Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsसुरु भयो चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि, पर्यटक कुर्दै होटल व्यवसायी

सुरु भयो चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि, पर्यटक कुर्दै होटल व्यवसायी


काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि सञ्चालनमा आएको छ । कोरोनाका कारण झण्डै छ महिना ठप्प रहेको पर्यटकीय गतिविधि निकुञ्जले पुनः सञ्चालनमा ल्याएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले हात्ती सफारी, जङ्गलवाक र पंक्षी दृश्यावलोकन खुला गरिएको जानकारी दिनुभयो । जिप सफारीका लागि बाटो मर्मत भइरहेको र दशैँअघिसम्म सञ्चालनमा आउने निकुञ्ज प्रशासनले जानकारी दिएको छ । आन्तरिक पर्यटक फाट्टफुट्ट आउन थालेका कारण क्रमशः अवस्था सहज बन्दै जाने अपेक्षा गरिएको छ । निकुञ्जअन्तर्गतका सामुदायिक वनमा भने यसअघि नै पर्यटकीय गतिविधि खुला गरिएको छ । निकुञ्जले राप्ती नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का प्रक्रिया अघि बढाएको छ भने पदयात्रा मार्गको झाडी सरसफाइको काम जारी राखेको छ । असोज, कात्तिक महिना निकुञ्ज घुम्न राम्रो मौसम मानिने भएपनि यस वर्ष पर्यटकीय गतिविधि कोरोनाका कारण शून्य छ ।

क्षेत्रीय होटल सङ्घ चितवन सौराहाका अध्यक्ष दीपक भट्टराईले निकुञ्जले प्रवेश खुला गरेपछि पर्यटकीय क्षेत्र चलायमान हुने विश्वास व्यक्त गर्नुभयो । दशैँतिहारमा आन्तरिक पर्यटक आउने आशामा सौराहाका व्यवसायी रहेको उहाँले बताउनुभयो । सौराहामा छुटलगायतका प्याकेजका कार्यक्रम घोषणा गरेर होटल व्यवसायीले समेत आन्तरिक पर्यटक आकर्षित गर्दै आएका छन् ।

गत वर्ष एक लाख ८२ हजार ४३५ पर्यटकले चितवन राष्ट्रिय निकुञ्जको अवलोकन भ्रमण गरेका थिए । यी मध्ये ८९ हजार ४४१ नेपाली, १४ हजार २३९ सार्क राष्ट्रका र ७८ हजार ७५५ जना अन्य देशका पर्यटक रहेको निकुञ्जको रेकर्डमा छ । गत वर्ष पर्यटनबाट मात्र १९ करोड ९२ लाख ५५ हजार ६८१ कमाएको निकुञ्जको यस वर्षको आम्दानी भने शून्य छ । निकुञ्जले पर्यटक प्रवेश शुल्क र डुङ्गा शयरको बोलपत्रमार्फत राजश्व सङ्कलन गर्दै आएको छ ।

विसं २०३० मा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रुपमा परिचित निकुञ्ज हो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ