Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर

नेपाल अपडेट : पढ्नैपर्ने प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चर्चासँगै विभिन्न सञ्चारमाध्यममा स्थान पाएका प्रमुख पाँच खबर यस्ता छन् ।

बलात्कारका घटना लेनदेनमा मिलाएकोप्रति महानान्याधिवक्ताको चासो
महान्यायाधिवक्ताको कार्यालयले बलात्कारका घटनामा स्थानीय जनप्रतिनिधिकै रोहवरमा मिलापत्र गराएका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महान्यायाधिवक्ता अग्नि खरेलले एक विज्ञप्ति जारी गर्दै प्रचलित कानूनले जवरजस्ती करणी सम्बन्धी कसूरलाई सरकार वादी हुने मुद्दाको रुपमा परिभाषित गरेको भन्दै गैरकानूनी रुपमा मिलापत्र र सहमति गराउने कार्य आफंैमा कसूरजन्य कार्य हुने बताउनुभएको हो । जवरजस्ती करणी जस्ता मानव मर्यादामा गम्भीर चोट पुग्ने कसूर कुनै पनि कारण वा बाहनामा न्यायिक प्रक्रियाभन्दा बाहिरबाट समाधान गर्न नगर्न नगराउन समेत उहाँले सचेत गराउनुभएको छ । यस्ता कसूरको अनुसन्धान, अभियोजन र न्याय सम्पादन प्रक्रियामा सक्रिय सहयोग गर्न नागरिक समाज, जनप्रतिनिधि सबैलाई महान्यायाधिवक्ता खरेलले आह्वान गर्नभएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवा कटौती
कोरोना महामारीको बढ्दो संक्रमणका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंको सेवामा संकुचन आएको छ । एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौं अत्यावश्यकबाहेकका सबै सेवा स्थगित गरेको हो । अर्को सूचना नआएसम्मका लागि भन्दै जारी सूचनामा भनिएको छ, “संक्रमणको जोखिम बढेसँगै यस कार्यालयमा कार्यरत चारजना कर्मचारीहरुमा समेत कोरोना संक्रमणको पुष्टि भइसकेको साथै सेवाग्राहीको भिडभाड अत्यधिक बढेको र कार्यालयबाटै कोभिड–१९ को संक्रमण सेवाग्राहीमा समेत फैलिन सक्ने जोखिम रहेका कारण अर्को सूचना नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयबाट हाल प्रवाह भइरहेका सेवाहरु तपशिल बमोजिम हुने बेहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध गरिन्छ ।” अब जिप्रका काठमाडौंबाट शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी सेवा, मुद्दाको सुनुवाइ सम्बन्धी सेवा र विपद् व्यवस्थापन सम्बन्धी सेवामात्रै सञ्चालनमा आउने भएको छ ।

बढ्दै संक्रमणको सन्त्रास
नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको छ । पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ९१५ रहेका छन् । २४ घण्टामा थप १ हजार ५०३ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ७८ हजार ७८० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६६३ पुगेको छ । अहिले देशका विभिन्न अस्पतालमा ३१८ जना संक्रमितको आइसीयू र ७५ जनाको भेन्टिलेटरमा उपचार भइरेको छ ।

जग्गा कित्ताकाटको निर्णयमा संसदीय समितिको चासो
राष्ट्रियसभाको प्रत्यायोजित विधान तथा सरकारी आश्वासन समितिले नियमावली बनाएर जग्गको कित्ताकाट खोल्नुपर्नेमा मन्त्रीस्तरीय निर्णयबाट खोल्नु अधिकारको दुरुपयोग भएको निष्कर्ष निकालेको छ । समितिले मंगलबार भूमि व्यवस्था मन्त्री पद्या अर्याल र सचिव टेकनारायण पाण्डेलाई बोलाएर सोधपुछ गरेको थियो । बैठकमा समितिका सदस्यहरुले खेतीयोग्य जमिनमा रोकिएको कित्ताकाट खोल्ने निर्णय कुन कानुनमा टेकेर गरेको भन्दै भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई प्रश्न सोधेका थिए । नियतमाथि अधिकांशले प्रश्न उठाएपछि जवाफमा मन्त्री अर्यालले जग्गा सम्बन्धि कारोबारमा हुने गरेको आर्थिक चलखेल रोक्न कित्ताकाट खुलाउने निर्णय गरिएको बताउनुभएको थियो । मन्त्री र सचिवसँगको छलफलपछि समितिले तुरुन्त नियमावली बनाएर कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।

रोकियो भूकम्प प्रभावित निःशुल्क इन्टरनेट सेवा
नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पु¥याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेर दुई वर्षका लागि प्राधिकरणले निशुल्क इन्टरनेट सेवा उपलब्ध गराएको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिइएकोमा मङ्गलबारदेखि उक्त सेवा रोकिएको हो । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्ला (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंङ्गा र सिन्धुली)का इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पु¥याउन विभिन्न सेवा प्रदायकसँग गरेको सम्झौता सकिएपछि सेवा रोकिएको जानकारी दिनुभयो ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ