Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ, प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ, प्रमुख पाँच खबर


काठमाडौं । कोरोना मिटर निरन्तर उकालो लागेको नेपालमा विकास निर्माणको गतिविधि पनि जारी छन् । नेपालमा चर्चा र महत्व पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

जोखिममा काठमाडौं, उच्च सतर्कता अपनाउन सरकारको अपिल
सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको भन्दै सतर्कता अपनाउन उपत्यकावासीसँग अपिल गरेको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अरु जिल्लामा संक्रमण नियन्त्रण उन्मुख भए पनि उपत्यकामा बढिरहेको जानकारी गराउँद सेवा दिँदा वा लिँदा, सार्वजनिक सवारीमा चढ्दा वा हिँडडुल गर्दा, अरु खालका गतिविधि गर्दा कोरोनाको उच्च जोखिमलाई ध्यान दिएर स्वास्थ्य सावधानी र सतर्कता अपनाउन आग्रह गर्नुभएको हो । स्वास्थ्य मन्त्रालयले दैनिक सार्वजनिक गर्ने नयाँ संक्रमितमा आधाभन्दा धेरै उपत्यकाको भएको भन्दै मन्त्री ज्ञवालीले भन्नुभयो, ‘४० लाख बसोबास भएको काठमाडौं उपत्यकामा कोरोना अनियन्त्रित भयो भने जोखिम बढ्छ । दशैं पारिवारिक पुनर्मिलन र आर्शिवाद लिने चार्ड भएपनि कोरोनाको उच्च जोखिमा जेष्ठ नागरिकहरु पर्ने भएकाले यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो । अरु बेला जस्तो काठमाडौं–गाउँ–काठमाडौं ओहोरदोहोर गर्दा संक्रमण पनि ओहोर दोहोर हुनेतर्फ सबैलाई सरकारले विशेष सतर्कता अपनाउन अपिल गरेको हो ।

डा केसीसँगको वार्ताका लागि टोली गठन
सरकारले २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली बनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको नेतृत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मालाई सदस्य बनाइएको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेर वार्ता समिति बनाएका हुन् । समितिलाई डा. केसीसँग वार्ता गरेर सहमति जुटाउने म्याण्डेट दिइएको छ । सचिव मैनाली नेतृृत्वको टोलीले सोमबार डा. केसीलाई भेटेपनि औपचारिक वार्ता टोली नबनेको भन्दै अनसन तोड्न आग्रह गरेर फर्किएको थियो । डाक्टर केसीको तर्फबाट समेत डा जीवन क्षेत्रीको संयोजकत्वमा ४ सदस्यीय वार्ता टोली गठन गरिएको छ । डाक्टर केसीतर्फको टोलीमा डाक्टर क्षेत्रीसँगै डा अञ्जनी कुमार झा, डा लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य रहेका छन् । गत भदौ २९ गते जुम्लाबाट १९ औँ अनसन सुरु गर्नुभएका डाक्टर केसी हाल त्रिवि शिक्षण अस्पतालमा अनसनरत छन् । डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ ।

देशभरका कृषकको गणना गरिदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका कृषकहरुको गणना थाल्ने भएको छ । यो गणना ७५३ वटा स्थानीय तहमार्फत हुनेछ । कृषकहरुले उत्पादन गर्ने मुख्य बाली, रासायनिक मलको प्रयोग, कृषि ऋण तथा कृषि अनुदान पाए नपाएको अवस्थाबारे विवरण संकलन गरिने कृषिमन्त्री घनश्याम भुसालले जानकारी दिनुभयो । भुसालले कृषि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि पहिलो पटक ७५३ स्थानीय तहमा कृषकहरुको डाटा संकलन गर्न लागिएको हो । सर्वेक्षण योजना कार्यान्वयनका लागि स्थानीय तहहरुलाई बजेट र सर्वेक्षणसम्बन्धी कार्यक्रम पठाइसकेको र केही दिनमै देशैभरि अभियानको घोषणा हुने बताइएको छ । स्थानीय तहका वडा र पालिकामा दर्ता हुने कृषकहरुलाई स्थानीय तहले कृषक प्रमाण पत्रसमेत उपलब्ध गराउनेछ । कृषक सूचीकरणपछि वास्तविक कृषकहरुको परिचय स्थापित हुने, कृषि क्षेत्रमा प्रवाह हुने सेवाहरुमा दोहोरोपना हट्ने तथा सबै कृषकमा सरकारी पहुँच पुग्ने कृषि मन्त्रालयको अपेक्षा छ । कृषकका लागि विभिन्न निकायबाट हुने सेवा प्रवाह एकीकृत गर्ने तथा कृषिको वर्गीकरण तथ्यांकबाट राष्ट्रिय डाटावेश तयार गर्ने उद्देश्यले यो तथ्यांक संकलन गरिएको मन्त्रालयको दाबी छ ।

९४ हजार बढी कोरोना संक्रमित, ५७८ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४३९ जना संक्रमित थपिएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप १,६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १२९६, ललितपुरमा २९३ र भक्तपुरमा ९५ जना गरी जम्मा १,६८४ जना संक्रमित थपिएका हुन् । नेपालमा सक्रिय संक्रमितको संख्या नै २५ हजार ७ पुगेको छ । २४ घण्टामा १ हजार १२६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेको संख्या ६८ हजार ६६८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ५७८ पुगेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रदेश सकारको तीन करोड
धुर्मुस–सुन्तली फाउण्डेसनलाई चितवनमा निर्माणाधीन क्रिकेट रङ्गशाला निर्माणका लागि भन्दै वाग्मती प्रदेश सरकारले तीन करोड रकम हस्तान्तरण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौँडामामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र उपाध्यक्ष कुन्जना घिमिरेलाई तीन करोड रकमको चेक हस्तान्तरण गनुभएको हो । मुख्यमन्त्री पौडेलले धुर्मुस सुन्तलीले उत्साहका साथ काम गरेकोमा प्रशंसा गर्दै खुशी व्यक्त गर्नुभएको थियो । सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारका तर्फबाट रङ्गशालालाई आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । फाउन्डेसनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणमा सरकारले गरेको सहयोगमा आभार व्यक्त गर्दै रङ्गशाला निर्माणमा २३३ जनशक्तिले नियमित काम गरिरहेकाले छिटै सम्पन्न गरिने जानकारी गराउनुभएको थियो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ