Saturday, 6 January 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । नेपालमा कोरोना संक्रमण र मृत्युदर अझपनि उच्च देखिएको छ । सीमा सुरक्षामा बढेको चासो, मानवअधिकार आयोगको सक्रियता लगायत विदेशमा गैरकानुनी बनेका नेपालीले पाएको एक्जिट भिसा, नक्कली भिसा देखाएर ठगी गर्ने पक्राउ लगायतका प्रमुख पाँच खबर यस्ता छन् ।

कोरोना अपडेट
पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा हाल ३६ हजार ५३३ जना सक्रिय संक्रमित रहेका छन् । काठमाडौं उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा १ हजार ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये १ हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ थपिएका छन् । पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ३ हजार ५६४ जना डिस्चार्ज भएसँगै कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८४ हजार ५१८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ । बिहीबारसम्म देशभर ३ सय १४ जना कोरोना संक्रमितको आईसीयुमा र ६८ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।

तातोपानीमा बिओपी
चीन जोड्ने उत्तरी सिन्धुपाल्चोकको नाका तातोपानीमा समेत बुधबारदेखि सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ बिओपी स्थापना भएको छ । गत असार २९ को मन्त्रीपरिषद्को निर्णय कार्यान्वयन गर्दै बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दीप श्रेष्ठको उपस्थितीमा भोटेकोसी गाउँपालिका वडा २ तातोपानीमा ‘बोर्डर आउट पोष्ट’ स्थापना गरिएको हो । बिओपीको लागि तत्कालिन सीमास्थित सशस्त्र प्रहरी बल २२ नं गुल्म हेडक्वाटर (राजश्व–भन्सार गस्ती सुरक्षा) को एक ब्यारेक, शौचालय, भवन प्रयोग गरिएको छ । तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालय छेउमा राखिएको बिओपीले सीमा सुरक्षाका लागि नियमित गस्ती गर्नेछ । सशस्त्र प्रहरी तातोपानी ‘बिओपी’ सशस्त्र प्रहरी निरीक्षक केशवकुमार श्रेष्ठले सीमासुरक्षासम्बन्धी महत्वपूर्ण जिम्मेवारी पाएको बिओपी दैवी प्रकोप उद्धारमा समेत खटिने बताउनुभयो ।

मानवअधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक
राष्ट्रिय मानवअधिकार आयोगले विभिन्न समयमा मानवअधिकार उल्लंघनमा संलग्न व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । आयोगका अध्यक्ष अनुपराज शर्माले २० वर्षमा गरेका कामको समीक्षासहितको आयोगको प्रतिवेदन सार्वजनिक गर्दै २८६ जना मानवअधिकार उल्लंघनकर्ताहरूको नाम सार्वजनिक गर्नुभएको हो । तात्कालीन माओवादीले गरेको सशस्त्र विद्रोहसहित विभिन्न समयमा भएका मानवअधिकार उल्लंघनका घटनामा संलग्नहरू यो सूचीमा परेका छन् । यसरी नाम सार्वजनिक हुनेमा निजामती कर्मचारी १६, नेपाल प्रहरी ९८, नेपाली सेना ८५, सशस्त्र प्रहरी ८, नेकपा माओवादी ६५, शिक्षक ४, चिकित्सक २, मावअधिकारकर्मी १ र अन्य ७ जना रहेका छन् । आयोगले सिफारिस गरेका १ हजार १ सय ९५ जना मानवअधिकार उल्लंघनकर्ताहरूको अवस्था पनि उल्लेख गरेको छ । जसमा ७ सय ७९ जना राज्यपक्षका, २ सय ८७ जना माओवादी पक्षका, सरकार र माओवादी संयुक्त ३८ जना, प्रतिकार समूहका २३ जना, शिक्षक १६ जना, अन्य ५२ जना रहेका छन् ।

गैहकानुनी नेपालीलाई एक्जिट भिसा
साउदी अरबमा गैरकानुनी रुपमा बसेका १ हजार १३१ जना नेपालीले एक्जिट भिसा (बहिर्गमन भिसा) पाएका छन् । साउदीस्थित नेपाली दूतावासको अनुरोधमा थालनी भएको प्रक्रियाको थालनीदेखी अहिलेसम्म साउदी सरकारबाट १ हजार १३१ जना नेपालीहरुले बहिर्गमन भीसा पाएका हुन् । साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा यो भिसाले सहजीकरण गरेको छ । साउदीस्थित नेपाली दूतावासका अनुसार अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुलाई स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन भिसा दिइएको हो । बहिर्गमन भिसा पाएकालाई स्वदेश फिर्तीको तयारी गर्न अनुरोध गरेको दूतावासले झुट्टो विवरण दिएर बहिर्गमन भिसाका लागि निवेदन दिएर सिर्जना हुने समस्याका लागि सम्बन्धित व्यक्ति स्वयं नै जिम्मेवार हुनुपर्ने जनाएको छ ।

नक्कली भिसा देखाएर ठगी गर्ने पक्राउ
नक्कली भिसा देखाएर क्रोएसिया पठाउने भन्दै ठगी गर्ने दुई जनालाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको छ । अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सप्तरी डाक्नेश्वरी नपा ६ औरहीका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा पक्राउ परेको जानकारी दिनुभयो । क्रोएसियामा राम्रो रोजगारीको प्रलोभन देखाएर ९ जनासँग प्रतिव्यक्ति ३ लाख ७ हजारका दरले रकम असुलेको अभियोगमा अभियुक्त उपर थप अनुसन्धान र कारबाही गर्न भन्दै महाशाखाले प्रहरी परिसर काठमाडौं पठाइएको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया


सम्बन्धित खबर

ट्रेण्डिङ