Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ मुख्य पाँच खबर

नेपाल अपडेट : पढौँ मुख्य पाँच खबर


काठमाडौं । नेपालमा कोरोना संक्रमण र मृत्युदर उच्च बन्दैगर्दा विभिन्न समाचारले चर्चा र महत्व पाएका छन् । पछिल्लो २४ घण्टाका प्रमुख पाँच खबर यस्ता छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेशमा कडाई
अब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले आइतबार सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकामा बढ्दो संक्रमणका कारण विमानस्थलमा हुने भिडभाड कम गर्न एक जना यात्रुका लागि एक जना मात्र आफन्तको प्रवेश दिनेगरि नियम ल्याएको हो । विमानस्थलले सकेसम्म आफन्त नलिई विमानस्थलमा आउन यात्रुलाई आग्रह गरेको छ । आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा बाहेक लिन वा पु¥याउन आउने नाममा विमानस्थलमा भिडभाड नगर्न भनिएको छ । विमानस्थल आउनै पर्ने यात्रुले हातमा स्यानिटाइजर लगाउने, माक्स अनिवार्य रुपमा लगाउने र सामाजिक दूरी कायम गर्नुपर्नेछ । पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडानतर्फ माग भएबमोजिम उडान अनुमति दिइएका कारण चाप बढेको छ । दशैं नजिकिएका कारण आन्तरिकतर्फ समेत यात्रुको चाप छ । अब विमानस्थलको गेटबाटै सुरक्षाकर्मीले एक जनालाई मात्र प्रवेश दिनेछन् ।

कालोबजारी र महंगी रोक्न संसदीय उपसमिति
संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चाडपर्वमा हुन सक्ने कालोबजारी र महंगीमाथी अनुगमन गर्न उपसमिति गठन गरेको छ । आइतबारको समिति बैठकले कालोेबजारी र महंगी नियन्त्रणका लागि छठ पर्वसम्म म्याद रहने गरी पाँच सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा नेकपाका सांसदहरु दिलकुमारी र माया देवी न्यौपाने, कांग्रेसका सांसद प्रकाश रसाईली (स्नेही) सुजाता परीयार सदस्य छन् । एक जना सदस्य पछि चयन गरिने जनाइएको छ । समिति सभापति बिमल प्रसाद श्रीवास्तवले चाडपर्वको समयमा हुन सक्ने महंगी र कालोबजारीका विषयमा स्थलगत अनुगमन र सरोकारवालाहरुलाई बोलाएर छलफल गर्ने जिम्मेवारी उपसमितिलाई दिइएको जानकारी दिनुभयो ।

बढ्दै कोरोना संक्रमण र जोखिम
सरकारले काठमाडौं उपत्यकाले थप कोरोना संक्रमित धान्न नसक्ने र आम सर्वसाधारण नागरिकको क्रियाकलापले लकडाउन गर्ने वा नगर्ने निर्धारण हुने जानकारी गराएको छ । सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोना नियन्त्रणमा काठमाडौं चुकेको उल्लेख गर्दै भयाभह अवस्था आउन सक्ने चेतावनी दिनुभएको हो । काठमाडौंले थप कोरोना संक्रमित धान्न नसक्ने अवस्था आएको मन्त्री ज्ञवालीले बताउनुभयो । पछिल्ला दिनमा देशभर देखिएको कोरोना संक्रमितको ६० प्रतिशत उपत्यकामा मात्रै देखिने गरेका छन् । उपत्यका बाहिरका जिल्लामा कोरोना नियन्त्रण प्रभावकारी भए पनि काठमाडौँमा हुन सकेको छैन । बरु थप विस्तार पाइरहेको भन्दै सरकारले १० लाख ५० हजार भन्दा बढीको ज्यान लिएको रोगलाई सामान्य नठानेर स्वास्थ्य सावधानीसहितको भौतिक दूरी कायम गर्न गराउन सबैलाई आग्रह गरेको छ । चाडवाडसमेत होसियारी पूर्वक मनाउन आह्वान गरिएको छ ।

विदेशी मदिराको आयात बन्देज हट्यो
सरकारले विदेशी मदिरा आयातमा लगाएको बन्देज फुकुवा गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले आयात खुल्ला गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोरोनाकाकारण विदेशी मुद्राको सञ्चतीमा असर पर्न सक्ने भन्दै २०७६ चैत १६ गते सरकारले विदेशी मदिरा आयातमा रोक लगाउने निर्णय गरेकोमा बन्देज हटाउने निर्णय भएको जानकारी दिनुभयो । भन्सार विभागकाअनुसार नेपालमा वार्षिक २ अर्ब भन्दा बढीको विदेशी मदिरा औपचारिक माध्यमबाट भित्रिने गरेको छ ।

चक्रपथ विस्तारको नयाँ तालिका
सरकारले काठमाडौं चक्रपथको कलंकी–महाराजगञ्ज धोबीखोला खण्डको विस्तारका लागि एक महिनाभित्र घर भत्काउने र प्रसारणलाइनको टावर सार्नेबाहेकका साइट क्लियरेन्सको काम सक्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चक्रपथ विस्तारको दोस्रो चरणका कामलाई तत्काल गति दिन विभिन्न चार निर्णय भएको जानकारी दिएको हो । सरोकारवाला पक्षको छलफलबाट मन्त्रालयले एक महिनाभित्र पोल स्थानान्तरण गर्ने, तीन महिनाभित्र हाई भोल्टेज टावर सार्ने, सडक सीमामा रहेका जग्गाको मूल्यांकन सुरु गर्ने लगायतका निर्णय गरेको छ । नेपाल विद्युत प्राधिकरणले कार्तिक मसान्तभित्र सबै पोल स्थानान्तरण गरी तार हाल्ने कार्य सकाउने र पुस मसान्तभित्र कारखाना चोक र सानोभर्याङस्थित हाई भोल्टेज टावर सार्ने तालिका बनेको छ । स्वयम्भूस्थित चैत्य कार्तिक मसान्तभित्र हटाइने भएको छ ।

काठमाडौँ महानगरपालिकासँग समन्वय गर्दै काठमाडौँ चक्रपथ सुधार योजनाले कार्तिक मसान्तभित्र नयाँ बसपार्कको आकाशे पुल भत्काउने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सम्बन्धित वडा कार्यालय र नगरपालिकासँग समन्वय गरेर नारायणगोपाल चोकको २४४ मिटर सडक सीमामा रहेका जग्गाको मूल्यांकन कार्तिक मसान्तभित्र सक्ने तालिका बनेको छ । सडक सीमा सम्बन्धी अन्यौलता हटाउन राजपत्र र कानुनी दस्तावेजको अध्ययन गर्ने र थप परामर्श गरी यथाशिघ्र नीतिगत निर्णय गरिने भएको छ । चीन सरकारको सहयोगमा चक्रपथको दोस्रो खण्ड विस्तार गर्न लागिएको छ । चीनले साइट क्लियर नगरी काम सुरु नगर्ने बताएपछि सरकार साइट क्लियर गर्न अग्रसर देखिएको हो । यसअघि नै सडक क्षेत्रका रुख कटानको काम सकिएको छ । यो खण्ड विस्तारको ठेक्का चीनले नै लगाएर सबै खर्च पनि आफैंले गर्नेछ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ