिँदा बिरामीहरु सधै मारमा परेका छन् ।

यसअघि वीरगञ्जमा मृगौला रोगीमा कोरोना संक्रमण पुष्टि हुँदा डायलायसिस गराउन समस्या भएको थियो । सुत्केरी हुने दिन नजिकिँदै गर्दा अस्पताल लैजानुपर्नेमा उल्टै संक्रमित भएकै कारण घरमा ल्याएर राख्नु पर्दा आफन्त चिन्तित छन् । सामान्य अवस्था भएको भए घरमै राख्दा डर हुने थिएन । तर उनको स्वास्थ्य अवस्था राम्रो छैन । १५ हजार रुपैयाँ धरौटी राखेर आफन्तले घरमै अक्सिजनको बन्दोबस्ती मिलाएका छन् । शनिबार रातिदेखि अक्सिजन दिइएको छ । सबैतिर हारगुहार गर्दा अस्पतालले राख्न नमानेपछि घरमै ल्याएर राख्नुपरेको संक्रमितका दाजु दिनेश पण्डितले जानकारी दिनुभयो । कोरोना लागेका बिरामीको कोरोना अस्पतालमा निःशुल्क उपचार हुन्छ भन्ने सुनेका उनी आफ्नै संक्रमित गर्भवती बहिनीले स्वास्थ्य रेखदेख गर्दै आएका स्थानीय स्वास्थ्यकर्मीदेखी कोभिड अस्पतालबाट समेत उपचारमा सहयोग नपाएको दुखेसो पोख्छन् ।

संविधानले मौलिक हकका रुपमा शिक्षा र स्वास्थ्यलाई राखेर सबैको पहुँचमा सहज र सर्वसुलभ उपचार सेवा अनि निशुल्क शिक्षाको व्यवस्था गरेको के यहि हो त ? उपचारका लागि अस्पताल चाहार्दा पनि भर्ना नपाउने बिरामीको तर्फबाट सरकारलाई हाम्रो प्रश्न ।

अनलाईनखबर बाट



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ