Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : यी हुन्, प्रमुख ५ खबर

नेपाल अपडेट : यी हुन्, प्रमुख ५ खबर


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चर्चा र महत्व पाएका प्रमुख ५ खबर यस्ता छन् ।

डा. केसीको माग सम्बोधनका लागि वार्ता
सरकारी टोली र अनसनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको सहमतिमा पुग्न सकेन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको वार्तामा डा. केसीले राखेका ६ वटै मागमा बुँदागत छलफल भएपनि केही बुँदामा थप गृहकार्य गर्नुपर्ने भन्दै बैठक स्थगित भएको हो । डा. केसीको जीवन रक्षाका लागि चौतर्फी आवाज उठेपछि सत्याग्रहको २४ दिनमा सरकारले वार्ता समिति बनाएको थियो । वार्ता समिति बनेको दोस्रो अर्थात सत्याग्रहको २५ औँ दिनबाट मात्रै वार्ता सुरु गरेको छ । सरकारकातर्फ शिक्षा सचिव गोपीनाथ मैनाली, सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलिप शर्मा तथा डा. केसीकोतर्फबाट वार्ता टोली संयोजक डा. जीवन क्षेत्री, डा अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सहभागी भएका थिए । शुक्रबार समेत बैठक बसेर निर्णयमा पुग्ने बताइएको छ ।

विश्व बैंकले भन्यो नेपालको आर्थिक बृद्धिदर शुन्यमा झर्छ
विश्व बैंकले सन २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशतमा सिमित हुने आँकलन गरेको छ । बिहीबार दक्षिण एसियास्तरीय आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शून्यमा झर्ने प्रक्षेपण गरेको हो । यता, नेपाल सरकारले भने चालु आर्थिक वर्ष २०७७ ७८ मा ७ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको छ । विश्व बैंङ्कले सन् २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ हुने अनुमान गरेको छ । नेपाल सरकारले भने आर्थिक वर्ष २०७६र७७ मा २.२७ प्रतिशत आर्थिक वृद्धिको अनुमान गरेको छ । विश्व बैंकको आर्थिक प्रतिवेदनले दक्षिण एसिया अहिलेसम्मकै गहिरो मन्दीमा परेको र थप आर्थिक संकटको प्रक्षेपण गरेको छ । आर्थिक क्रियाकलाप र पर्यटन क्षेत्र सबैभन्दा मारमा परेको विश्व बैंकको आँकलन छ । अनौपचारिक क्षेत्रका कामदारको रोजगारीमा कोरोना असर देखिदा दक्षिण एसियाली क्षेत्रका मानिसले चरम गरिबीको सामना गर्नुपर्ने विश्व बैंकको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व बैंकले प्रतिव्यक्ति आय समेत ६ प्रतिशतले घट्ने आँकलन गरेको छ । विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले आर्थिक क्रियाकलाप वृद्धि गर्न नेपालले बढी भन्दा बढी लगानीको वातावरण बनाउनुपर्ने बताउँनुभएको छ । १५ महिनासम्म १ सय भन्दा बढी मुलुकमा अनुदान तथा सहुलियतपूर्ण ऋणका रुपमा १ सय ६० करोड अमेरिकी डलर भन्दा बढी रकम प्रवाह गर्ने नीति विश्व बैंकले लिएको छ ।

साउदीले दियो १ हजार ९४ नेपालीलाई एक्जिट फिसा
साउदी अरेबियाको सरकारले गैरकानुनी रुपमा बसेका १ हजार ९४ जना नेपालीलाई ’एक्जिट भिसा’ उपलब्ध गराएको छ । रियादस्थित नेपाली दूतावासको अनुरोधमा साउदी अरेबियाले हालको एक्जिट भिसा दिने प्रकृया सुरु भएपछि हालसम्म १ हजार ९४ जनाले भिसा पाएको जानकारी दिएको हो । साउदी अरेबियाका विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत रहँदा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाएका वा नविकरण नगरिएका कारण स्वदेश फर्किन चाहने नेपालीहरुलाई स्वदेश फर्काउन आवश्यक बहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि साउदी सरकारलाई दूतावासले अनुरोध गरे बमोजिम साउदी सरकारले ’एक्जिट भिसा’ दिएको हो । यसअघि नै १ हजार ५८ जनाको सूचि प्रकाशित गरिसकेको साउदीले थप ३६ जनाको एक्जिट भिसा भन्दै एक्जिट भिसा जारी भएकाहरुलाई नेपाल फर्किने तयारी गर्न दूतावासले अनुरोध गरेको छ ।

बढ्दै गम्भिर बिरामी, भ्यान्टिलेटर र र आईसीयू अभाव
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपचारका लागि छुट्याइएका अस्पतालका बेड भरिन थालेका छन् । गम्भिर खालका संक्रमितको सख्या बढ्न थालेपछि आइसीयू र भेन्टिलेटर बेडको अभाव हुन थालेको हो । पछिल्लो समय उपत्यकामा मात्र संक्रमितको संख्या औसत एक हजारका दरले बढीरहेको छ । हरेक दिन देखिने नयाँ संक्रमितमध्ये ५० प्रतिशत भन्दा बढी संक्रमण काठमाडौं उपत्यकामा देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण सुरु हुँदाको समयमा देशभर १ हजार ५५१ आइसियु र ७७० भेन्टिलेटर रहेकोमा अहिले कोरोना उपचारका लागि भन्दै १ हजार ४९ आइसियु बेड र १३० भेन्टिलेटर थप भएका छन् । देशभर अहिले २ हजार ६ सय आइसियु र ९०० भेन्टिलेटर रहेका छन् । यस्तै २० हजार ७६५ आइसोलेसन बेड रहेको छन् । यसबाहेक देशभरका मेडिकल कलेजमा ७०० आइसियु वेड, २३८ भेन्टिलेटर र ४५८ जना तालिम प्राप्त स्वास्थ्यकर्मी रहेको सरकारी तथ्यांक छ ।

देशभरका संस्थागत आइसोलेसन ११ हजार ७१७ जना र होम आइसोलेसनमा १४ हजार ९६७ जना उपचाररत छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ४२ जनाको भेन्टिलेटर र २६५ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेसँगै आईसीयू र भेन्टिलेटरमासमेत कोरोना संक्रमित बढ्न थालेका छन् । उपत्यकामा कोरोना संक्रमितका लागि १८१ मात्र आईसीयू र ७६ वटा भेन्टिलेटर उपलब्ध रहेकोमा ८२ वटा आइसीयू र २७ वटा भेन्टिलेटरमा कोभिड–१९ का बिरामी उपचाररत रहेका छन् । काठमाडौं उपत्यकामा तीव्र गतिमा संक्रमण फैलिएको भन्दै सबैले मापदण्ड पालना नगरेमा स्थिति गम्भीर हुनसक्नेप्रति सरकारले सचेत गराउँदै आएको छ । २५ हजारबढी सक्रिय कोरोना संक्रमितको संख्या भए धान्न नसक्ने मन्त्रालयले यसअघि देखी नै बताउँदै आएको छ ।

विश्व दृष्टि दिवस
अक्टोबर ८ अर्थात विश्व दृष्टि दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्कले करिब दुई अर्ब २० करोड मानिसमा दृष्टि सम्बन्धी समस्या देखिएको छ । यीमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिका रहेका छन् । पछिल्लो समय दृष्टिमा समस्या देखिनुको एउटा कारण मधुमेह भएको चिकित्सकहरुले बताएका छन् । नेपाल आँखा अस्पतालको तथ्याङ्क हेर्दा अस्पतालको रेटिना क्लिनिकमा आउने आठ जना मधुमेहका विरामी मध्ये एक जनालाई आँखाको दृष्टि पर्दामा मधुमेहको असर (डायबिटिक रेटिनाप्याथी) समस्या देखिएको छ । गत वर्ष रेटिना क्लिनिकमा ४ हजार ४ सय ९० जना दृष्टि पर्दा सम्बन्धी निदानका लागि आएका मध्ये १२ प्रतिशतमा डायबिटिक रेटिनाप्याथी देखिएको छ । नेपालको सन्दर्भ हेर्ने हो भने ४ जनामा एक जनामा यस्तो समस्या देखिएको छ । समयमै ब्लड सुगर, ब्लड प्रेसर र रगतमा हुने बोसोको मात्रालाई समान्य अवस्थामा राख्नुको अलावा बेला बेलामा आँखाको पर्दाको जाँच गरेमा डायबिटिक रेटिनाप्याथी समस्याबाट केहीहदसम्म भएपनि बच्न सकिन्छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ