Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । कोभिड–१९ को संक्रमण र मृत्युदर उच्च रहेको नेपालमा पछिल्लो २४ घण्टामा चर्चासँगै विभिन्न सञ्चार माध्यममा महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

भारततर्फ लगिदै गरिएका तीन युवतीको उद्धार
झापाको काँकडभिट्टाबाट भारततर्फ जाँदै गरेका तीन युवतीको उद्धार गरीएको छ । नेपाल भारतको सीमा क्षेत्रबाट सुनसरी, गोरखा घर भई भक्तपुर बस्ने र गौरादह नगरपालिकाका १८ वर्षका युवतीलाई माइती नेपाल र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उद्धार गरेर माइती नेपालमा राखेको हो । उनीहरुले आफ्नै साथीले भारतको पानीटङ्कीमा काम लगाई दिने भन्दै बोलाएर जान लागेको बताएका छन् । सोमबार साँझ पानीटङ्कीतर्फ जान सीमामा घुमफिर गर्ने बहाना बनाएका उनीहरुलाई माइती नेपाल र इप्रका काँकडभिट्टाको प्रहरी टोलीले फेला पारेको थियो । माइती नेपालका पूर्वाञ्चल संयोजक गोविन्द घिमिरेले कोरोना महामारीमा समेत मानव तस्करहरु सीमा क्षेत्रमा सक्रिय रहेको जानकारी दिनुभयो । यस अघि पनि बन्दाबन्दीकै समयमा माइती नेपालले सीमा क्षेत्रबाट चार जनाको रोकथाम र भारतको नयाँ दिल्लीस्थित नेपाली राजदुतावास, मनिपुर प्रहरी, मनिपुर संस्था उज्यालो होमको सहकार्यमा युवतीहरुको उद्दार गररेर नेपाल ल्याएको छ ।

नेपाली मजदुरमा कोरोना देखिएपछि फेरि बन्द भयो तातोपानी नाका
नेपाली ल्याबले पीसीआर नेगेटिभ देखाएका तीन जना मजदुरमा चीनको ल्याब परीक्षणले पोजेटिभ देखाएपछि तातोपानी नाका ठप्प भएको छ । शनिबार नेपालबाट चीनतर्फ पठाइएका २९ जना चालक तथा लोड गर्ने श्रमिकहरुमध्ये तीन जनालाई चिनियाँ ल्याबको परीक्षणमा कोरोना देखिएपछि चीनले नाका बन्द गरेको तातोपानी भन्सार कार्यालयले जानकारी दिएको हो । तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीका अनुसार मंगलबार तातोपानी नाका भएर कुनै पनि वस्तु भित्रिएका छैनन । नाका खुलाउने सहमति बमोजिम गत शुक्रबार नेपाली ल्याबमा गरिएको पीसीआर परीक्षणमा नेगेटिभ नतिजा आएका कामदारको दोस्रो टोली शनिबार नेपालले चीनतर्फ पठाएको थियो । आइतबार सोहीअनुसार नाका सञ्चालनमा आएपछि नेपालबाट गएकाको आइतबार नै चिनियाँ पक्षले पीसीआर गरेका थिए । सोमबार प्राप्त नतिजामा तीन जना संक्रमण पाइएपछि नाका नचल्ने जानकारी गराइएको भन्सार कार्यालयले जनाएको छ । नाका बन्द भएपछि चीनतर्फ रोकिएका नेपाली कामदार नेपाल नै फर्काउनेबारे छलफल भएको र नेपाली यार्डसम्मै सामान खसाली दिन चिनियाँ अधिकारीलाई आग्रह गरिएको भन्सार कार्यालयले जानकारी दिए ।

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङ
प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुबाङमा राख्ने प्रस्ताव प्रदेशसभाबाट दुई तिहाई बहुमतले पारित भएको छ । मंगलबार भएको मतदानमा प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा ४ मत खसेको हो । यस्तै स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको छ । प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव १६ असोजको प्रदेशसभामा पेश गरेको थियो । सोमबार प्रस्तावको बिरुद्धमा रहेका कांग्रेस सांसदले प्रदेशसभामा तोडफोड समेत गरे । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न हृवीप लगाएपनि मंगलबार भएको मतदानमा कांग्रेसकै सांसदहरुले पार्टीको हृपीप विपरीत भालुबाङ राजधानी बनाउन मतदान गरेका छन् । किनकि प्रदेशसभामा कांग्रेसका १९ सांसद भएपनि विपक्षमा १३ मत मात्र खसेको छ । प्रदेशसभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ सांसद छन्, उनीहरुमध्ये सभामुख पूर्णबहादुर घर्तीले मतदान गरेनन् । जनता समाजवादी पार्टीका ६ मध्ये दुई जना र राष्ट्रिय जनमोर्चाका एक प्रदेशसभा सदस्य मत विभाजनमा सहभागि भएनन् । मंगलबार नै प्रदेशसभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शंकर पोखरेलले भालुबाङ राजधानी बनाउँदा प्रदेशको १२ वटै जिल्लाको मनोविज्ञानको प्रतिनिधित्व हुने जानकारी दिनुभयो । बुटवल–भैरहवालाई वित्तीय राजधानी बनाउने उहाँको दाबी थियो । योसँगै प्रदेश सभा बैठक स्थगित भएको छ ।

नक्कली सुन प्रकरण, २ प्रहरीसहित ९ जना थुनामा
जिल्ला अदालत काठमाडौंले १५ केजी नक्कली सुन तस्करीमा संलग्नको आरोप लागेकामध्ये ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजालासले निलेश शाक्य, विजय पटेल, बहादुर सिंह कडायत, प्रशन्न श्रेष्ठ, राजु मुन्ना खान, सद्रुल अन्सारी, इल्ताफ हुसेन अन्सारी र कौशल पटेललाई थुनामा पठाउन आदेश दिएको हो । कडायत र श्रेष्ठ महानगरीय प्रहरी वृत दरबारमार्गबाट सादा पोशाकमा खटिने प्रहरी कर्मचारी हुन् । विजय ताम्राकारलाई ५ लाख रुपैयाँ र श्रीनिवास उपाध्यायलाई एक लाख रुपैयाँ धरौटी लिएर तारिखमा छाड्न आदेश दिएको अदालतले अर्का एकजनालाई भने साधारण तारेखमा छोड्ने फैशला गरेको छ । गत असोज ११ गते नक्कली सुन प्रकरणमा १७ जना बिरुद्ध हातहतियार तथा खरखजना, अवैध सुनचाँदी चोरी पैठारी, संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको थियो ।

बढ्दै गम्भिर बिरामी, शहरकेन्द्रित जोखिम
काठमाडौं उपत्यकामा १ हजार १७ सहित देशभर पछिल्लो २४ घण्टामा १५ सय ५१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित थपिएका छन् । सोमबार काठमाडौंमा १ हजार १७८, ललितपुरमा २५० र भक्तपुरमा १०३ जना गरी जम्मा १ हजार ५३१ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा थप २,३४० जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेको संख्या ६७ हजार ५४२ पुगेको छ । २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित रहेका छन् । अहिले आइसीयुमा २ सय ४३ र भेन्टिलेटरमा ४० जना उपचाररत रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५६३ पुगेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ