Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsप्रधानमन्त्रीका तीन सल्लाहकारसहित बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना संक्रमण

प्रधानमन्त्रीका तीन सल्लाहकारसहित बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना संक्रमण

पूर्वमन्त्री गगन थापासहितका ६ जना कांग्रेस नेतामा कोरोना


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा कार्यरत ७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार प्रधानमन्त्रीका सल्लाहकारहरू, सुरक्षाकर्मी, सचिवालयमा कार्यरत कर्मचारी, चालकसहित ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, फोटो ग्राफर राजन काफ्ले लगायतलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सामाजिक सञ्जालमार्फत विष्णु रिमाल, राजन भट्टराई, सूर्य थापा र राजन काफ्लेले आफू कोरोना संक्रमित भएको र सम्पर्कमा आएकालाई सचेत रहन सार्वजनिक रुपमै आह्वान गरेका थिए । प्रधानमन्त्री ओलीको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ । बालुवाटारमा कार्यरत ७६ जनामा एकैपटक संक्रमण भएको रिपोर्ट आएपछि उनीहरुको सम्पर्कमा रहेका धेरैको कन्ट्याक्ट ट्रेसिङ गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जानकारी दिएको छ ।

यस्तै, नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका पाँच जना कांग्रेस नेताहरुमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थापाले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कांग्रेसले १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि १५९ पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । अन्य केही नेताहरुमा समेत संक्रमण पुष्टि भएको भनिएपनि कतिजना नेतामा कोरोना संक्रमण देखियो भन्ने एकिन हुन सकेको छैन । सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने केही दिनअघिको परीक्षणमा पीसीआर रिपोर्ट नेगेटिभ आएकाले परीक्षण गरिएको थिएन ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ