Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsअब यी सर्तनामा पालना गरेर नेपाल आउन सक्छन विदेशी पर्यटक

अब यी सर्तनामा पालना गरेर नेपाल आउन सक्छन विदेशी पर्यटक


काठमाडौं । सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकलाई अनअराइभल भिसा सुविधा दिने भएको हो । पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेसँगै पदयात्रा र पर्वतारोहण खुल्ला हुने भएको छ ।

कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्ने तयारी भएसँगै पर्यटन व्यवसायीहरु खुसी देखिएका छन् । पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्नेछ । सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन पाउने छन् । अध्यागमन विभागले अनअराइभल भिसा खुला गरेको छ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने शर्त स्वास्थ्य मापदण्डमा राखिएको छ ।

पर्वतारोहण र पदयात्रामा आउँदा पालना गर्नुपर्ने सर्तहरु

७२ घण्टाभित्रको पीसीआर रिपोर्ट

नेपाल आउने सबै पर्यटकले बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्नेछ । यो प्रमाणपत्र अध्यागमन विभागलाई भिसाका समयमा पेश गर्नुपर्नेछ । अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने छ । होटल बुकिङको कागजात भीसाको समयमा देखाउनुपर्ने छ । नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ ।

सात दिन क्वारेन्टिन बसाई

नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्नेछ । क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटकले आफ्नै खर्चमा पीसीआर परीक्षण गर्नुपर्नेछ । परीक्षण रिपोर्ट नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान दिइनेछ । नेगेटिभ नआएसम्म होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको छ ।

सहयोगीको समेत १ लाखसम्मको बिमा

नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको समेत कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा अनिवार्य गरिएको छ । नेपालमा पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ । पर्यटकले यसअघि विभागबाट जारी भएका निर्देशनहरु समेत अनिवार्य रुपमा पालना गर्नुपर्नेछ । पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत भएपनि बाह्य पर्यटन कहिलेबाट खुल्ला हुने निश्चित गरिएको छैन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कार्तिक १ बाट बाह्य पर्यटक आगमन नै खुल्ला गर्नेगरि तयारी गरिएको छ ।

आन्तरिक उडान समेत बढ्दै
कोभिड–१९ महामारीबीच स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर असोज ५ देखि सञ्चालनमा आएको आन्तरिक उडानमा समेत ९० प्रतिशतभन्दा बढी अकुपेन्सी रहेको छ । तुलनात्मक रुपमा हवाई सेवा महामारीबाट सुरक्षित र चाँडो हुने भएकाले पनि यात्रुको आकर्षण बढ्दा वायुसेवा कम्पनीहरु उत्साहित देखिएका छन् । महामारीबाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकल पालनामा विशेज जोड दिएर नजिकिएको दशैँ, तिहार, छठलगायत चाडपर्वलाई लक्षित गर्दै हवाई कम्पनीले उडान सङ्ख्या समेत थपेका छन् ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ