Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsबहराइनका राजकुमारले चढे नेपालको मनास्लु हिमाल

बहराइनका राजकुमारले चढे नेपालको मनास्लु हिमाल


काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले मनास्लु हिमालको सफल आरोहण गरेको छ । आरोहणको व्यवस्था मिलाएको सेभेन समिट ट्रेक प्रालिका अनुसार बहराइनका राजकुमार मोहमद हमद मोहम्मद अल खलिफासहितको टोलीले बिहीबार बिहान ६ बजेर १० मिनेटमा मनास्लु हिमालको सफलतापूर्वक आरोहण गरेको हो ।

टोलीका कति जना चुचुरोमा पुगे भन्ने विवरण भने आउन बाँकी रहेको बताइएको छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यले भने बहराइनको टोलीका १८ जनामध्ये १४ जना आरोही र तीन जना शेर्पा मनास्लुको चुचुरोमा पुगेको जानकारी दिनुभयो । ८ हजार १५६ मिटर उचाइको मनास्लु हिमाल विश्वको आठौं अग्लो र नेपालको सातौं अग्लो हिमाल हो । राजकुमार मोहमद हमदले यसअघि १७ असोजमा रोयल फोर्स टोलीका साथ ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आरोहण गर्नुभएको थियो । १५ जना बहराइन र ३ जना बेलायतीसहित हिमाल आरोहण गर्न गत भदौ ३१ गते नेपाल आएको बहराइनको टोलीले नेपाल सरकारबाट मनास्लु र लोबुचु हिमाल आरोहणको अनुमति पाएको थियो ।

सेभेन समिट ट्रेक प्रालिले आरोहणको सबै व्यवस्थापन मिलाएको छ । मनास्लु आरोहणमा बिख्यात आरोही एवम् सेभेन समिटका मिङ्मा शेर्पा, टासी शेर्पासहितको टोलीले बहराइनको राजकुमार सहितको आरोहण टोलीलाई साथ दिएको थियो । बहराइनका राजकुमारसहितको यो टोली आगामी बसन्त ऋतुमा सगरमाथा आरोहणको पूर्व तयारीमा रहेको समेत सेभेन समिट ट्रेकले जानकारी दिएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ