Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeNepalनेपाल अपडेट : यस्ता छन् प्रमुख पाँच खबर

नेपाल अपडेट : यस्ता छन् प्रमुख पाँच खबर


काठमाडौं । नेपालका विभिन्न सञ्चार माध्यममा चर्चा र विशेष स्थान पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

बढ्दैछ कोरोनाको जोखिम
थप २ हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८ सय २३ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा मात्रै १ हजार ५ सय ९९ जना संक्रमित थपिएका छन् । काठमाडौंका १ हजार ३ सय ७३ जना, ललितपुरका १ सय ८७ र भक्तपुरका ३९ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टा देशका विभिन्न अस्पतालबाट १ हजार ३ सय २९ जना डिस्चार्ज भएसँगै देशभर कोरोना जित्नेहरुको संख्या ६४ हजार ६९ पुगेको छ । थप ७ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५ सय ३५ पुगेको छ । आइतबार देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुग्दा संस्थागत आइसोलेसनमा १० हजार ३ सय २६ र होम आइसोलेसनमा ११ हजार ८ सय ९३ जना रहेका छन् । आइतबार १२ हजार ७ सय ८४ जनाको पीसीआर गरिएको थियो । देशभरका क्वारेन्टिनमा ४ हजार २ सय ३ जना रहेका छन् । संक्रमितमध्ये आइसियुमा २ सय २६ र भेन्टिलेटरमा ३४ जना उपचाररत छन् ।

जो जहाँ छन्, त्यहीँ बसेर दशै मनाऔँ
कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गइरहेका बेला सरकारले सर्वसाधारणलाई जो जहाँ छन् त्यहीँ बसेर यो वर्षको दशैं मनाउन आग्रह गरेको छ । सरकारले दशैं मनाउन घर फर्किने तयारीमा रहेकालाई जहाँको त्यहीँ बसेर दशैं मनाउन आग्रह गरेको हो । संघीय राजधानी काठमाडौं कोरोनाको हटस्पट बनिरहेका बेला अत्यावश्यक कामबाहेक कोही पनि काठमाडौं प्रवेश नगर्न आग्रह गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले ओहोरदोहोर गर्दा कोरोना गाउँ गाउँ पुग्न सक्ने भएकाले यसपटक जो जहाँ छ, त्यहीँ दशैं मनाउन आग्रह गर्नुभएको हो । मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न र लापरवाही नगर्न समेत आग्रह गरेको छ । मास्क नलगाउने तथा अन्य मापदण्ड पालना नगर्नेलाई सरकारले जरिवाना तिराउने भएको छ ।

तातोपानी नाका नियमित सञ्चालनमा
पहिरोका कारण डेढ महिनादेखि बन्द रहेको तातोपानी नाका नियमित सञ्चालनमा आउन थालेको छ । यो नाका हुँदै चिनियाँ सामग्री भित्रिन शुरु भएको हो । यसअघि असोज १३ गते नेपाली अधिकारी र चिनियाँ अधिकारीबीच तातोपानी नाका सुचारु गर्ने सहमति भएको थियो । नेपालका लागि आइतबार ११ कन्टेनर कपडा र कच्चा पदार्थ आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो । चिनियाँ पक्षले सामान मितेरी पुलमा अनलोड गरेपछि नेपाल तर्फका ११ वटा कन्टेनरले मितेरी पुलमा सामान लोड गरेका थिए । बेलुका सबै सामान तातोपानी सुख्खा बन्दरगाहमा आइपुगेको छ । भन्सार जाँच पास भएपछि केही दिनमा ती सामान काठमाडौं आइपुग्नेछन् । कोरोना भाइरसको सङ्क्रमण नहोस् भन्ने उद्देश्यले तातोपानी भन्सार कार्यालयले २९ जनाको दुई टोलीलाई सामान लोड र अनलोडमा खटाएको छ । उनीहरूको ५/५ दिनमा कोरोना परीक्षण हुनेछ । केही समयदेखि चीनसँग जोडिएका दुई नाका बन्द भएपछि चीनसँगको व्यापार प्रभावित हुँदै आएको थियो ।

सोमबारबाट काठमाडौंबाट श्रम स्वीकृति
कर्मचारीमा कोरोना सङ्क्रमण देखिएर बन्द गरिएको वैदेशिक रोजगार कार्यालय, काठमाडौँबाट हुने श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु हुने भएको छ । प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी रोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखेर सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जानकारी दिएको हो । कार्यालयका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो । वैदेशिक रोजगार बोर्ड सचिवालयबाट प्रदान गरिने आर्थिक सहायता भने अर्को सूचना नभएसम्मका लागि बन्द छ । बोर्ड सचिवालयमा कार्यरत कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण भएको हुँदा सेवाग्राही तथा सेवा प्रदायकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गरी अर्को सूचना नभएसम्म सचिवालयबाट प्रदान गरिने आर्थिक सहायतासम्बन्धी सम्पूर्ण सेवा बन्द गरिएको हो । सचिवालयबाट अत्यावश्यक सेवाअन्तर्गत गरिने शव ढुवानी भने सञ्चालन गरिएको छ ।

अब बिदामा नेपाल आएकालाई ओमान फर्किन एनओसी नचाहिने
बिदामा रहेका नेपाली कामदार ओमान फर्किँदा अब नो अब्जेक्सन लेटर (एनओसी) आवश्यक नपर्ने भएको छ । यसअघि बिदाका क्रममा नेपालमा रहेका श्रमिकलाई ओमान प्रवेश गर्न एनओसी अनिवार्य गरिएकोमा अब नचाहिने भएको हो । ओमानस्थित नेपाली दूतावासले ओमान सरकारको पछिल्लो निर्णय अनुसार अब एनओसी लिनु नपर्ने व्यवस्था गरिएको जानकारी दिएको हो । बिदामा आएकाहरु अब ६ महिनाभन्दा बढी अबधि भए पनि एनओसी बिनै जान पाउने भएका छन् । अक्टोवर १ देखि ओमानको अन्तर्राष्ट्रिय विमानस्थल खुलेको र पीसीआर लगायत स्वास्थ्य सम्बन्धी आवश्यक प्रोटोकल पुरा गरी नेपालबाट ओमान तथा ओमानबाट स्वदेश सहजरूपमा फर्किन सकिने गरि व्यवस्था मिलाइएको समेत दूतावासले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ