Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर

नेपाल अपडेट : यी हुन प्रमुख पाँच खबर


फेरिए मुख्य सचिव, डा.खतिवडा र रेग्मी राजदुत बन्दै
सरकारले शंकरदास बैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ । मुख्यसचिव लोकदर्शन रेग्मीले बुधबार दिएको राजीनामा स्वीकृत गर्दै बिहीबार बसेको मन्त्रिपरिषद बैठकले वैरागीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो । यस्तै मन्त्रिपरिषद्ले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपालको राजदूत र मुख्य सचिवबाट राजीनामा दिएर बाहिरिएका रेग्मीलाई सरकारले बेलायतको राजदूतका रुपमा सिफारिस गरेको छ । राजदूतहरुको नियुक्ति संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट हुने कानुनी व्यवस्था छ । पूर्वअर्थमन्त्री डा. खतिवडालाई कार्यकाल सकिएलगत्तै प्रधानमन्त्री केपीशर्मा ओलीले प्रमुख आर्थिक सल्लाहकार बनाउनुभएको थियो ।

रानी पोखरी अब मल्लकालीन शैलीको स्वरुपमा
बालगोपालेश्वर मन्दिरमा गजुर राखिएसँगै अब रानीपोखरी मल्लकालीन स्वरुपमा फर्किएको छ । प्रताप मल्लकालीन शिखर शैलीमा पुनर्निर्माण भएको मन्दिरमा विधिपूर्वक पूजाआजा गरी गजुर स्थापना गरिएसँगै रानीपोखरीको स्वरुप मल्लकालिन देखिएको हो । मन्दिरको मुख्य गजुर १२३.७ केजी तामा, करिब २५ तोला सुनको जलप लगाइएर निर्माण गरिएको छ । गजुरको उचाइ ६ फिट १० इञ्च छ । मन्दिरको चारै दिशामा रहेका चारवटा मण्डप शैलीका बुर्जाको शीर्षमा पनि गजुर राखिएको छ । ३.३३ केजी तौल रहेका साना गजुरमा समेत १.९३ तोलाका दरले सुनको जलप लगाइएको छ । गजुरको निर्माण ललितपुर महानगरपालिका–१२ का कालीगढ विनोद शाक्य नेतृत्वको कालिगढले २० दिन लगाएर गरेका थिए । गजुरमा सुनका जलप लगाउन मात्रै पाँच दिन लागेको थियो । गजुर स्थापनासँगै बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण लगभग सम्पन्न भएको छ भने पोखरीको माथिल्लो पर्खाल वरिपरि सौन्दर्यीकरण तथा बत्ति राख्ने काम चलिरहेको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति पुगेको रानीपोखरीमा केही दिनअघि पानी भरेर पुरानै स्वरुपमा फर्काइएको थियो ।

तिब्र बन्दै कोरोना संक्रमण र मृत्युदर
काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९११ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७९ हजार ७ सय २८ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका मात्र ९४३ जना नयाँ संक्रमित थपिएका छन् । काठमाडौंका ८१७, भक्तपुरका ५८ र ललितपुरका ६८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट ९६१ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० पुगेको छ । थप ११ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणका कारण बिहीबारसम्म ज्यान गुमाउनेको संख्या ५०९ पुगेको छ ।

सुर्खेत विमानस्थल ठूला जहाज जानेगरि स्तरउन्नती गरिदै
सुर्खेत विमानस्थलको विकास, विस्तार र स्तरोन्नती हुने निश्चित भएको छ । आन्तरिक उडानमा प्रयोग भइरहेका सबै प्रकारका ठूला जहाज जान सक्ने गरी क्षेत्रीय हब विमानस्थलका रुपमा सुर्खेत विमानस्थलको स्तरोन्नती गर्ने सम्बन्धमा बिहीबार प्रदेश सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच सम्झौता भएको हो । सरकारले चालु आर्थिक वर्षको बजेटमा यो विमानस्थलको स्तरोन्नतीलाई समेटेको थियो । पर्यटन मन्त्रालयले नेपाल सरकार र कर्णाली प्रदेश सरकारबीच लागत साझेदारी अवधारणा अन्तर्गत सुर्खेत विमानस्थल विस्तार र स्तरोन्नति गर्न सम्झौता भएको जानकारी दिएको छ । सम्झौता अनुसार सुर्खेत विमानस्थलको धावनमार्गको लम्बाई कम्तिमा १५०० मि. सम्म विस्तार तथा स्तरोन्नति गरिनेछ । विमानस्थलको विकास, विस्तार र स्तरोन्नति सम्बन्धी प्राविधिक प्रतिवेदन बमोजिम जग्गा अधिग्रहण र मुआब्जा वितरण समेतको लागि नेपाल सरकारबाट हुनु पर्ने आवश्यक निर्णयका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गर्ने जिम्मेवारी प्राधिकरणले पाएको छ । विमानस्थल विस्तारका लागि आवश्यक पर्ने थप जग्गाको नियमानुसार मुआब्जा वितरण गर्दा हुने खर्चको पचास प्रतिशत रकम प्रदेश सरकार र पचास प्रतिशत रकम नेपाल नागरिक उड्डयन प्राधिकरणले बेहोर्नेछ । स्रोत व्यवस्थापन भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गर्नेछ ।

मंसिर ११ र १२ गते नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन
नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन मंसिर ११ र १२ गते काठमाडौंमा आयोजना हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तोकेर स्थगित हुँदै आएको थियो । महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनको नयाँ मिति घोषणा गरेसँगै अब महासंघको निर्वाचन मंसिर ११ र १२ मा हुने भएको हो । यस अघि महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो । सोही सुझाबका आधारमा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकिएको छ । महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते, जेष्ठ ७ र ८, साउन २६ र २७ गतेका लागि ताोकिएपनि कोरोना महामारिले स्थागित हुँदै आएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ