Monday, 8 April 2024
जोड्दैछौ अष्ट्रेलियाका नेपाली
HomeBreaking Newsनेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर

नेपाल अपडेट : पढौँ प्रमुख पाँच खबर


काठमाडौं । हामी जोड्दैछौँ अस्ट्रेलिया र नेपाललाई । दुबै देशका खबर हाम्रो प्राथमिकता । यी हुन्, नेपालका पछिल्ला प्रमुख पाँच खबर

कोरोना रोकथाममा सरकारको अपिल
सरकारले गाउँमा नयाँ व्यक्ति आएको पाउनासाथ छिमेकीहरु मिलेर एक साता क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले टोल वा गाउँमा नयाँ व्यक्ति आउँदा छिमेकीहरुले मिलेर क्वारेन्टिनमा लगेर राखिदिन आग्रह गर्नुभएको हो । होम आइसोलेसनमा बसेमा व्यक्ति घर बाहिर निस्किएमा नजिकैको सुरक्षा चौकी वा स्वास्थ्य मन्त्रालयका टोल फ्रि नम्बरमा खबर गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । पीसीआर गर्न स्वाब दिएका व्यक्तिहरुलाई परीक्षणको रिपोर्ट नआउँदासम्म घरमै बसेर संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको छ । राजनीति दलका नेताहरु भिडभाडमा जाने र त्यही भिडबाट कोरोना सर्ने गरेको जानकारी गराउँदै स्वास्थ्य मन्त्रालयले सभा र सम्मेलनमा नजान आग्रह गरेको छ ।

रेमिडेसिभिर आयत र बिक्रीको अनुमति
कोभिड १९ को उपचारमा प्रयोग हुने रेमडेसिभिर औषधि आयात तथा बिक्री वितरण गर्न नेपाल सरकारले एक भारतीयसहित तीन वटा कम्पनीलाई अनुमति दिएको छ । औषधि व्यवस्था विभागबाट अनुमति पाउनेमा नेपालका दुई कम्पनी यति फार्माकेम डिस्ट्रिब्युटर्स प्रालि ललितपुर, सिनर्जी ओभरसिज प्रालि काठमाडौं र भारतको हेट्रो ल्याब्स लिमिटेड रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभएको हो । कोभिड १९ को उपचार गर्ने अस्पतालहरुले बिरामीका लागि प्रयोग गर्न आवश्यक परेमा चिकित्सकको सिफारिस अनुसार औषधि व्ययस्था विभागले सूचिकृत गरेको कम्पनीबाट सहज रुपमा रेमिडेसिभिर खरिद गर्न सकिने मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोनाको अवस्था
पछिल्लो २४ घण्टामा ४३९२ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना जित्नेहरुको संख्या ८८ हजार ४० पुगेको छ । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ । देशभर हाल ३७ हजार ३८२ संक्रिय संक्रमित रहेकोमा यीमध्ये काठमाडौं उपत्यकामा मात्र २२ हजार २२९ जना रहेका छन् । काठमाडौं जिल्लामा मात्र १७ हजार ६८५ जना, ललितपुरमा दुई हजार ९१४ र भक्तपुरमा एक हजार ६३० जना सक्रिय संक्रमितर रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । हालसम्म काठमाडौं उपत्यकामा ५१ हजार ९४१ जनामा संक्रमण देखिएको छ । सबैभन्दा धेरै संक्रमित काठमाडौंमा ४१ हजार ८१३ जना, ललितपुरमा पाँच हजार ९२९ जना र भक्तपुरमा चार हजार १९९ जना पहिचान भएका छन् । कोरोनाका कारण काठमाडौं उपत्यकामा मात्र २२७ जनाले ज्यान गुमाएको सरकारी तथ्यांक छ ।

सर्वोच्च अदालत बन्द
देशको मुख्य न्यायिक निकाय सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने भएको छ । अदालतले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जानकारी गराइएको हो । यद्यपि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासन महाशाखाले जानकारी दिएको छ । शनिबार र दशैंको टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि खुला रहने जनाइएको छ ।

सेनाले बोलायो पृतनापति बैठक
नेपाली सेनाले पृतनापति समन्वयात्मक बैठक बोलाएको छ । सैनिक जनसम्पर्क निर्देशनालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै कार्तिक २ गते देखि ४ गतेसम्म पृतनापतिको समन्वयात्मक बैठक बोलाइएको हो । गत भदौमा बोलाउने निर्णय गरिएको उक्त बैठक कोभिड–१९ को महामारीका कारण स्थगित भएको थियो । पृतनापति सम्मेलनमा आठ वटै पृतनाका पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रबाटै भर्चुअल सहभागीता जनाउने जनाइएको छ । सम्मेलनमा मुलुकको पछिल्लो सुरक्षा अवस्था र चुनौतीका बारेमा समेत छलफल हुने जंगी अड्डाले जानकारी दिएको छ । सहभागीहरुले कोभिड–१९ को स्वास्थ्य सम्बन्धी मापदण्डको पूर्ण रुपमा पालना गर्नुपर्नेछ । नेपाली सेनाले प्रत्येक वर्ष पृतनापति समन्वयात्मक बैठक आयोजना गर्ने गरेको छ ।



यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : info@nepaltube.com.au

तपाईको प्रतिक्रिया

ट्रेण्डिङ