Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन पढ्नैपर्ने खबर

नेपाल अपडेट : यी हुन पढ्नैपर्ने खबर


काठमाडौं । पछिल्लो २४ घण्टामा नेपाली सञ्चारमाध्यममा महत्वसँगै देशभर चर्चा पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

काठमाडौं उपत्यका उच्च जोखिममा
काठमाडौं उपत्यकामा दैनिक एक हजार बढीमा कोरोना संक्रमण पहिचान भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गर्नुभएको हो । शनिवार मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार देशभर २७ सय २२ संक्रमित पहिचान हुँदा काठमाडौं उपत्यकामा मात्रै १६ सय ३८मा कोरोना पहिचान भएको थियो । पछिल्लो समय काठमाडौं लगायतका शहरहरुमा कोरोनाको जोखिम बढेको छ ।

७ सय कैदीबन्दीमा कोभिड–१९ संक्रमण, ८ को मृत्यु
देशका विभिन्न कारागारमा रहेका ७०० बढी कैदीबन्दीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । कारागार व्यवस्थापन विभागका अनुसार देशभर ७ सय भन्दा बढी कैदीबन्दीमा संक्रमण पहिचान हुँदा ८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको हो । विभागका सूचना अधिकारी देवर्शी सापकोटाले सबैभन्दा बढी केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका ६ सङ्क्रमितको मृत्यु भएको जानकारी दिए । बाँके र मोरङ्मा एकएक जनाको निधन भएको छ । अहिलेसम्म विभिन्न कारागारका एक हजार ९०० बढीको पिसिआर परीक्षण गरिएको छ । करिब ७ सय संक्रमित मध्ये २०० जनाले कोरोना जितेका छन् । विभागका अनुसार पर्सा, बाँके, स्याङ्जा, ललितपुर, सिन्धुपाल्चोक, काठमाडौँ, पाँचथर, जुम्ला, सप्तरी, सिराहा, सुनसरी, मोरङलगायत कारागारमा कोरोना देखिएको छ । विभागले ज्वरो, खोकी आएका र सम्भावित लक्षण देखिएकाको पीसीआर परीक्षण गर्दै आएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरी उच्च सावधानी अपनाइएको कारागारमा बाहिरको भेटघाटलाई अहिले पूर्णरुपमा रोक लगाइएको छ । आफन्तले ल्याएको खानेकुरासमेत प्रवेश निषेध गरिएको छ भने शङ्कास्पद व्यक्तिलाई क्वारेन्टिनमा राखेर उपचार गर्ने व्यवस्था मिलाइएको कारागार व्यवस्थापन विभागले जानकारी दिएको छ ।

सेनाले अघि बढायो सुरुङमार्गको ठेक्का
निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गको सुरुङमार्ग निर्माणका लागि २७ निर्माण कम्पनी इच्छुक देखिएका छन् । १६ वटा कम्पनीले आयोजनाका सुरुङमार्गका लागि बनाइएका दुबै प्याकेजको पूर्वयोग्यता निर्धारणको प्रतिस्पर्धामा सहभागिता जनाएका छन् । सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोषबल्लभ पौडेलले सुरुङमार्ग निर्माणका लागि प्रतिस्पर्धा गर्ने कम्पनीको संक्षिप्त सूची (सर्ट लिस्ट) तयार गर्न आशयपत्र आह्वान गरेकोमा एउटा प्याकेजमा २१ र अर्को प्याकेजमा २२ कम्पनीको आवेदन परेको जानकारी दिनुभयो । यी ४३ आवेदक मध्येबाट फरक–फरक प्याकेजमा लागि फरक–फरक योग्य कम्पनीहरु सर्ट लिस्ट गरिनेछ । यसरी सर्ट लिस्ट गरिने कम्पनीलाई अर्को पटक ३ महिनाको समय दिएर फेरि आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नेगरि टेन्डर आह्वान गरिन्छ । आगामी मे महिनासम्ममा काम सुरु हुने गरी नोभेम्बरसम्म सर्ट लिस्ट भएका कम्पनीका लागि अर्को टेन्डर खुलाउनेगरि सेनाले आन्तरिक तयारी गरेको छ । अहिले कोरियन कम्पनी युसिनले फास्ट ट्रयाकको पुल तथा सुरुङमार्गको डिजाइन गरिरहेको छ । छिटो ठेकेदारहरुले पुल तथा सुरुङको निर्माण थाल्ने गरी सबै तयारी सकाइएको सेनाको दाबी छ । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)अनुसार द्रुतमार्गमा ८७ वटा पुल र तीन वटा सुरुङमार्ग निर्माण गर्नुपर्नेछ । डीपीआरअनुसार महादेवडाँडामा ३.३५५ किलोमिटर, धेद्रेमा १.६३० किलोमिटर र लेनडाँडामा १.४३० किलोमिटर लामो सुरुङ बन्दैछ । महादेवडाँडाको सुरुङसहित ४.६ किलामिटरको सडक तथा सुरुङमार्ग र धेद्रे तथा लेनडाँडाको सुरुङमार्गलाई छुट्टा छुट्टै प्याकेज बनाएर आशयपत्र मागिएको छ । १ खर्ब ७५ अर्ब अनुमानित लागत रहेको द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर हुनेछ ।

२६ वर्षपछि बैतडीमा विमान सञ्चालन
सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा २६ वर्षपछि विमान सञ्चालन सुरु भएको छ । परीक्षण उडानका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई सहितको टोलीलाई लिएर शनिबार समिट एयरको हवाईजहाज बैतडी पुगेको हो । दशैँपछि धनगढी विमानस्थललाई आधार बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाईसेवा सञ्चालनको प्रयासस्वरुप यो उडान थालिएको बताइएको छ । प्रदेशको धनगढी विमानस्थलबाट बैतडी, बझाङ र डोटीमा हवाई सेवा सञ्चालनका लागि शनिबार संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले तयारी उडानको शुभारम्भ गर्नुभएको छ । मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवर लगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमित रूपमा जहाज सञ्चालन गरिने जानकारी दिनुभएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले धनगढीबाट यी तीन जिल्लामा उडान सञ्चालन गर्ने बताइएको छ । केही हप्तादेखि उक्त विमानले नेपालगञ्ज–बाजुरा–धनगढी र धनगढी–बाजुरा–नेपालगञ्जसम्म चार्टर्ड उडान गरिरहेको छ । बैतडी, बझाङ, डोटी जिल्लामा रहेका विमानस्थलको स्तरोन्नतिको काम पूरा भएसँगै हवाई सेवाले निरन्तरता पाउनेछ ।

म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्यादको स्टिकर
व्यापारिक समूह विशाल ग्रुपले म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राखेर बेच्दै आएको पाइएको छ । विशाल ग्रुपले आयात गर्दै आएको ओरियो बिस्कुट, स्निकर चकलेट, बालबालिकाले खाने बर्नभिटा, आलु चिप्स जस्ता म्याद गुज्रिएका खाद्य वस्तुमा नयाँ म्याद राख्दै गरेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेसँगै विशाल गु्रपको कर्तुत बाहिरिएको हो । अनुसन्धानका क्रममा कम्तिमा पनि २५ करोड बराबरका म्याद नाघेका खाद्यवस्तुमा नयाँ म्याद राखेको पाइएको छ । यसअघि पनि यस्तो बदमासी भएको थियो वा थिएन भन्ने विषयमा अनुसन्धान जारी राखेको प्रहरीले कालोबजारीसँगै मानव स्वास्थ्यसँग विशाल गु्रपले गम्भिर खेलवाड गरेको निस्कर्ष सहित पक्राउ परेका सबैलाई वाणिज्य विभागको जिम्मा लगाएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ